स्वास्थ्य जाँच नगरी गाउँ प्रवेश गरे २५ हजार जरिवाना

डिसी नेपाल
२० चैत २०७६ १८:३९

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नं ३ को खगालगाउँमा स्वास्थ्य परीक्षण नगरी प्रवेश गरेमा जो कोहीलाई २५ हजार जरिवाना गरिने भएको छ । कोरोना भाइरस संक्रमणविरुद्ध सचेत भएर सजगता अपनाउन र कोही संक्रमित व्यक्ति गाउँमा नआओस् भनेर नाम्खा ३ नं वडा कार्यालयले गाउँबासीलाई कोरोनाको संक्रमणबाट जोगाउन सो नियम बनाएको वडाध्यक्ष छेपाल लामाले बताए।

वडा नं ३ कार्यालयले गाउँवासी होस् वा बाह्य निवासी जो भए पनि स्वास्थ्य परीक्षण नगरी गाउँ प्रवेश गरेको पाइएमा २५ जरिवाना र जो जति परिवार छन् सबैलाई क्वारेन्टाइनमा बस्न लगाइने निर्णय भएको वडाध्यक्ष लामाले बताए। वडा नं ३ खगालगाउँमा बुधबारदेखि कुनै पनि नयाँ व्यक्तिलाई प्रवेश निषेध गरिएको छ ।

जिल्ला बाहिर भारत वा काठमाडौँलगायत विभिन्न शहरबाट आएर बाँके, सुर्खेत, जुम्ला, मुगु हुँदै हुम्ला पुगेका स्थानीयवासी क्वारेन्टाइनमा बस्नै मान्दैनन् ।

हुम्ला जिल्लाभरि एक सय तीन शययाको क्वारेनटाइन निर्माण गरिएको छ । यहाँको स्थानीय सरकार र स्थानीय प्रशासनले कोभिड –१९ को जोखिम बढ्दै गएपछि जिल्ला बाहिरबाट आएका सर्वसाधारण राख्नलाई जिल्लाका सातवटै गाउँपालिकामा क्वारेन्टाइन निर्माण गरिएको छ ।

जिल्लाको सदरमुकाम सिमकोटमा रहेको ३० शय्याको क्वारेन्टाइनमा अहिले जिल्ला बाहिरबाट आएका १० र उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङ्गमा रहेको क्वारेन्टाइनमा ११ शय्या रहेकामा ११ जना नै बसेको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *