टी-ट्वान्टी विश्वकपको एसिया छनोट स्थगित

डिसी नेपाल
१३ चैत २०७६ १९:०२

काठमाडौं । नेपालले सहभागिता जनाउने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको एसिया छनोट ‘बी’ प्रतियोगिता स्थगित भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण नेपालले खेल्ने एसिया छनोट स्थगित भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार एक विज्ञप्ति निकाल्दै आगामी जुन २६ देखी जुलाई २ सम्म मलेसियामा हुने छनोट अनिश्चित कालका लागि स्थगित भएको जनाएको छ ।

प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, भुटान, चीन, म्यानमार र थाइल्याण्ड रहेका थिए । यस्तै आईसीसीले कोरोनाको कारण देखाउदै आगामी जुन ३० अघि सार्वजनिक भएका सबै प्रतियोगिता स्थगित भएको समेत जनाएको छ ।

आईसीसीको निर्णयसँगै नेपालले खेल्ने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको दुई सिरिज समेत स्थगित भएको छ । नेपालले नामिबियामा र पपुपा न्युगिनीमा खेल्ने दुई फरक त्रिकोणात्मक सिरिज स्थगित भएको हो ।

नामिबियामा हुने सिरिजमा नेपालसहित घरेलु टोली नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्ने तय थियो। सातौं चरणको खेल अप्रिल २० देखि २७ सम्म नामिबियामा हुने तालिकामा उल्लेख थियो ।

आईसीसीले सातौं चरणको लिग सेप्टेम्बरमा हुने बताएको छ । तर, मिति भने केही समय पछिनै घोषणा हुनेछ । यस्तै पपुपा न्युगिनीमा हुने नेपाल, पपुवा न्युगिनी र युएईबीचको सिरिज ९ देखि १६ जुनसम्म हुने तालिका रहेको थियो ।

लिग–२ प्रतियोगिता सन् २०२३ विश्वकप छनोट प्रतियोगितामा पुग्ने सुनौलो अवसर हो । जहाँ ७ राष्ट्रले ३४ एकदिवसीय अन्तराष्ट्रिय म्याच खेल्ने गर्छन् ।तालिकाको शीर्ष तीन टिमले सिधै विश्वकप छनोट खेल्न पाउने छन् । नेपालले एक सिरिजमा ४ खेल खेल्दै २ मा जित र २ मा हार ब्यहोरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *