तेस्रो देशबाट जुम्लामा आएका २ सय ५३ को स्वाब सङ्कलन गरिने

डिसी नेपाल
२४ चैत २०७६ १९:०२

काठमाडौं । भारत तथा तेस्रो मुलुकबाट आएका २ सय ५३ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिने भएको छ । यहाँको एक नगरपालिका र सात गाउँपालिकाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेका व्यक्तिको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार पातारासीका २९, गुठीचौरका २२, चन्दननाथका २८, तातोपानीका १३ र तिलाका १७ को कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्न थालिएको प्रजिअ दुर्गा बञ्जाडेले जानकारी दिइन् ।

त्यसैगरी हिमाका ४५, कनकासुन्दरीका ४७ र सिञ्जा गाउँपालिकाका ५२ जनाको स्वाब सङ्कलन गर्न थालिएको हो । सङ्घीय सरकारअन्तर्गतको कोभिड–१९ सङ्कट व्यवस्थापन अप्रेशनको हेलिकोप्टरमा घुम्ती मेडिकल टोली आएर यही चैत २५ गते स्वाब सङ्कलन गर्ने तयारी गरिएको उनले बताइन् ।

कोरोना भाइरस परीक्षणका लागि स्वाब सङ्कलन गर्न जुम्लामा तीन स्थान तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पातारासी, गुठीचौर, तातोपानी, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाका लागि जुम्ला विमानस्थलमा स्थान तोकिएको छ भने हिमा गाउँपालिकाका लागि देवारगाउँ खेलमैदान र कनकासुन्दरी तथा सिञ्जा गाउँपालिकाका लागि लासीपाटन चौरमा स्वाब सङ्कलन स्थान तोकिएको जनाइएको छ ।

प्रजिअ बञ्जाडेले भनिन्, “भारत र तेस्रो मुलुकबाट भित्रिने सङ्ख्या धेरै भएकाले कोभिड–१९ का विषयमा जुम्ला उच्च जोखिममा छ भन्ने कुरा पटकपटक केन्द्रीय सरकारसँग जानकारी गरेपछि नेपालको परिवेशमा जुम्लालगायत अछाम र डोटीमा स्वाब सङ्कलनका लागि पहिलो प्रथामिकतामा परेका हुन् ।” जुम्लाबाट पहिलोपटक तीनजनाको स्वाब परीक्षणका लागि काठमाडौँ पठाएकामा सबै प्रतिवेदन कोरोना नेगेटिभ आएको थियो भने दोस्रोपटक जुम्लाबाट कर्णाली प्रदेश अस्पतालमा छजनाको स्वाब पठाए पनि प्रतिवेदन नआएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले बताए ।

प्रजिअ बञ्जाडेका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको आज कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको उपस्थितिमा बैठक बसेको थियो । यसअघि कोभिड–१९ विरुद्ध गरेका कामका विषयमा समीक्षा गर्दै अब लकडाउन थप कडा गर्ने तयारी भएको छ । बिरामी बोक्ने यहाँका आठै स्थानीय तहमा सवारीसाधनको व्यवस्थापन गरिएको छ भने कोरोना सङ्क्रमित बिरामी बोक्ने छुट्टै एम्बुलेन्सको व्यवस्थापन गरेको उनले बताताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *