पहिले डाक्टर थिए, अहिले प्रधानमन्त्री छन्, कोरोनाभाइरस रोक्न फेरि डाक्टरीमै फर्कदैछन्

डिसी नेपाल
२५ चैत २०७६ ९:२७

काठमाडौं। आयरल्याण्डका प्रधानमन्त्री लियो भारादकर पहिले डाक्टर थिए । पछि उनी राजनीतिमा आए र अहिले आयरल्याण्डका प्रधानमन्त्री बनेका छन् । अहिले देशमा कोरोनाभाइरसको प्रकोप बढ्दै गएपछि प्रधानमन्त्री भारादकरले पुनः डाक्टरीमै फर्किने निर्णय गरेका छन् ।

देशको स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक हेल्थ सर्भिस एक्जिक्युटिभले मार्च १७ मा अहिले स्वास्थ्य सेवामा सक्रिय नरहेका तर स्वास्थ्य सेवामा विशेषज्ञता हासिल गरेका देशका सबै नागरिकलाई स्वास्थ्य सेवामा फर्किन अपिल गरेको थियो । उसले देशमा थप स्वास्थ्य सेवाका दक्ष जनशक्ति आवश्यक पर्न सक्ने भन्दै सबै स्वास्थ्य विशेषज्ञलाई दर्ता हुन आह्वान गरेको थियो । अवकाशप्राप्त स्वास्थ्य विशेषज्ञका लागि स्वास्थ्य सेवा क्षेत्रका विद्याथीृहरुलाई पनि अगाडि आउन आह्वान गरिएको थियो ।

एचएसइको घोषणाको तीन दिनमै आयरल्याण्डका नेताहरुसहित ५० हजार स्वास्थ्य विशेषज्ञहरु दर्ता भएका थिए । प्रधानमन्त्री भारादकर आफ्ना अभिभावक, दिदीबहिनी र श्रीमतीसँगै स्वास्थ्य सेवामा खटिनेछन् । प्रधानमन्त्री भारादकरको परिवारका यी सबै सदस्य स्वास्थ्य विशेषज्ञ भएको टाइमको समाचारमा उल्लेख छ । राजनीतिमा आउनुअघि भारादकरले डब्लिनमा डाक्टरको रुपमा ७ वर्ष सेवा गरेका थिए । आयरल्याण्डको स्वास्थ्य मन्त्री बन्नुभन्दा १ वर्षअघि २०१३ मा भारादकरले आयरल्याण्डको मेडिकल रजिस्टरबाट विदा लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *