र्‍यापिड टेष्ट किटसहित स्वास्थ्यकर्मी बागलुङमा

डिसी नेपाल
२७ चैत २०७६ १०:१८

बागलुङ । नेपाल सरकारले बागलुङ जिल्लामा कोरोनाको उच्च जोखिम बढेपछि कोरोनाको द्रुत परीक्षण (र्यापिड टेष्ट) गर्ने निर्णय गरेको चौथो दिन मात्रै स्वास्थ्य मन्त्रालयको टोली बागलुङ आइपुगेको छ।

मन्त्रालयमा कार्यरत वरिष्ठ मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेल नेतृत्वको टोली बुधबार साँझ धौलागिरि अञ्चल अस्पताल आएको अस्पतालले जनाएको छ। टोलीमा प्राविधिक किशोर पाण्डे सहभागी छन्।

स्वास्थ्य मन्त्रालयको टोली जिल्लामा एक हजार जनाको द्रुत परीक्षण गर्ने किटसहित आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीसँगै दुई थान भेन्टिलेटर, १०० थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई), एक हजार थान मास्क र एक हजार थान र्यापिड टेष्टका लागि प्रयोग हुने किट लगायतका सामग्री पठाएको छ।

टोलीले बिहीबार परीक्षणबारे ल्याबमा कार्यरत स्वास्थ्यकर्मीलाई जानकारी दिएपश्चात परीक्षण शुरु गर्ने तयारी छ।

सरकारले जिल्लामा रहेका दुई सङ्क्रमित, तिनका परिवार, सम्पर्कमा रहेका र अन्य विदेशबाट आएका शङ्कास्पद ९०० भन्दा बढीको परीक्षण गर्ने गरी बागलुङमा र्यापिड टेष्ट गर्ने निर्णय गरेको थियो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *