एटिएमबाट निःशुल्क चामल !

डिसी नेपाल
२ वैशाख २०७७ १०:२१

काठमाडौं। एटिएमबाट पैसा निस्किन्छ भन्ने त हामीलाई थाहा छ तर एटिएमबाट चामल ? सुन्दा नै अनौठो लाग्छ । भियतनाममा भने यस्ता एटिएम मेसिन जडान गरिएका छन् जहाँबाट अत्यन्तै आवश्यक व्यक्तिहरुको लागि निःशुल्क चामल निस्किन्छ । सीएनएनका अनुसार कोरोनाभाइरसको महामारीका बेला यहाँ यस्तो व्यवस्था गरिएको हो ।

भियतनाममा संक्रमितको संख्या २६५ पुगेको छ । यहाँ कसैको मृत्यु भने भएको छैन । बाँकी विश्वको तुलनामा यो संख्या न्यून हो । तर, भविष्यमा महामारी फैलिने जोखिमलाई मध्यनजर गर्दै यहाँको सरकारले सामाजिक दूरीको निर्देशन जारी गरिसकेको छ । यहाँ कैयौं व्यवसाय बन्द गराइसकिएको छ र हजारौंको संख्यामा कामदारहरुका काम रोकिएका छन् ।

भियतनामका कैयौं शहरहरुमा व्यवसायी र दाताहरुले यस्ता मेसिन जडान गरेका छन् जहाँबाट एक्कासी काम बन्द भएर समस्यामा परेका व्यक्तिहरुका लागि निःशुल्क चामल निस्किन्छ । राजधानी हनोइमा ठूलो पानीको ट्यांकीमा चामल राखिएको छ र यहाँबाट बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चामल निस्किन्छ जसलाई स्थानीयले झोलामा भरेर लैजान्छन् ।

चामल लिनका लागि लाइनमा बस्नेहरु एक अर्कासँग ६ फिटको दूरीमा उभिनुपर्छ । चामल लिनुभन्दा पहिले उनीहरुले अनिवार्य स्यानिटाइजरले हात धुनुपर्छ । स्थानीय अखबार हनोइ टाइम्समा अनुसार हुए शहरमा रहेको एटिएमले प्रत्येक दिन एक परिवारको लागि २ किलो चामल दिन्छ । हो चि मिन्ह शहरमा रहेको एटिएमले सातै दिन चौबीसै घण्टा चामल दिन्छ । डा नाङ शहरमा अर्को हप्ता २ वटा चामल एटिएम मेसिन जडान गरिँदैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *