ट्रम्पले २२ हजार जनाको मृत्युलाई बेवास्ता गर्दै आफ्नै प्रशंशा गरे

डिसी नेपाल
२ वैशाख २०७७ ११:४६

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा कोरोनाभाइरसका कारण २२ हजार १२९ जनाको मृत्यु भएको विषयलाई बेवास्ता गर्दै आफूले कोरोनाभाइरस फैलिन नदिन उल्लेखनीय काम गरेको भन्दै आफ्नै प्रशंशा गरेका छन् । ह्वाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा उनले ह्वाइट हाउसले बनाएको अभियान स्टाइलको भिडियो देखाएका थिए । राष्ट्रपति ट्रम्पले न्यूयोर्क टाइम्स लगायतका मिडियाहरुलाई समेत आफ्नो सरकारले गरेको प्रयासको बारेमा प्रश्न उठाएको भन्दै लज्जित बनाउने प्रयास समेत गरे ।

ट्रम्पले देशका प्रमुख स्वास्थ्य विशेषज्ञ एन्थोनी फाउसीलाई जिम्मेवारीबाट हटाउने भन्ने कुरामा सत्यता नभएको बताए । उनले देशको आर्थिक क्रियाकलाप ठप्प भएकोले देशलाई फेरि खोल्ने विषयमा छिटै निर्णय गरिने पनि बताए । ट्रम्पले मिडिया रिपोर्टरहरुलाई देखाएको भिडियोमा कोरोनाभाइरसको जोखिमलाई सुरुदेखि नै मिडियाले कम गरेर देखाएको आरोपसमेत लगाइएको छ । भिडियोमा मिडियाले जोखिम कम भएको भनिरहँदा ट्रम्प प्रशासनले भने सुरुदेखि नै आवश्यक निर्णय गरेको दावी गरिएको छ ।

ह्वाइट हाउसका सोसल मिडिया डाइरेक्टर ड्या स्क्याभिनोले तयार पारेको बताइएको यो भिडियोमा न्यूयोर्क टाइम्सका रिपोर्टर म्यागी हबरम्यानले आफूलाई चीन यात्रामा प्रतिबन्ध लगाइनुले सम्भवतः भाइरस फैलिन रोक्न प्रभावकारी काम गरेको भनेको अडियो पनि समावेश गरिएको छ । यसमा डेमोक्र्याटहरु गेभिन न्यूसम र एन्ड्रयु कुमोसहितका गभर्नरहरुले यो संकटमा ट्रम्प प्रशासनको नेतृत्वको प्रशंशा गरेका क्लिपहरु पनि समावेश गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *