झण्डावाला गाडीमा गैरकानुनी धन्दा, हैसियत कुटनैतिक काम आपराधिक

डिसी नेपाल
२८ चैत २०७६ ७:११

संविधानसभाको पहिलो कार्यकालको समयमा राजेन्द्र खेतान नेकपा मालेको तर्फबाट संविधानसभामा समानुपातिक सभासदमा मनोनयन भएपछि पनि उनी डिप्लोम्याटिक प्लेटको गाडी र झण्डासहित संविधानसभा भवनमा जाने आउने गर्थे।

त्यस बेला न कुनै सांसदले वा सभामुखले प्रश्न उठाए, न नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री वा परराष्ट्र मन्त्रालयले प्रश्न उठाए। तर, अग्रज नेपाली समुदायका बौद्धिक व्यक्ति र संचारमाध्यमले धेरै नकारात्मक टिकाटिप्पणी गरेका थिए।

विदेशीको अवैतनिक दूतको सपथ खाएका व्यक्ति कसरी नेपाली संविधानसभा सदस्यको सपथ खाएर काम गर्न मिल्छ भनेर धेरै प्रश्न उठेको थियो।

त्यसको नेपाल सरकारले खासै वास्ता गरेको वा त्यस उपर कुनै कारवाहीको आवश्यकता महशुस गरेको थाहा पाइएन। मलाइ के थाहा छ भने नुरप्रताप राणालाई अफगानिस्तानले नेपालका लागि अवैतानिक दूत बसिदिन आग्रह गर्दा नेपाल सरकारले सहमति प्रदान गर्ने सिलसिलामा नुरप्रतापसँग त्यो बेलाका परराष्ट्रमन्त्रीले राम्रै लाभ प्राप्त गरेर सहमति प्रदान गरेको चर्चा सुनिएको थियो।

त्यसो त धेरैजसो व्यापारीहरुले प्राप्त गर्ने अवैतनिक दूतका विषयमा सहमति दिने विषय नेपाल सरकार प्रधानमन्त्री वा परराष्ट्रमन्त्रीको आयआर्जनको स्रोत वा व्यापारका रुपमा पनि चर्चा सुनिएको हो।

राजश्व छलेका, गैरकानुनी आयआर्जन गरेका, धन सम्पत्तिको गैरकानुनी सप्लाई र प्रयोग समेतका आधारमा जसरी भएपनि यस्तो हैसियत प्राप्ति गर्ने र शानसँग डिप्लोम्याटिक नीलो प्लेट र झण्डा, भन्सार फ्रिको संसारभरीको महंगो गाडी चढ्ने र गाडीको दुरुपयोग वा गैरकानुनी काममा त्यस्तो गाडीको प्रयोग गर्ने नेपाली व्यापारी घरानाको संस्कार नै बनिसकेको छ।

यसरी हेर्दा उपयुक्त भन्दा अनुपयुक्त व्यक्तिले गलत मनसाय र गलत प्रयोजनका लागि यसरी विदेशी दूतको जिम्मेवारी प्राप्त गर्ने र वर्षमा एक दुई पटक उच्चपदस्थ सरकारी व्यक्तिलाई डिनर खुवाउने, पिलाउने, निकटस्थ कर्मचारीलाई आफ्नो प्रभावमा पार्ने, मुलुकका उच्च ओहोदाका व्यक्तिलाई विदेश सयर गराउने र डिप्लोम्याटिक प्लेट र झण्डाको मोटरभित्र अनैतिक धन्धाहरु चलाउने, ओसार पसारमा प्रयोग गरिने संस्कारजस्तै बन्दै गएको बुझ्न सकिन्छ । यस्तै अहिले  शंकर ग्रुपका मालिकको रुपमा बजारमा चर्चा छ।

अहिलेको यो प्रकरण खुलासा भएर मात्रै यति धेरै चर्चामा आएको हो। भित्रभित्रै भइरहेका तर चर्चामा नभएका यस्ता कैयौं ‘सेटिङहरु’ थिए होलान् जो सर्वसम्मतिमा भित्रभित्रै चले, सकिए र लुकाइए।

अहिलेको यो प्रकरण त कसैलाई चित्त नबुझ्दा र अनुकूल नहुँदा खुलासा भएको मात्रै हो। प्रायःजसो सबै व्यापारीहरुले यसरी प्राप्त गरेको हैसियतको कुनै न कुनै हिसाबले दुरुपयोग नै गरेका हुन्छन्।

यसरी सरकारले अवैतनिक विदेशी दूतको इजाजत प्रदान गर्दा स्वतन्त्र वौद्धिक वर्गका वरिष्ठ व्यक्तिहरु, जो सामाजिक अभियन्त, समाज, राष्ट्र, कानुन, आदर सम्मानको पालना गर्न सक्ने व्यक्ति हेरेरमात्रै सहमति प्रदान गरिनुपर्ने हो ।

तर, जथाभावी व्यापारीहरुलाई लाभको आधारमा सहमति प्रदान गरिनुबाट यो हैसियतको सदुपयोग हुने अपेक्षा गर्न सकिन्न ।

लेखक : जगदीश दाहाल

त्यस्तो दूत बन्ने अवसर पाउने कतिपय इमान्दार र राम्रा मान्छेहरु पनि होलन् तर ती सबैलाई केही खराब व्यक्तिका कारण एउटै नजरले हेरिनुबाट त्यस्ता इमान्दार र असल मान्छे मर्कामा त परे नै, त्यसभन्दा माथि यसरी विदेशीद्वारा प्राप्त हुने दूतको जिम्मेवारी समग्रमा आलोच्य हुनु राम्रो भएन।

शंकर ग्रुपका अध्यक्ष सुलभ अग्रवालजस्ता अन्य कति छन् विदेशी दूत? एउटै परिवारका तीन जनासम्म पनि विदेशी अवैतानिक दूत भएका दृष्टान्त छन्। चौधरी परिवारमा कुनै न कुनै मुलुकका प्रतिनिधि दूतको रुपमा दाजु–भाइ बाबु–छोरा सबै छन्।

त्यस्तै खेतानमा पनि छन्, गोल्छामा छन् र अग्रवालमा पनि छन्। संघाइमा पनि होलान्। उपत्यकाबासी नेवारी समुदायका व्यापारीमा पनि होलान्। पञ्चकन्या समूहमा पनि होलान्। ज्योति ग्रुपमा छन्।

प्रायः व्यापारीहरुले शितल निवाससँगको पहुँचका लागि, बालुवाटारसम्मको सहज पहुँच, सिंहदरबारसम्मको सहज पहुँच होस् चाहे दिल्ली, वाशिंटन, टोकियोसम्मको सहज पहुँचका लागि कुनै न कुनै मुलुकको दूत प्राप्तिको लागि हरसम्भव प्रयास गर्छन् ।

राजश्व छलेका, गैरकानुनी आयआर्जन गरेका, धन सम्पत्तिको गैरकानुनी सप्लाई र प्रयोग समेतका आधारमा जसरी भएपनि यस्तो हैसियत प्राप्ति गर्ने र शानसँग डिप्लोम्याटिक नीलो प्लेट र झण्डा, भन्सार फ्रिको संसारभरीको महंगो गाडी चढ्ने र गाडीको दुरुपयोग वा गैरकानुनी काममा त्यस्तो गाडीको प्रयोग गर्ने नेपाली व्यापारी घरानाको संस्कार नै बनिसकेको छ।

ढिलै भएपनि आज सरकारले कमसेकम नीलो प्लेट हटाइदिने वा राख्न नपाइने निर्णय गरेको छ। अझ सरकारले थप एउटा गर्नु पर्ने काम के हो भने यसरी विदेशी दूतको जिम्मेवारी पाउने नेपाली जो कोहीले आफूले दूतको रुपमा चढ्ने र प्रयोग गर्ने गाडीमा के नामको व्यक्तिले गाडी चढ्ने र कुन मुलुकको दूत हो, भन्सार सुविधाको गाडी हो भने सो कुरा उल्लेख गरेर गाडीको छेउमा लेखेर मात्रै गाडी चलाउन पाउनु पर्ने नियम बनाउनुपर्छ।

जसरी पर्यटन व्यवसायीले कुन पर्यटन उद्योगको गाडी हो भन्ने कुरा गाडीको साइडमा लेखेको हुन्छ, त्यसैगरी यिनीहरुले चढ्ने गाडीमा पनि भन्सार सहुलियतमा फलानो मुलुकको दुतले चढ्ने गाडी भनेर लेखिनु आवश्यक छ।

यसरी विदेशीदूत प्राप्त गर्नेले नेपाली जनता र नेपालको आर्थिक विकास, सामाजिक विकास र दुईदेशको पारस्परिक हितमा कति योगदान पुर्र्याएको वा पुर्याउने कोशिश गरिरहेको छ भन्ने कुराको समेत वार्षिक मूल्याकंन हुनु पर्छ ।

आर्थिक व्यापारिक र शैक्षिक हिसाबले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि कति काम गरेको छ ? त्यसको मूल्याकंन गरी निरन्तरता दिन वा इजाजत निरन्तरता नदिने सम्बन्धमा सरकारले बेला खबतमा निर्णय लिनु आवश्यक हुन्छ ।

यस्ता विषयमा मुलुकको गोपनीयता, मुलुकको हितसमेतलाई ध्यानमा राखेर परराष्ट्र मन्त्रालयले विदेशीको दूत हुन नेपाली नागरिकले पूरा गर्नुपर्ने मापदण्ड, योग्यता, अयोग्यता र पालना गर्नुपर्ने कुराको समष्टिगत रुपमा छर्लंग हुने गरी अनिवार्य पालना गर्नुपर्ने गरी निर्देशिका जारी गर्नु जरुरी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *