कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना

डिसी नेपाल
२७ चैत २०७६ १२:३९

पोखरा । कास्कीमा क्वारेन्टाइनमा बसेका ३६ जना समयावधि पूरा गरेर घर फर्किएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

उनीहरु कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि आआफ्नो घर पठाइएको हो ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले कास्कीका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकाहरुमा १४ दिनसम्म कोरोनाको कुनै सङ्क्रमण नदेखिएपछि घर पठाइएको जानकारी दिए ।

क्वारेन्टाइनमा बसेकाहरु कतार, भारत, बंगलादेशलगायत देशबाट आएका थिए । तीमध्ये पोखराको मालेपाटनस्थित कृषि तालीम केन्द्रमा १६ र रुपा गाउँपालिकाको क्वारेन्टाइनमा २० जना राखिएको थियो।

अन्नपूर्ण गाउँपालिकामा होम क्वारेन्टाइनमा बसेकाहरुमा पनि हालसम्म कोरोना संक्रमण देखिएको छैन। चौध दिनपछि घर पठाइएकाहरुलाई पनि थप एक हप्ता होम क्वारेन्टाइनमा बस्न भनिएको डा शर्माले बताए । अहिले कास्कीका सबै क्वारेन्टाइन रिक्त छन्।

पछिल्लो तथ्याङ्कानुसार गण्डकी प्रदेशमा कुल २५१ नमूना सङ्कलन भएको छ जसमध्ये १३५ नमूनाको परीक्षण नेगेटिभ आएको छ।

दुई पोजेटिभ आएको छ। एक सय २२ नतिजा आउन बाँकी छ। त्यसैगरी हेल्लो डाक्टर १०९२ कार्यक्रममा ५०२ जनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। रासस




प्रतिक्रिया

One thought on “कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना

Leave a Reply

Your email address will not be published. Required fields are marked *