अलपत्र यात्रुको उद्धारका लागि कर्णाली प्रदेश सरकारद्वारा हटलाईन सेवा शुरु

डिसी नेपाल
११ चैत २०७६ १७:२०

सुर्खेत । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन शुरु भएसंगै बिच वाटोमा अलपत्र यात्रुको उद्धारका लागि कर्णाली प्रदेश सरकारले निःशुल्क हटलाईन सेवा शुरु गरेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको निर्देशनमा मंगलवार बसेको कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिले यस्तो निर्णय गरेको हो ।

कार्यकारी समितिका संयोजक तथा सामाजिक विकास मन्त्री दल रावलको अध्यक्षतामा सम्पन्न वैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हटलाईन कक्ष रहने गरि १११० नम्वरको हटलाईन सेवा शुरु गर्ने निर्णय गरेको छ ।

घर फर्कने उद्देश्यले यात्रा शूरु गरि लक डाउनका कारण बाटोमा अलपत्र रहेका कर्णाली प्रदेश भित्रका नागरिकहरुले यो सेवाको उपयोग गरि सरकारलाई आफ्नो अवस्थाको वारेमा जानकारी दिन सक्ने सामाजिक विकास मन्त्री रावलले जानकारी दिए।

मन्त्री रावलका अनुसार हटलाईनमा प्राप्त सुचनाका आधारमा सरकारले यातायातको प्रवन्ध गरि अलपत्र यात्रुको उद्धार गर्ने, उनीहरुको प्रारम्भिक स्वास्थ्य परिक्षण गर्ने तथा स्वास्थ्य अवस्थाका आधारमा क्वारेन्टाईनमा राख्नु पर्नेलाई क्वारेन्टाईनमा राख्ने र बाँकीलाई गन्तव्यसम्म पुराउने व्यवस्था गर्नेछ ।

रोजगारीका लागि भारत गएका कर्णाली प्रदेशका अधिकाँश नागरिक फर्कने क्रममा विच वाटोमा अलपत्र परेको गुणासो प्राप्त भएपछि प्रदेश सरकारले यस्तो निर्णय लिएको वताईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *