कोरोना भाइरसको बढ्दो त्रास

कोरोना भाइरसको महामारीले नेपाल पनि भयभित र त्रसित भएको छ । सरकारले तीन दिनदेखि गरेको लकडाउनका कारण आम नागरिकहरु घरमा बसिरहेका छन् भने देश पूरै ठप्प जस्तै छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक जना नेपाली महिलामा कोरोना भाइरसको संक्रमण देखिएपछि नेपाल सरकारले देशभर लकडाउन गरेको छ । हुन त चीनमा कोरोना भाइरस देखिएपछि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोख्रेलको संयोजकत्वमा नेपालमा कोरोनाको संक्रमण नियन्त्रण र रोकथामाका लागि उच्चस्तरीय समन्वय समिति बनाउनुभएको थियो । जुन समितिले लगातार बैठक बसेर अनेक गृहकार्य पनि गर्दै आएको थियो ।

जब फ्रान्सबाट ०७६ चैत्र ४ गते नेपाल प्रबेश गरेकी एक महिलामा कोरोना भाइरसको सक्रमण देखियो त्यसपछि सरकारले आफनो रणनीतिलाई थप कडाइका साथ कार्यान्वयन गर्न थाल्यो । सरकारले नेपालमा पनि कोरोना भाइरसको सक्रमण हुने खतरालाई मध्यनजर राखेर नै फागुनको तेस्रो हप्ता नै सम्पूर्र्ण विद्यालयहरुलाई ०७६ चैत्र ५ गते सम्म बार्षिक परीक्षा गरिसक्न निर्देशन दियो र सोही बमोजिम कक्षा १ देखि ९ सम्मका सम्पूर्ण परीक्षा संचालन गरी सम्बद्ध सबै विद्यालयले ५ गते पछि विद्यालय बन्द पनि गरे । अनि एसइइको परीक्षा पनि चैत्र ७ गतेबाट हुने गरी कार्यतालिका बनेको थियो तर परिस्थिति जटिल हुँदै गएपछि सरकारले एक दिन अगाडि एसइइको परीक्षा पनि स्थगित गर्ने निर्णय गर्यो । जुन निर्णयलाई कतिपयले नबुझीकन आलोचना पनि गरे । सकेसम्म परीक्षा नियन्त्रण कार्यालयको तयारी र विद्यार्थीको तयारीलाई पनि ध्यानमा राखेर नरोक्ने पक्षमा सरकार थियो तर परिस्थितिले बन्द गर्नै पर्ने स्थिति सिर्जना गर्यो र सरकारले गरेको निर्णय उपयुक्त रहेछ भन्ने कुरा दुई दिनपछि नै सबैलाई महशुस पनि भयो । चलिरहेको संसद पनि स्थगित भयो भने त्रिभुवन विश्वविद्यालयले तयारी गरेको परीक्षा पनि स्थगित भयो । त्यसपछि नेपाल सहित सम्पूर्ण विश्व नै ठप्प जस्तै भएको छ ।

महाशक्ति राष्ट्र अमेरिका लगायतका अन्य शक्तिशाली राष्ट्र पनि आज कोरोना महामारीका सामु निरीह हुनु परेको छ प्राकृतिक बिपत्तिका अगाडि जतिसुकै शक्तिशाली राष्ट्र भएपनि केही लाग्दो रहेनछ भन्ने कुरा यो घटनाले पनि देखाएको छ । यदि कुनेै राष्ट्रले हस्तक्षेपकारी नीति लिएको भए शाक्तिशाली राष्टले सहने थिएनन् तर आज कोरोना भाइरस संक्रमणले विश्वयुद्ध जस्तो बनाएको छ । जब चीनमा कोरोना भाइरस देखिँदा मृत्यु हुने सख्या जम्मा औसत ५ प्रतिशतमा सीमित थियो तर जब अन्य देशमा फैलियो त्यो औसत आज १८ प्रतिशतमा पुगेको छ ।

चीनमा त्यो भाइरस देखिइरहँदा अन्य देशले गम्भीरतापूर्वक सतर्कता अपनाउनुपर्नेमा त्यो अलिक नदेखाएकै कारण कुनै कुनै मुलुकमा बढी भयावह हुन पुगेको छ । यस्तो अबस्थामा सरकारले गरेको निर्णयलाई पूर्ण पालना गरेर अगाडि बढ्नुपर्छ । यो लकडाउन सरकारका लागि नभएर आम नागरिकका लागि हो । त्यति मात्र होइन प्रत्येक नागरिकले सरकारको निर्णय पालना गर्नु भनेको आफू र आफ्ना लागि, आफनो देशका लागि भन्ने सम्झिनुपर्छ । किनकि डिसेम्बरको अन्तिम साता चीनमा देखिएको कोरोना भाइरसले शुरुका दिनमा चीनले जे जति मानवीय र आर्थिक क्षति र कष्ट ब्यहोर्नुपर्यो त्यसको कैयन गुणा ज्यादा सक्रमण र क्षति अहिले सिगो विश्वले व्यहोर्दै छ यो अबस्थामा हरेक बिषयमा दोषी चश्मा लगाएर सरकारलाई दोष दिएर हुँदैन । सरकारले बुद्धि, बिबेक र बर्कतले जे जति गरेको छ यो भन्दा ज्यादा सरकारसँग अपेक्षा गरेर मात्र हुँदैन । यस्तो बेलामा आम नागरिकको पनि दायित्व त्यत्तिकै हुन्छ र हुनुपर्छ ।

सरकारले चालेको कदमप्रति आम नागरिकले पूर्णतः साथ दिनुपर्छ र कोरोना बिरुद्धको अभियानलाई सफल बनाउनुपर्छ यदि कसैले राज्यले लिएको कदमप्रति असहमति जनाउँछ भने त्यो उसका लागि जीवन भन्दा आत्महत्या जस्तै हो । सडकमा उत्रेर लखरलखर हिँड्नु भन्दा घरमै बसेर आफु, परिवार, समाज र देशलाई जोगाउनुपर्छ । सरकारले अहिले एक हप्ताका लागि लकडाउन गरेको छ यदि आबश्यक पर्यो भने अरु समय थप गर्नुपर्ने हुन्छ र थप भयो भने पनि आम नागरिक साथमा रहनुपर्छ । नेपालका कतिपय स्थानमा नागरिकहरुले लकडाउका बेला मर्निङ वाक, इभिनिङ वाक गर्ने, बाटोमा निस्केर रमिता हेर्ने जस्ता गतिबिधि जे गरिरहेका छन जसलाई नबुझेर वा बुझ पचाएर भएको हो त्यो स्वयंका लागि पनि घातक हो । यस्तो बेलामा पनि ज्यानलाई दाउमा राखेर अहोरात्र खटिएका सुरक्षा निकायले घरमै बस भनेर भन्नुपर्ने अबस्था आउनु दुःखद हो । तर पनि काठमाडौ उपत्यकामा त्यस्तो अबस्था नगन्य छ भन्दा पनि हुन्छ । नागरिकहरुमा सचेतनाको बिकास भएको छ । सरकारले चालेका हरेक निर्णयप्रति नागरिकहरु सचेत हुँदै गएका छन् ।

नेपाल सरकारका मन्त्रीहरु पनि जसरी अहोरात्र खटिएको देखिएको छ त्यो निकै प्रशंसनीय रहेको छ । आफनो परिबार नभनेर चिकित्सक नर्सहरु जसरी खटिएका छन त्यो पनि निकै प्रशंशनीय रहेको छ बिदेशमा रहेका नेपाली चिकित्सक, नर्सले गरेको काम पनि निकै उदाहरणीय रहेको छ । अमेरिकामा रहेकी नर्स चन्दा खरेल भन्दै थिइन् जस्तोसुकै परिस्थिति किन नआओस नागरिकको सेबमा लाग्नु आफ्नो पेशाप्रतिको धर्म हो र सोही अनुसार मैले काम गरिरहेकी छु । यस्तो सेवाभाब नेपालमा रहेका निजी अस्पतालहरुले पनि गरेको भए कति राम्रो हुने थियो तर दुखद पक्ष नेपालका कतिपय निजी अस्पतालहरुले देखाएको ब्यबहारले यिनीहरु कमाउन मात्र खोलिएका हुन् भन्ने कुरालाई पुन पुष्टि गरेको छ ।

नेपालमा सबै भन्दा नाफामूलक ब्यापार भनेको शिक्षा र स्वास्थ्य हो भनिन्छ । जुन कुरालाई यस्तै ब्यबहारले प्रमाणित गर्ने गरेको छ । विश्व नै त्रसित भयभित भएको र सिंगो नेपाल पनि महामारीको संकटमा परेको बेला पनि निजी अस्पतालहरुले पूर्ण रुपमा सहयोग गर्नुपर्ने खाँचो छ कोरोना भाइरसको सक्रमणको सभावना देखिएका बिरामीलाई बिना हिच्किचाहट निःशुल्क सेवा दिनुपर्छ अन्यथा निजी अस्पताल सेवा भावले खोलेको मानिने छैन र केवल नाफाको व्यापार भन्ने आरोप लाग्ने छ यो अवस्थामा निजी अस्पतालहरुका लागि सुवर्ण अवसर हो कि निजी अस्पतालहरुले पनि साँच्चै नै गरेर देखाउन सकुन् र सेवा गरेको प्रमाणित गरुन् । त्यसो भएमा ब्यापार मात्र गरेको आरोप दुर हुने छ । यद्यपि कतिपय अस्पतालले भने सहयोग गरेको पनि देखिएको छ तर धेरै केवल व्यापारमुखी मात्र भएका छन् ।

कर्फ्यू लागेको बेला बरु साँझ बिहान नागरिक बाहिर निस्कन सक्थे अहिले कुनै बेला पनि कोही पनि घरबाट निस्कन हुने अबस्था छैन । एक अर्काबाट सर्ने भएकोले पनि कोही भाइरस सक्रमित फेला परेमा उसमार्फत अन्यमा सर्ने हुन्छ त्यसैले यसको उपचारको उपाय भनेकै सेल्फ आइसोलेशन नै हो । जति सेल्फ आइसोलेशनमा बस्न सकिन्छ त्यति यो रोग नियन्त्रण हुन सक्छ । निश्चय नै बाहिर काममा जाने गरेका, कार्यालय गएर समय बिताउने गरेकाहरुलाई घरमा बस्दा निकै कठिन भएको हुनुपर्छ त्यो स्वभाविक पनि हो । छटपटी हुनु पनि स्वभाविक हो त्यसलाई पनि सहज रुपमा लिन परिबारसँगै बस्ने, ज्ञानगुनका कुरा गर्ने, परिवारमा एक आपसमा थप सौहाद्र्धता बढाउने, विगतदेखि समय नपाएर गर्न नपाएका कतिपय दुख सुखका कुरा गर्ने र शेयर गर्ने, पुस्तक पढने, ज्ञानबद्र्धक फिल्म हेर्ने र बालबालिकालाई धेरै सिक्ने अबसर दिने जस्ले सधै सम्झिने र सिक्ने मौका दिने छ । घरमा बसेर कोही एकातिर कोही अर्कोतिर फर्केर मोवाइलमा मात्र झुण्डिने काम भएमा घरमा समय बिताएको कुनै अर्थ हुने छैन ।

कोरोना भाइरसले गर्दा तोकिएका अस्पतालहरु भरिएका छन् । अनलाइन र टेलिभिजनहरु र अन्तर्राष्ट्रिय न्यूज एजेन्सीहरु कोरोना भाइरसमय भएका छन् । कोरोना भाइरस बिरुद्धका समाचार बाहेक अरु केही छैन जसले गर्दा नागरिकहरुमा इरिटेड भएको समेत पाइएको छ । यसतर्फ सम्बद्ध पक्षको ध्यान जानुपर्ने भएको छ । रोगसँग कसरी लड्ने र नियन्त्रण गर्ने खालका जानकारीमूलक सामग्री दिनै पर्छ तर त्यो पनि नागरिकहरुमा इरिटेड हुने खालको बाताबरण नबनाउ । निश्चय नै कोरोना भाइरसका कारण आम नागरिकहरुमा त्रास र भय छ तर त्यस्तो अवस्थामा आफूलाई नराखौ किनकि शान्त भयरहित भएर बसौ अरुलाई पनि शान्त हुन भनौ ।

बालबालिका र बुद्ध बृद्धालाई ख्याल गरौ । लामो समयदेखि आराम नपाएकामा बल्ल आराम पाए भन्ने सम्झिनुस र आत्म सन्तुष्टिका साथ रमाउनुहोस । माता पिता परिबारसंग मज्जाले समय बिताउ । हुन त म स्वयंलाई पनि कम गाह्रो भएन । जतिसुकै ठुला राजनीतिक आन्दोलन हुदा वा कर्फ्यू लाग्दा पनि समाचार संकलनमा भिडियो र सकेसम्म चाँडो समाचार नागरिकहरु समक्ष पुरयाउने काम गरियो तर आज सकेसम्म बाहिर ननिस्कने अबस्था आएको छ । समाचारपत्रहरु बन्द भएका छन केवल विद्युतीय मिडिया चलेका छन् त्यसका लागि कार्यालय नजादा पनि भएको छ भने समाचार पनि केवल कोरोना भाइरस सम्बन्धी बाहेक अरु छैन भएपनि राख्दा असान्दर्भिक हुने खतरा त्यत्तिकै छ ।

महामारीको संकटको बेला अप्ठ्यारो सबैलाई छ डर पनि त्यत्तिकै छ घरमा बसिरहँदा अत्यास लाग्दो अवस्था पनि त्यत्तिकै छ कसरी समय बिताउने भन्ने पनि छ र पनि रमाइलो माने जस्तो गरी बस्नुपरेको छ । बिश्वमा फैलिएको कोरोना भाइरसको सक्रमणले मृत्यु हुनेको सख्या र भाइरस सक्रमणको जोखिममा रहेका र उपचारमा रहेकाहरुको सख्या हेर्दा कहाली लाग्दो छ । त्यो कहाली लाग्दो तस्वीरले सिगो नेपाललाई पनि गंभीर र थप सचेत बनाएको छ । यदि सरकारले गरेका निर्णयलाई अक्षरशः पालना गरेमा हामी आफु सुरक्षित हुने छौ र अरुलाई पनि सुरक्षित बनाउने छौ ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position