लकडाउनका बेला बन्यजन्तुलाई रामराज्य

फौजी र गैरफौजी संरक्षणकर्मीहरुले के गर्ने यतिबेला ?

कोरोनामुक्त प्रकृतिको धनी नेपाल कोरोना त्रासकै कारण अन्तत लकडाउनमा गएको छ । लकडाउन घोषणाकै भोलिपल्ट म शिबपुरी नागार्जुन राष्टिय निकुञ्जमा जंगल वाक गएको थिए ।

दुई मिटरको दूरीम बयस्क स्वस्थ चितुवासँग त्यहाँ जम्काभेट भयो । बन्यजन्तुसँग आँखा जुधाउनु हुँदैन भन्ने ज्ञान हुँदाहँंदै पनि हिंस्रक मानिने चितुवासँग करिब १० सेकेण्ड आखा जुधाजुध भएको अनुभव भयो मलाई ।

चितुवा निस्फिक्री बाटोमुनि लाग्यो । पाटे बाघ धेरैपटक देखे भेटेको मलाई चितुवासंगको जम्काभेट भएर आमने सामने भएको यो पहिलो पटक थियो । रमाइलो चाहिँ के लाग्यो मलाई भने, प्रकृतिको अनुपम उपहार त्यो चितुवा विना कुनै रोकतोक स्वच्छन्द घुमफिर गर्ने अवसरको सदुपयोग गर्दै थियो ।

चराविद् उत्सब थापाले बाघ र चितुवाबीचको जम्काभेटका फोटोहरु आफ्नो फेसबुक पेजमा पोष्ट गरेका गरेकै थिए । उनका तस्वीरहरुले पनि बन्यजन्तुहरुको स्वच्छन्द विरचणको सुन्दर व्यख्या गरिरहेजस्तो लाग्छ मलाई ।

बर्दिया राष्टिय निकुञ्जमा बाघको बाक्लो साइटिङ्ग भइरहेको छ । अन्य निकुञ्ज आरक्ष र संरक्षण क्षेत्रको अवस्था पनि बन्यजन्तु साइटिङ्ग र चराहरुको खेलवाडका दृष्टिकोणबाट ज्यादै उत्साहजनक छन् ।

चराहरु खुसीले मानिसको घर आंगन, गमला, सडकमा रमाएर नाचिरहेका छन् । इटालीको भेनिसमा सुन्दर शान्त नहरमा ६० बर्षपछि खुसीले रमाउँदै खेलिरहेको डल्फिनको फिल्मिङ्ग भएको छ । हाँस, स्वान र पंक्षीहरुको संगीत र नाचगानको रेकर्ड त्यसमा भएको छ । भारतका राष्टिय निकुञ्ज र बन्यजन्तु, पंक्षी, जलचरलाई रामराज्य प्राप्त भएको छ ।

लकडाउन ज्यादै अप्रिय कुरा हो तर यो मानव सिर्जित प्रकोप भएकाले हुनुपर्दछ हामी दण्डित हुनुपरेको । अनि प्रकृति र प्रकृतिका उपहार पशुपंक्षी ज्यादै खुसी भएको पनि यही बेला हो कि झैं लागेको छ ।

किनकि, यतिबेला जंगलमा कोही मानिस पुगेका छैनन् जंगली जन्तुलाई हेर्न ,जिस्काउन वा हात्ती चढेर छेको हान्दै तिनलाई डर देखाउन । यतिबेला संसारभरका मानिस लकडाउनमा छन्—आफ्नै ज्यान जोगाउने उपायको खोजीमा ।

नेपाल प्रकृतिप्रेमीको देश हो । संरक्षणविद्हरुको देश हो । नमुना प्रकृति संरक्षणको मोडल प्रस्तुत गरेर विश्वलाई चकित बनाइसकेको देश पनि हो ।

तसर्थ चुनौतिभित्र अवसर खोज्दै प्रकृति संरक्षणको क्षेत्रम हामीले लकडाउनको प्रतिकुल समयलाई अनुकुलतामा बदल्दै निम्न रचनात्मक र श्रृजनात्मक काम गरेर प्रकृतिलाई खुसी र सुखी बनाउनु पर्दछ ।

व्यबस्थापन पक्ष

पर्यटकको भिडभाड नभएको शान्तिकालीन समयमा घांसे मैदान बनाउने, पानी, कुवा, तालको व्यबस्थापन गर्ने उपयुक्त समय हो । पुल पुलेसा, कुलो नहर, मचानको मर्मत संभार र नयाँ निर्माण गर्ने, फयर लेन, बाटो मर्मत संभार र सफाई गर्ने तथा प्रतीक्षालय, शौचालय, धारा, बत्ती बनाउनका लागि योजना गर्ने यो उपयुक्त समय हो ।

त्यसैगरी हात्तीसार, स्कूल, अनुसन्धान, सर्भे, तालिम, अनुगमन, नियमन, रेकर्ड ऐन नीति निर्माणको काम सम्पन्न गर्न सकिने कुरालाई यो समयको सदुपयोग हुन सक्छ ।

संरक्षण पक्ष
प्रतिकुल समयको प्रतिक्षरत चोरी शिकारी र तस्करीको मौकाको फाइदा उठाउने प्रबृतिलाई कडा अनुगमन, प्रतिकार र नियन्त्रण गर्न सुरक्षा कारवाहीलाई व्यापक र तीब्र बनाउने काम अहिलेको प्राथमिकतामा पर्नुपर्छ । सर्च र स्वीप अपरेशनलाई जोडदार संचालन गरी सत्प्रतिशत सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्ने ।

अन द जब र मोवाइल तालिमहरुबारे व्यबहारिक योजना बनाउने र प्रविधिको प्रयोगमार्फत यस्ता तालिमहरुमा जोड दिने । आफ्नो जिम्माको क्षेत्रका बन्यजन्तुबाट स्थानीय जनताको जनधनको क्षति हुन नदिने गरी मजबुत योजना तर्जुमा गर्न ज्ञान, सीप र प्रविधको प्रयोगसहितको प्रभावकारी योजना निर्माण गर्ने ।

अन्य काम

सरकारी बजेटको पूर्ण सदुपयोग गरेर व्यवस्थापन र संरक्षणका कामहरु पूरा गर्ने देखि लिएर आन्तरिक समन्वय र व्यबस्थापनको कामलाइ तीब्रता र पूर्णता दिन यो उपयुक्त समय पनि हो ।

त्यसैगरी सवारी साधन मर्मत संभार र खरिद गर्ने, आवश्यक ठाउंमा नियन्त्रित डढेलो लगाएर नयां पाउलो घांस निकाल्नेजस्ता कामहरु गर्नका लागि योगदान दिन सकिन्छ ।

इन्टेलिजेन्स

हिजो शून्य शिकारको स्थिति बनेको इन्टेलिजेन्सकै कारण हो । बन्दुक र बल प्रयोगको कारण शुन्य शिकारको अवस्था आएको थिएन । सुराकी सन्जाल निर्माण र परिचालन गर्न ध्यान दियौं, इन्टेलिजेन्स चीफ वार्डेनको बलियो र भरपर्दो आंखा र कान हो । गैंडाको लागि मजबुत ढाल पनि हो । त्यसमा ह्रास आउन र खिया लाग्न दिनु हुँदैन ।

बरु, इन्टेलिजेन्सको बजेट सदुपयोग गरेर विश्वसनीय नेटवर्क बनाउनुपर्दछ चीफ वार्डेनहरुले । यसबारे गम्भीरतापूर्वक योजना बनाउने र संचारका साधनहरुमार्फत सुराकी सञ्जालको निर्माण गर्ने ।

तालिम र सरसफाई

चीफ वार्डेन, रेञ्जरदेखि गेमस्काउटहरु, प्रोटेक्सन युनिटका गणपति, गुल्मपतिदेखि सबै संरक्षणकर्मीहरु लकडाउन भए पनि प्रविधिको प्रयोग गरी मोवायल र अन द जव तालिम दिन सकिन्छ । यो सुनौलो मौका हो भविष्यको तयारीका लागि ।

लकडाउनको समयमा स्वास्थ्यकर्मीहरुकै सल्लाह मान्ने हो भने आफू र आफ्नो वरिपरिको वातावरणको सरसफाई अत्यन्त जरुरी विषय हो । त्यसैले संरक्षणकर्मीहरुले पनि आफ्नो व्यारेक, चेकपोष्ट रंगरोगन, बाटोघाटोको सफाइ, साइनवोर्डहरुको पुनर्लेखन र पुनस्थपनाका कामका साथै पर्यटक मचान, भ्यू टावर, प्रतिक्षालयलाई नमूना बनाउन यो उपयुक्त समय हो ।

कोरोनाको कहर पक्कै पनि सधैंका लागि होइन । लकडाउन सकिएपछि निश्चित छ फेरि हाम्रा निकुञ्जहरु र आरक्षहरुमा प्रकृतिप्रेमी पर्यटकहरुको ओहिरो लाग्दछ । त्यसैले त्यसको पूर्वतयारी र योजना निर्माणका लागि यो उपयुक्त समय हो ।

यसबीचमा बन्दी जीवन विताएका र विताउने शिकारीहरुको दुरुस्त लागत राख्ने, जेल भुक्तान गरी घर फर्किने शिकारीहरुको लागि आय आर्जन, जीविकोपार्जनका उपायसहित उनीहरुलाई इन्गेज राख्ने गरी रचनात्मक रोजगारीका अवसर दिलाउन उपायहरु निकाल्ने र सरकारलाई सिफारिस गर्ने कामलाई लकडाउनले छेक्दैन ।

यदि उपयुक्त योजनासहित जेलमुक्त शिकारीहरुको पुनस्र्थापनाको प्रयास गर्ने हो भने यो पंक्तिकार स्वयंसेवी भई राज्यलाई सहयोग गर्न तयार रहेको जानकारी गराउँछु ।

बाद्यकारी लकडाउनको अप्रिय अवस्था बन्यजन्तुका लागि रामराज्य हो । आफूलाई हेर्ने, जिस्काउनेहरु सकेसम्म जंगल क्षेत्रमा प्रवेश नगर्ने भएकाले लकडाउन उनीहरुका लागि थप स्वतन्त्रताको समय हो ।

यो समयको सदुपयोग गर्दै संरक्षणमा खटिनेहरुले योजना तर्जुमा गर्ने, प्रविधिका माध्यमबाट क्षमता अभिबृद्धि तालिम गर्ने र निकुञ्ज र आरक्षलाई सफा, सुन्दर र स्वर्गजस्तो बनाउन उल्लेख्य भूमिका खेल्नु पर्दछ ।

वन्यजन्तुको संख्या बढोस्, शिकारी मुक्त बनुन् र निकुञ्जहरु सफा र आकर्षक बनुन् जस्ले गर्दा कोरोनाको प्रकोप सकिएलगत्तै पर्यटकहरु मन वहलाउन, पीडा मेटाउन र जीवनको आनन्द लिन हाम्रा आरक्ष र निकुञ्जको भ्रमणमा आउने वातावरण तयार होस् भन्ने मेरो शुभकामना छ ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position