स्याङ्जामा ३६६ जना क्वारेन्टाइनमा, २ जनाको रिर्पोट आयो

डिसी नेपाल
१५ चैत २०७६ १३:०७

स्याङ्जा । लकडाउन जारी भएको चौथो दिनसम्ममा स्याङ्जामा ३६६ जना क्वारेन्टाइनमा बसेका छन्। जिल्लाका ११ वटै पालिकाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन र होम क्वारेन्टाइनमा उनीहरु बसेका हुन्।

जिल्लामा होम क्वारेन्टाइनमा ३४० जना, विभिन्न स्थानीय पालिकाले निर्माण गरेका क्वारेन्टाइनमा २५ जना र सेल्फ क्वारेन्टाइनमा एकजना गरी कूल ३६६ जना क्वारेन्टाइनमा बसेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।

जिल्लाका स्थानीय तह, प्रहरी प्रशासन लगायतको सहयोगमा विदेशबाट आउनेहरुको खोजी कार्यलाई तीब्र पारिएसँगै क्वारेन्टाइनमा बस्नेको सङ्ख्या दिनहुँ थपिँदै गएको प्रनाउ भण्डारीले बताए । “लकडाउनको पालना गरी आफू र परिवारलाई सुरक्षित राख्नका लागि सचेतनास्वरुप माइकिङसमेत गरिएको छ” भण्डारीले भने, “लकडाउनका बेला अत्यावश्यक कामबाहेक सडकमा सवारी साधन नचलाउन र घरबाहिर पैदलसमेत ननिस्कन आग्रह गरेका छौँ ।” प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लकडाउनको अवज्ञा गरी शुक्रबार सञ्चालन गरिएका २६ सवारी साधन नियन्त्रणमा लिएको छ।

जिल्लाका ११ वटा पालिकाले आ–आफ्नो पालिकामा क्वारेन्टाइन तथा आइसोलेसन श्ययाहरु तयार पारेका छन्। जिल्लाको मध्यभागमा रहेको वालिङ नगरपालिकाले विदेशबाट फर्केकाहरुको विवरण सङ्कलनलाई तीब्रता दिएको छ। विदेशबाट फर्केकाहरुको प्रत्येक घर–घरमा पुगेर विवरण सङ्कलन गर्ने कार्यलाई तीब्रता दिएको वालिङ नगरका प्रमुख दिलीपप्रताप खाँणले बताए ।

वालिङ नगरपालिकाभित्रका विभिन्न वडामा विदेशबाट आएका १०८ जना होम क्वारेन्टाइनमा बसेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड—१९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर–घरमा पुगेर १०८ जनालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको नगर प्रमुख खाँणले बताए । विदेशबाट आफ्नो टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले टोलबासीलाई आग्रह गरेका छन् ।

कोरोना नभएको पुष्टि

स्याङ्जाबाट परीक्षणका लागि पठाइएको स्वाबको दुई नमूना कोरोना नभएको पुष्टि भएको छ । कतार एयरमा फर्किएकामध्ये स्याङ्जाको फेदीखोलाका एक युवकसहित उनको पत्नीको स्वाब परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाइएकामा कोरोना नभएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

“कतार एयरबाट आएका युवाको श्रीमतीलाई समेत ज्वरो आएपछि दुबै जनाको स्वाब परीक्षणका लागि पठाइएकामा दुबै जनाको रिपोर्ट नेगेटिभ आएको छ” प्रजिअ कुरुम्बाङले भने । कतार एयरमा आएकी १९ वर्षीया युवतीमा कोरोना सङ्क्रमण प्रमाणित भएसँगै उक्त जहाजमा यात्रामा रहेका छ जना सम्पर्कमा आई क्वारेन्टाइनमा बसेका उनले बताए ।

रेडक्रसद्वारा मास्क वितरण

वालिङ नगरपालिकाभित्र क्रियाशील रहेका रेडक्रस उपशाखाहरुले एकहजार थान मास्क वितरण गरेका छन् । नगरपालिका अन्तर्गतका क्रियाशील रेडक्रसका विभिन्न सात वटा उपशाखाहरुको पहलमा ल्याइएको मास्क नगरस्थित दैनिक खटिने सङ्घ संस्थालाई वितरण गरिएको मास्क सङ्कलन तथा वितरण कार्यक्रमका संयोजक एवं पेखु बाघखोर उपशाखाका सभापति विष्णुप्रताप खाँणले बताए ।

जिल्ला तथा इलाका प्रशासन कार्यालय, वालिङ नगरपालिका कार्यालय, नेपाली सेना, जिल्ला प्रहरी कार्याल, वडा प्रहरी कार्यालय, ग्रहौं प्राथमिक अस्पताल, सञ्चारकर्मी, वालिङ साना शहरी खानेपानी, आयुर्वेद औषधालय, रेडक्रसका उपशाखाहरु, बुटवल पावर कम्पनी, वालिङ उद्योग वाणिज्य सङ्घलाई ती मास्क वितरण गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *