लकडाउनमा समोसा मागेर हैरान पार्ने व्यक्तिलाई प्रशासनले घरमै समोसा पठाइदियो त्यसपछि…

डिसी नेपाल
१७ चैत २०७६ ९:२८

काठमाडौं। कोरोनाभाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै देशमा लकडाउनको घोषणा गरिएको छ । नेपालमा मात्र नभइ विश्वका कैयौं देशहरुमा लकडाउन जारी छ । छिमेकी देश भारतमा पनि लकडाउन जारी छ । लकडाउनका बीचमा नियम तोड्न खोज्ने केही व्यक्तिहरु पनि भेटिएका छन् । यी व्यक्तिहरुलाई विभिन्न किसिमले कारवाही गरिएको छ । यस्तै रोचक कारवाही भारतको उत्तर प्रदेशको रामपुरमा गरिएको छ ।

जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेटले लकडाउनको नियमको उल्लंघन गर्ने एक व्यक्तिलाई यस्तो अनौठो कारवाही गरेका हुन् । यहाँ एक व्यक्तिले कन्ट्रेल रुममा पटक पटक फोन गरेर कर्मचारीलाई हैरान पारेका थिए । ती व्यक्तिले कन्ट्रोल रुममा फोन गरेर आफूलाई समोसा ल्याइदिन भनिरहेका थिए । कर्मचारीले हैरान भएर यसबारे डिस्ट्रिक्ट मजिस्ट्रेटलाई जानकारी दिए ।

डिस्ट्रिक्ट मजिस्ट्रेटले पनि ती व्यक्तिको माग बमोजिम उनको घरमा समोसा पठाइदिए । त्यसपछि ती व्यक्तिलाई पहिले समोसा खुवाइयो र सजायस्वरुप सडकको नाली सफा गर्न लगाइयो । जिल्ला मजिस्ट्रेटले व्यवस्थाको दुरुपयोग गर्ने व्यक्तिबाट सजायस्वरुप सामाजिक काममा सहयोग लिइने बताएका छन् ।

जिल्ला मजिस्ट्रेटले ट्वीट गर्दै भनेका छन् ‘४ समोसा पठाइदेऊ… चेतावनीपछि अन्ततः पठाउनै पर्यो । अनावश्यक माग गरेर कन्ट्रोल रुमलाई हैरान पार्ने व्यक्तिबाट सामाजिक कार्य अन्तर्गत नाली सफा गराइयो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *