महाविर पुनको आविष्कार केन्द्रलाई पीपीई बनाउन भगवान कोइरालाको मौखिक स्वीकृति

डिसी नेपाल
१३ चैत २०७६ १८:३९

काठमाडौं। विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई अत्यावश्यक पर्ने प्रशनल प्रोटेक्टिभ इक्वीमेन्ट (पीपीई)को देशभर अभाव भइरहेका बेला महाविर पुनको आविष्कार केन्द्रले आपतकालीन उपयोगका लागि पीपीई बनाउने भएको छ।

पुनलाई पीपीई बनउन मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले मौखिक स्वीकृति दिएका छन्। पुनले डिसी नेपालसँग भने, मैले टिचिंगका चिकित्सकहरुसँग सल्लाह गरेर बनाएको नमुना पीपीई डा. भगवान कोइरालालाई देखाएको थिएँ। उहाँले अहिलेलाई यतिले काम चल्छ भन्नु भएको छ। भोलीबाट उत्पादन शुरु गर्छौं।

पुनले बनाउने पीपीई विश्व स्वास्थ्य संगठन र नेपाल मेडिकल काउन्सिलको मापदण्ड पूरा गर्छ गर्दैन त्यो भने यकिन छैन। पुनले डिसी नेपालसँग भने, अहिले मापदण्डको कुरा भएको छैन। ल्याब टेष्ट हुनु पर्यो। त्यो गर्न सम्भव पनि छैन। हामीले आपतकालीन सहयोगका लागि बनाउन लागेका हौं। यसको व्यवसायीक उत्पादन गर्न त मापदण्ड पूरा गरेर स्वीकृति लिनुपर्छ। डा. कोइरालाले पनि व्यवसायीक उत्पादनका लागि स्वीकृति लिनुपर्ने बताउनु भएको छ।

आविष्कार केन्द्रमा रहेको कच्चा पद्धार्थबाट ५ सय पीस जति पीपीई बनाउन सकिने पुनले जानकारी दिए। उनले बजारमा कच्चा पद्धार्थको खोजी पनि भइरहेको र बिहीबार उद्योग मन्त्रालयमा आफूले कच्चा पद्धार्थको आपूर्तिबारे कुरा गरेको जानकारी दिए। कच्चा पद्धार्थ पर्याप्त भए केन्द्रले दैनिक ५ हजार पीससम्म उत्पादन गर्ने क्षमता रहेको पुनले बताए।

पीपीईको अभावमा स्वास्थ्यकर्मीहरुले कोरोना भाइरसका शंकास्पद संक्रमितहरुको स्वास्थ्य जाँचसमेत ठूलो संख्यामा गर्न सकेका छैनन्। सरकारले भर्खरै पीपीई आपूर्तिका लागि बोलपत्र आव्हान गरेको छ।

देशका पूर्वदेखि पश्चिमसम्मका अस्पताल र स्वास्थ्य संस्थाबाट आविष्कार केन्द्रमा पीपीईको माग आएको पुनले बताए। उनले सेनाको अस्पतालबाटसमेत पीपीईका लागि माग आएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *