सुम्निमाको काव्यिक संस्करण

ओ !
मेरो प्रिय ताप्लेजुङ !
अब सपनामा हैन
कुनै एक दिन विपनामै
म सुटुक्क आउने छु तिमीलाई भेट्न
यो मनभरिभरि तिमीलाई सँगाल्न !

चाहे जोसुकैलाई जुनसुकै युगमा होस्, आफ्नो जन्मभूमिभन्दा प्यारो कुनै ठाउँ हुँदैन । भगवान् रामलाई सुनको लंकाभन्दा माटोको अयोध्या राम्रो लागेको थियो भने हाम्रै युगकवि सिद्धिचरणलाई पनि त्यो बेलाको सुन्दर काठमाडौंभन्दा पिछडिएको ओखलढुंगा नै प्यारो लागेको थियो।
यही सत्यलाई पछिल्लो समयमा कवि नदियाले पछ्याएकी छिन् । विश्वकै ठूलो महानगर न्युयोर्कमा दुई दशकदेखि बसोवास गरिरहेको कविमनले हरहमेशा गाउँ नै खोज्छ, कविताको विषयवस्तुमा जताततै गाउँ नै रोज्छ, घरदेशलाई नै हरहमेशा केन्द्रमा राखिरहेको हुन्छ ।

ताप्लेजुङको लिम्बु परिवारमा जन्मिएकी कवि नदिया लिवाङ ‘प्रिय ताप्लेजुङ’ कवितामा संस्मरण शैलीमा पोखिन्छिन्–

झिसमिसे उज्यालो हुँदो हो

दमकलको साइरनले झल्याँस्स बिउँझेँ
शरीर त आफ्नै खाटमा पो रहेछ
म त शहरमा सुतेर गाउँ पुगेछु ।

हो, यस्तै सपना देख्ने गर्छन् परदेशिएका हरेक आत्माहरू ! सुख र समृद्धिको खोजीमा मानिस गाउँबाट सदरमुकाम, सदरमुकामबाट राजधानी र त्यहाँबाट पनि अझै ठूलो शहरका लागि विदेशिन्छ तर उसले खोजेको कुरा पाउन सक्दैन ।

यथार्थमा जति ठूलो शहर त्यति नै ठूलो दुःख, झन्झट र तनावमा मानिस फस्न पुग्छ । जन्मभूमिप्रति अझै गहिरो र भावनात्मक अभिव्यक्ति दिन्छिन् नदिया ‘प्यारो मेन्छ्याम डाँडा’ कवितामा–
धेरैपछि
जब मैले तिमीलाई सामु पाएँ
ग्वामल्याङ्ग अँगालो हालेर रुन मन लाग्यो
मनका पीर–भारीहरू बिसाउन मन लाग्यो–
तिमी नै त थियौ हाम्रो पिरतीको साक्षी
भर्खरै फक्रिएका फूलहरू थियौँ हामी
हाम्रो चञ्चलता देखेर तिमी पनि त मुस्कुराउँथ्यौ
तिमी देख्थ्यौ÷सुन्थ्यौ
हाम्रो प्रेमिल चञ्चलता
त्यसैबेला अर्काप्रतिको समर्पण र न्यानो माया ।

नेपाली साहित्यको मूल प्रवाहमा होस् अथवा पछिल्लो समय भन्ने गरिएको ‘डायस्पोरा’को सन्दर्भमा नदिया सुनिएको र चिनिएको नाम होइन । यही कविताकृतिको भूमिका खण्डमा उनको लेखनीबाटै थाहा पाएँ उनले कविता र अभिनयकर्ममा लामै समय बिताइसकेकी रहिछन् तर उनी मेरो जानकारीबाट टाढै रहिछन् ।

लेखक : व्याकुल पाठक

हुन सक्छ नेपाली साहित्यको अन्य जिज्ञासु एवं अध्यताको कर्णमा पनि सुनिएको नाम होइन यो । भनिन्छ नसुनिएको संगीत राम्रो हुन्छ, नभेटिएको मान्छे उत्तम हुन्छ, नचढेको हिमाल मनमोहक हुन्छ । त्यस्तै नभेटिएको अनि नसुनिएको कविको कविता पनि आकर्षक हुँदो रहेछ । न्युयोर्कमा उनकै कविता विमोचन समारोहमा पहिलो पटक भेट्दा नदियाप्रति मेरो मनमा यस्तै भावना उत्पन्न भएका थिए ।

अनकन्टार वनमा फुलेका फूलजस्ता बिनालिपपोत, बिना छाँटकाँटका अर्गानिक कविता लेख्ने उनी व्यक्तिका रूपमा पनि रहिछन् त्यस्तै !
कवितालाई बुद्धि प्रदर्शन गर्ने विधा पनि भनिन्छ तर उत्तम कवि त्यो हो जसले भावना र विचारलाई सन्तुलन कायम गरी सरल शब्दमा चोटिलो अभिव्यक्ति दिन सक्छ ।

विम्ब, प्रतीक, उपमा, अलंकार कविताका गहना हुन् । तर गहना पनि सुहाउँदो ढंगले लगाए मात्र कोही सुन्दर देखिन्छ नत्र गहनाले नै व्यक्तित्वलाई किचिदिन्छ, सुन्दरता नै भद्दा भइदिन्छ । नदियाका कविताले कम गहना पहिरिएका छन् यद्यपि कम शृंगार गरेर पनि राम्री देखिने फुर्तिला युवती जस्ता बनेका छन् ।

अँध्यारा रातहरू
बेखुसीका मौसमहरू
आमाबिनाको धर्ती कति शून्य शून्य
कसैसित पनि बोल्न मन लागेन आमा
बिताइरहें एक्ला र न्यास्रा पलहरू
शून्यतामा टोलाइरहें
एकोहोरो आकाशतिर हेरिरहँदा
दिउँसै आज एउटा जून देखें
शायद,
त्यो जून तिमी नै हुनुपर्छ आमा ।
(मेरी आमा)

उनका कवितामा बुद्धिभन्दा भावपक्ष सक्रिय र सवल रूपमा गोचर भएका छन् । निबन्धमा हुनुपर्ने भाव र निजात्मकता तथा आख्यानमा हुनुपर्ने वर्णनात्मकतालाई उनले आफ्ना धेरैजसो कवितामा अवलम्बन गरेकी छन् । हुन त यसलाई कविता विधाको दुर्बल पक्षका रूपमा पनि व्याख्या गर्न नसकिने होइन तर भावुकताको बेग मार्न सिपालु उनले अकविता हुनबाट आफ्ना सिर्जनालाई जोगाएकी छिन् ।

बाबु, आमा, दाजुभाइ–दिदीबहिनी, भाउजू–आमाजू जस्ता पारिवारिक नाता सम्बन्ध र त्यससँग सम्बन्धित आफ्ना भोगाइ अनि अनुभूतिहरूलाई वास्तवमा निबन्ध वा संस्मरण विधाबाट राम्ररी अभिव्यक्त गर्न सकिन्छ तर नदियाले कविताबाट पनि न्याय गर्ने प्रयास गरेकी छिन् । विधा मिश्रण अथवा विधा भन्जन गर्दै उनले ‘मेरी भाउजू’ कविता लेखेकी छिन्–

हुर्कायौ माउले चल्लाहरू छोपे जसरी
एक छाक खायौ या दुई छाक
भेउ पाइन कहिल्यै
वर्षौं वर्ष एउटै मजेत्रोले
के हिउँद के वर्षा
थुप्रै यामहरू कटायौ
अस्पतालमा हुँदा
आठ दश बीसको जोहो गर्न कति कठिन
याद छ नाकको फुली बन्धक राखेको
कसरी भुल्नु र भाउजू ?
सिकिस्त ओछ्यानबाट
‘नानी’ भनी मधुर स्वरले बोलाएको
पढेर ठूलो मान्छे बन्ने हौसला दिएको ।

संस्मरण शैलीका कवितामा नदियाको विशेष रुचि र दक्षता पनि रहेको छ । नेपालको सुदूरपूर्वी पहाड ताप्लेजुङको प्राकृतिक वातावरणमा बालापन बिताएकी नदिया ती दिनलाई भुल्न सक्दिनन् । त्यसैले विश्वकै ठूलो महानगरमा रहेका कैयौं विषयहरू उनका कवितामा उठान हुँदैनन् ।

खूब याद आइरहेछ मलाई आज
कमेरो र रातो माटोले पोतेको
टल्किने जस्ताले छाएको
ताप्लेजुङको मेरो घर
आमाको महिना पुग्न लाग्दा
बाबाले गोर्खा आर्मीमा पाएको तक्मा बेचेर
सुत्केरी उतार्न बनाएको दुई कोठे त्यो घर
खुसीले रोएका थिए रे मेरा बा आमा
मेरो आगमनमा ।
(मेरो बालापन)

यसरी फ्ल्यासब्याकमा गाउँ सम्झेकी नदिया सोही कवितामा वर्तमान धरातलमा ओर्लिन्छिन् । विपन्नतामै मिलेको त्यो खुसी र सम्पन्नतामा पनि मिल्न नसकेको आनन्दलाई उनी यसरी तुलना गर्छिन्–

आजकल देख्छु शहरमा जताततै
झिलिमिली बत्ती र रङ्गोलीहरू
तर देख्दिनँ कसैको खुसी मन
मेरी आमालाई रङ्गोली बनाउन आउन्नथ्यो
तर पनि मेरो घर उज्यालो हुन्थ्यो बिना रङ्गोली ।

प्रेम र यौन विषयमा पनि उनले केही कविता लेखेकी छिन् । यो विषयमा उदात्त अभिव्यक्ति दिने लेखिका नेपाली साहित्यमा एकदम सीमित छन् । तिनैमध्ये पनि एक दुई जनामा उनी पर्छिन् भन्न यो संग्रह अध्ययन गर्ने जोसुकैलाई करै लाग्छ ।

यी विषयमा कलम चलाउनु जोखिम मोल्नु पनि हो । अलिकति होसियारी अपनाइएन भने अर्थात् कलम रड्कियो भने अश्लीलता पस्किएको आरोप पनि लाग्न सक्छ लेखकलाई । त्यसैले महिला लेखकहरू चर्चा पाउने र पाठक बटुल्ने विषय भएर पनि प्रेम र यौन विषयबाट तर्किने गरेका हुन सक्छ । लेखक बन्न तम्सिनु नै एउटा जोखम मोल्नु हुँदै हो । त्यसमा पनि महिलाका लागि बर्जित जस्तै मनिएको विषयमा हात हाल्न साहसीले मात्र सक्दछ ।

उन्मुक्त बैंशले युक्त यो नारीत्व
तिम्रै काखमा
छाताछुल्ल बनाइदिन मन लागेको छ
भित्रभित्रै उर्लिरहेका प्रेमिल छालहरूले
तिम्रो शिरदेखि पाउसम्म
धोइदिन मन लागेको छ
तिमीभित्रै लुटपुटिएर
प्रत्येक स्खलनको आयुसँगै
बन्द आँखाभित्र
त्यो विन्दुको सीमा नाघेर
(यो साँझ अनि तिमी र म)

जब झरी पर्छ कविमन पूर्वस्मृतिमा फर्केर प्रेमिल बन्न थाल्छ । ‘झरी’ शीर्षकमै र झरीको वरिपरि रहेर नदियाले धेरै कविता लेखेकी छिन् । झरीलाई प्रतीक मानेर लेखिएका उनका कवितामा कोमल भावना छताछुल्ल भएका छन् । प्रेम र यौनका गहिरा अनि उन्मुक्त अभिव्यक्ति दिन उनले झरीको सहारा लिएकी छन् ।

केहीबेर अँगालोमा
प्राकृतिक आनन्दकै स्खलनले
सन्तुष्टिको शिखर चढ्ने अभिलाशा
पूरा गर्नुपर्ने तिम्रो आकाङ्क्षको परीक्षा
म त उत्तीर्ण गर्न सक्छु
उसो भए के तिमी तयार छौ
झरी परेको दिनमा…..!!
(झरी– २)

शायद झरी नपर्दो हो त नदिया अर्थात् नदीको अस्तित्व नै हुने थिएन । त्यसैले नदी र झरी एकअर्काका परिपूरक नै बनेका छन् । जब झरी पर्छ कवि नदियाभित्रको उकुसमुकुस विष्फोट भएर बाहिर आउन थाल्छ अनि ज्वालामुखीबाट लाभाजस्तै उनी कविता भएर पग्लिन थाल्छिन्–

मनको झरीमा रूझिरहेका हामीलाई
साँच्चिकै आमुन्ने सामुन्ने
साँच्चिकै झरीमा
मिलनको विन्दु भेटियो
त्यसपछि लाग्यो कहिल्यै नथामियोस् यो झरी ।
(झरी–४)

नेपाली समाजमा अहिलेको एक्काइसौं शताब्दीमा पनि विद्यमान कल्पनै गर्न नसकिने विकृति, अज्ञानता अनि संस्कृतिको नाममा चल्दै आएको विसंगतिप्रति पनि उनले कटाक्ष गरेकी छिन् । त्यस्तैमा पर्छ ‘रजस्वला हुँदा’ शीर्षक कविता ।

रजस्वला जस्तो प्राकृतिक अवस्थामा नारीलाई छुन नहुने परम्परा हाम्रो समाजमा यति जबरजस्त गढेर रहेको छ कि यसको अर्को नाम नै ‘नछुने भएको’ रहन गएको छ ।

नेपालको पश्चिम क्षेत्रमा नारीले त्यस्तो अवस्थामा छाउगोठमा बस्नु पर्ने बाध्यता छ भने विदेशका ठूला शहरमा पुगेर आधुनिकता अपनाउन थालिसक्दा पनि रजस्वलाप्रतिको भ्रम र अन्धविश्वासबाट नेपाली मानसिकता मुक्त हुन सकिरहेको अवस्था छैन ।
म पनि त तिम्रै पाठेघरमा सिँचित

रगतको डल्लाबाट बनेको हुँ
आमा के म अछूत हुँ ?
उसो भए हरेक आमाका सन्तानहरू
अछूत हुनुपर्ने होइन र ?
यो अवोध कविप्रश्न वास्तवमा निकै पेचिलो छ । सोही कवितामा उनी आफ्नो अन्तरमनलाई कवितासँग संवाद गर्छिन् र निर्णय सुनाउँछिन्–
मैले शिलालाई कहिल्यै भगवान् मानिनँ आमा
भगवान् त आत्मामा हुन्छ
सधैँ आफूभित्र हुन्छ
त्यसैले त रजस्वला हुँदा पनि म मन्दिर गएँ तिमीसँग ।

विज्ञान विषयको विद्यार्थी भए पनि नदियाको रुचि साहित्य, कला, संगीतप्रति छुट्नै नसकिने गरी गढेर बसेको छ । त्यसैले उनी ठूलो शहरको व्यस्त जीवनशैलीमा अभ्यस्त भए पनि आफ्नो रुचिलाई थामिराख्न सफल भएकी छिन् ।

आफ्नै कविता ‘एउटी छोरीको प्रतिज्ञा’मा गरेको अभिनय युटुब दर्शकमाझ लोकप्रिय भइरहेको छ भने न्युयोर्कमा यस वर्ष पहिलो पटक आयोजना गरिएको टुटुल्को हास्यव्यंग्य कार्यक्रममा अर्की स्रष्टा संगीता उप्रेतीसँग उनले पस्केको प्रहसन दर्शकको नजरमा उत्कृष्ट जँचेको थियो ।

स्कुले जीवनमा रेडियो नेपालको बाल कार्यक्रममा कविता वाचनबाट साहित्ययात्रा शुरू गरेकी नदियाको स्वीकारोक्ति छ– ‘रेडियोमा बाल साहित्य वा साहित्यका कार्यक्रम वा नाटकले मन जितेको हुनाले होला मेरो अहिलेको नेपाली साहित्य र कलाकारिताप्रतिको मोह भङ्ग हुनै सकेन । झन् दिलचस्पी लागिरह्यो, लागिरहेको छ । यद्यपि म देशबाट टाढा बस्छु र पनि झन् लेखनमा दिल बसेको छ । नेपाली साहित्यप्रति माया बसेको छ ।’

नेपाली साहित्यप्रतिको त्यसै मायाकै अभिव्यक्ति हो– सामाजिक सञ्जालहरूमा पनि उनी कवितामै पोखिइरहेकी हुन्छिन् । झिनामसिना विषय सन्दर्भलाई पनि उनी गहिरा र उदात्त भावनायुक्त शब्द दिन सफल छिन् ।

मलाई थाहा छ
तिमीले कोर्ने कविता हुँ म
हरेक हरफमा पल–पल बाँचिरहने
एक जीवन्त पात्र हुँ म ।

ढुंगाले हान्ने सामु मुस्कुराइदिन्छु म
माया गर्नेलाई माया दोब्बर दिन्छु म
त्यसैले त
अरुभन्दा अलि फरक हुँ म ।
(भर्खरै उनले पोष्ट गरेका फेसबुक स्टाटस)

अवश्य उनी अलि फरक नै छिन्, कविताकर्ममा होस् वा व्यवहारमा पनि । न्युयोर्क बसाइका क्रममा उनीसँग औपचारिक कार्यक्रमहरूमा एकाधपटक जम्काभेट मात्र हुन पाएको छ । नव परिचितसँग पनि उनी आत्मीय भावमा प्रकट हुन्छिन् । कवितामा जस्तै व्यवहारमा पनि उनी हृदयदेखि नै उदात्त स्वभावकी रहिछन् ।

उनको लेखाइ र व्यवहार नियाल्दा म विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘सुम्निमा’को पात्र सुम्निमालाई सम्झिन पुग्छु । जीवनलाई शास्त्रीयता र संकीर्णतामा बिताउन खोज्ने सोमदत्त मलाई मन परेको पात्र होइन ।

मलाई त जीवनलाई उत्सवका रूपमा उदार र उदात्त भोग्न चाहने सुम्निमा नै मन पर्छ । सुम्निमाको काव्यिक संस्करण नदियालाई अवश्य नेपाली साहित्यका पाठकले मन पराउने छन् । उनी केवल डायस्पोरिक लेखनमा मात्र हैन मूल प्रवाहकै साहित्यमा छुटाउन नमिल्ने नाम बन्नेछिन् भन्ने विश्वास गर्न सकिन्छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो