अब एक परिवारलाई एकमात्र सिलिन्डर, ग्यास लिन नागरिकता पेश गर्नुपर्ने

डिसी नेपाल
११ चैत २०७६ २३:१५

काठमाडौं। कोरोना भाइरसको महामारीका कारण लकडाउन लागु भएपछि अत्यावश्यक वस्तु खानापकाउने ग्यासको सटेज हुनसक्ने भन्दै नेपाल आयल निगमले ग्यास विक्रिीमा नयाँ नियम लागु गरेको छ। निगमले अब एक परिवारले एक सिलिन्डरमात्र पाउने गरी ग्यास वितरण गर्न ग्यास विक्रेतालाई निर्देशन दिएको छ।

निगमले मंगलबार बेलुका एक निर्देशन जारी गर्दै ग्यास लिने ग्रहाकले पनि आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपी पेश गर्नुपर्ने बताएको छ। निगमले कोरोनाको त्रासका कारण ग्यासको भण्डारसमेत न्यून रहेको जनाएको छ।

निगमले ग्यास उद्योगहरुले आयात गरेका ग्यासको परिमाण, बोटलिङ प्लान्टमा भर्न बाँकी परिमाण, मौज्दातमा रहेका ग्यासका सिलिन्डर, अघिल्लो दिनमा वितरण भएको सिलिन्डर संख्या, ग्यास वितरण हुने डिलरको नाम र ठेगाना लगायतका विवरण दैनिक रुपमा जिल्ला प्रशासन कार्यालयहरु र आयल निगमको एलपीजी विभागमा विहान १० बजेसम्म बुझाउनुपर्ने निर्देशनसमेत दिएको छ।
भरिएको ग्यास सिलिन्डर डिलरहरुमा आएपछि डिलरहरुले काठमाडौं उपत्यकाको हकमा आयल निगम र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर वितरण गर्नुपर्ने निगमले जनाएको छ।

त्यसरी ग्यास वितरण गर्दा ग्राहकको नाम, नागरिकता नम्बर ठेगाना, फोन नम्बरसहितको विवरण राखेर महिना दिनका लागि ‘एक परिवार, एक सिलिन्डर’ मात्रै दिने गरी व्यवस्थापन गर्न निर्देशनमा भनिएको छ। उद्योगहरुले आफ्ना डिलरहरुले वितरण गरेको र मौज्दात राखेको ग्यासको नियमित परीक्षण गनुपर्नेछ।

सरकारले ग्यास उद्योगहरुको आधा क्षमता बराबरका ग्यासको भण्डारणलाई सरकारको भण्डारण रुपमा प्रयोग गर्नेसमेत जनाएको छ। सबै उद्योगहरुले आफ्नो उद्योगको मागअनुसार २ दिनको माग धान्ने ग्यासको सिलिन्डर तयारी अवस्थामा राख्नुपर्ने र त्यस्तो ग्यास उदोग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिए अनुसार वितरण गर्नुपर्ने निगमले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *