अलपत्रको उद्धार गर्न कर्णाली सरकारद्धारा हटलाइन सेवा

डिसी नेपाल
११ चैत २०७६ २२:३०

सुर्खेत । नेपाल सरकारले अन्तराष्ट्रिय सीमा नाका बन्द हुने गरी ‘लकडाउन’ गरेपछि सीमा क्षेत्रमा अलपत्र परेका नागरिकको उद्धारका लागि कर्णाली प्रदेश सरकारले हटलाइन सेवा शुरु गरेको छ । ‘लकडाउन’ का कारण अलपत्र परेको भन्ने खबर पाएपछि कर्णाली प्रदेश सरकारले निःशुल्क हटलाइन सेवा शुरु गरेको हो । कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको मंगलबार बसेको बैठकले अलपत्र यात्रुको उद्धारका लागि हटलाइन सेवा शुरु गर्ने निर्णय गरेको कार्यकारी समितिका संयोजक एवं सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।

“स्वदेश तथा विदेशबाट कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुग्नेगरी हिँडेका तर लकडाउनका कारण गन्तव्यमा पुग्न नसकी बीच बाटामा अलपत्र परेका कर्णाली प्रदेशवासीले उद्धारको निम्ति सम्पर्क नं १११० को हटलाइन सेवा सञ्चालन गरिएको छ”, मन्त्री रावलले भने, “घर आउन नपाएर समस्या परेका उनीहरुलाई यही नम्बरमा सम्पर्क गर्नहुन अनुरोध गरेका छाँैं ।” प्रदेश सरकारले अलपत्र परेका जनतालाई गन्तव्य पु¥याउने र आवश्यक उपचार सुनिश्चित गर्ने उनको भनाइ थियो ।

सीमा नाका तथा नेपालभित्रै अलपत्र परेका कर्णालीका नागरिकलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयमा व्यवस्था गरिएको हटलाइन कक्षमा १११० नम्बरमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् । प्रदेश सरकारले अलपत्र परेका यात्रुको उद्धार, प्रारम्भिक स्वास्थ्य परीक्षण र स्वास्थ्य स्थितिलाई हेरेर क्वारेन्टाइनमा राख्नुपर्नेलाई क्वारेन्टाइनमा राख्ने तथा बाँकीलाई गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाइएको मन्त्री रावलले बताए ।

रोजगारीका लागि भारतलगायत अन्य मुलुकमा पुगेका र यस समयमा घर पुग्ने आशा राखेर स्वदेश फर्केका कर्णाली प्रदेशका अधिकांश नागरिक ‘लकडाउन’ का कारण दुई दिनदेखि बीच बाटामै अलपत्र परेको खबर पाएपछि कर्णाली सरकारले यो निर्णय गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *