भानुआतुमा शक्तिशाली आँधीले प्राकृतिक विपत्ति निम्त्याउने खतरा

डिसी नेपाल
२४ चैत २०७६ १३:१४

पोर्ट भिला, भानुआतु। प्रशान्त महासागरबाट उर्लेको आँधीले सोमबार भानुआतुलाई ढाकेको छ । विज्ञहरुले कोरोनाभाइरसको महामारीसँग जुधिरहेको भानुआतुमा आएको आँधीले ठूलै प्राकृतिक विपत्ति निम्त्याउने खतरा औंल्याएका छन् ।

ह्यारोल्ड नाम दिइएको यस आँधीका कारण गत साता सोलोमन द्वीपमा २७ जनाको ज्यान गएको थियो । भानुआतुको जलवायू विज्ञान विभागले गएराति भानुआतुमा आँधीको स्तर पाँचमा पुगेको जनाएको छ । यो आँधी २३५ किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा रहेको छ । भानुआतुका धेरै भागमा आपतकालीन स्थितिको घोषणा गरिएको छ ।

आँधीका कारण सोमबार बिहान दुर्गम पूर्वी तटीय एस्पिरिटु सान्टोमा पहिरो गएको र त्यहाँबाट आँधी भानुआतुको दोस्रो ठूलो शहर लुगानभिल्लेमा प्रवेश गरेको थियो । यो शहरमा १६ हजार ५०० को बसोबास छ । यो आँधी मंगलबार राजधानी पोर्ट भिलाहुँदै उत्तरतर्फ लाग्ने अनुमान गरिएको छ ।

भानुआतुका अधिकारीहरुले ठाउँठाउँमा बाढी आउने तथा विशाल समुद्रमा तैरिरहेका डुंगाहरुलाई किनारामा ल्याएर राम्रोसँग राख्न अनुरोध गरेका छन् ।

उता, कोरोनाभाइरसका कारण भानुआतुका सबै अन्तर्राष्ट्रिय सीमा बन्द गर्नुका साथै मानिसहरुलाई ठूलो समूहमा भेला नहुन आदेश जारी गरिएको छ । भानुआतु रेडक्रसका विपद संयोजक अगस्टाइन गाराले कोविड–१९ सँग जुध्नु परेको भानुआतुले फेरि आकस्मिक सामुद्रिक आँधीको विपद् खेप्नु परेको बताए।

यसअघि सन् २०१५ मा आएको पाम नामकरण गरिएको आँधीका कारण भानुआतुमा अन्तर्राष्ट्रिय सहायता परिचालन गर्नु परेको थियो । यसपटकको ह्यारोल्ड आँधीबाट प्रभावितका लागि राहत उपलब्ध गराउनु परेको खण्डमा कोरोनाभाइरस पनि सँगै भानुआतु भित्रिने आशंका स्थानीय अधिकारीमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *