म्याग्दीमा सडकमै लगाइयो भोटेताल्चा

डिसी नेपाल
२५ चैत २०७६ ९:५४

म्याग्दी । म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मूल सडकमै स्थानीय जनप्रतिनिधिको रोहबरमा स्थानीयवासीले भोटेताल्चा लगाएका छन्।

कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट जोगिन मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा सडकमा नै ताल्चा लगाएर स्थानीयवासीले आवतजावतमा रोक लगाएका हुन्।

आपत्कालीनबाहेक आवतजावत बन्द गरिएको मालिका गाउँपालिका–६ दरबाङका वडाध्यक्ष सन्तनाथ सुवेदीले बताए।

लुकीछिपी आवतजावत बढेपछि म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरबाङबजार नजिकै छ्यारछ्यारेमा फलामेबार राखेर ताल्चा लगाइएको उनले जानकारी दिए ।

पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकासँगै छिमेकी बागलुङ र रुकुम जिल्लाबाट आवतजावत नरोकिएपछि आसन्न खतराबाट बच्न सडकमै ताल्चा लगाएर बन्द गर्नुपरेको अध्यक्ष सुवेदीले बताए ।

मालिकासँगै बागलुङको तमान, लाम्मेला र रुकुमबाट समेत मान्छेहरु आउन थालेकाले बाध्य भएर सडकमा कडाइ गर्नुपरेको दरबाङका समाजसेवी गोपाल रेग्मीले बताए । बेनी–दरबाङ सडकमा तगारो लगाइएसँगै युवाहरुले नियमित गस्तीसमेत गरिने रेग्मीले जानकारी दिए ।

वडाध्यक्ष सुवेदीका अनुसार एक गाउँबाट अर्को गाउँ जावतजावतमा थप कडाइ गर्ने गरी प्रहरीसहित छ युवा खटाइएको छ।

छिमेकी जिल्लाका कारण दरबाङसमेत जोखिममा परेपछि स्थानीयवासीले बिरामी र अत्यावश्यक परेकालाई सहज हुने गरी वडाध्यक्ष सुवेदी, इलाका प्रहरी कार्यालय र लायन्स क्लब अफ दरबाङका पूर्वअध्यक्ष हीरा पुनलाई साँचो दिइएको छ।

सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा प्रवेशमा रोक लगाउने निर्णयसँगै म्याग्दीका स्थानीय तहले समेत कडाइ गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *