विषम परिस्थितिमा सबैले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ

डिसी नेपाल
८ वैशाख २०७७ १४:२४

गत वर्ष हेल्प नेपालले स्थापनाको २०औं वार्षिकोत्सव मनायो। २० वर्षदेखि हामीले शिक्षा र स्वास्थ्यको क्षेत्रमा धेरै काम गर्यौं। स–साना स्कुल निर्माणदेखि दुर्गम ठाउँमा स्वास्थ्य चौकी स्थापना गर्नेसम्मका काम भए।

त्यस बाहेक २००६ मा इ–लाइब्रेरीको कन्सेप्ट नेपालमा भित्र्याउँदै विभिन्न विद्यालयहरूमा इ–लाइब्रेरीको स्थापनाको प्रारम्भ पनि हेल्प नेपालले नै गरेको हो।

त्यसपछि अहिलेसम्म ५०औं इ–लाइब्रेरी बनिसकेका छन्। यसरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दागर्दै २०७२ सालमा शक्तिशाली भूकम्पको सामना गर्नुपर्यो। त्यो बेला हामीलाई निकै ठूलो चुनौती थियो।

हेल्प नेपालका सक्रिय सदस्यहरु नै घाइते हुनु भएको थियो, मेरो आफ्नै खुट्टा फ्याक्चर भएको थियो भने उपाध्यक्षको घर भत्किएर उहाँको बहिनीको निधन नै भएको थियो।

त्यस्तो अवस्थामा पनि भूकम्प गएको भोलिपल्टदेखि नै हामीले सेवाको काम गर्यौं। त्यो राहतको काम, अस्थायी टहराका कुराहरु भए, हामीले त्यो बेला थुप्रै कामहरु गर्यौं। अहिले पनि हामी भूकम्पबाट प्रभावित स्कुलहरु बनाउने क्रममा छौं।

एक दुई वटा ठूला स्कुल बनाउने क्रम अहिलेपनि जारी छ। निर्माणकै क्रममा छन्। भूकम्प पुनर्निमाण प्राधिकरणबाट त्यसको पुनः म्याद थपको स्वीकृति लिइसकेका छौं, तर अहिले काम रोकिइरहेको छ।

नेपालीलाई सहभागी गराएर अझै ठूला काम गर्ने हाम्रो लक्ष्य छ। यो अभियानले नेपालीहरुमा हामीले देशका लागि केही गर्नुपर्छ भन्ने भावना जागृत भएको हामीले पाएका छौं।

अहिले पनि हामी सामाजिक काममा सक्रिय नै छौं । दुई महिना अगाडि हामीले गोरखामा स्वास्थ्य शिविर राखेका थियौं । यस्ता गाउँगाउँका जनजनसँग जोडिएका काम निरन्तर भइरहेका छन्।

धुलिखेलमा हाम्रो एउटा राम्रो बाल आश्रय छ, त्यहाँ २२ जना बालिकाहरु छन्, उनीहरुले राम्रो अध्ययन पनि गरिरहेका छन्। त्यो हाम्रो आफ्नै भवनमा संचालित छ। यी कामहरु हुँदाहुँदै अहिले हामीले फेरि यो कोरोना भाइरस (कोविड–१९) विरुद्ध पनि काम गर्न सुरु गरेका छौं।

जनकपुरमा खास ठाउँमा राहत वितरणको काम हुँदैछ। असहाय, बाहिरबाट र टाढाबाट आएका मानिसहरुलाई खाद्यान्न वितरण गर्ने काम गरेका छौं। त्यस्तै पर्साको एउटा दुर्गम ठाउँमा पनि राहत वितरण गर्ने कुरा भइरहेको छ। त्यो काम चाँडै सुरु हुनेछ।

मुलतः हाम्रो संस्थामा समाजसेवाका लागि बाहिरबाटै पैसा उठ्ने हो। नेपाल बाहिर हाम्रो नारा नै ‘महिनाको एक डलर नेपालका लागि’ भन्ने छ। विशेष गरी बाहिर बस्ने साथीहरुले नै नेपालका लागि पैसा उठाउने र हामीले यहाँ कार्यान्वयन गर्ने हो। त्यो मात्रै नभएर हामीले पनि यहाँ काम गरिरहेका छौं।

गएको महिनामात्रै हामीले भृकुटी मण्डपमा केही स्कुलको सहयोगार्थ ठूलो सांगीतिक कार्यक्रमको आयोजना गरेका थियौं। त्यो कार्यक्रमले निकै राम्रो सफलता पनि प्राप्त गरेको थियो।

यतिबेला हामी, कोरोना भाइरस (कोविड–१९) विरुद्ध डाक्टरहरुलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)को एकदमै अभाव रहेको र त्यो खरिद गर्न बजारमा गुणस्तरीय सामग्री नपाइने, दाताले दिएको समग्री प्रयोग नगरिएको र त्यो खरिद गर्ने दक्षता हामीमा नभएका कारण पनि नेपालमा सबैभन्दा धेरै डाक्टरहरु संलग्न रहेको नेपाल चिकित्सक संघलाई पाँच लाख हस्तान्तरण गरेका छौं।

यो विषम परिस्थितिमा यो सानो रकम हो। हामीले त्यो भन्दा धेरै सहयोग गर्न सक्थ्यौं। तर, देश विदेशमा उठाउने साथीहरुनै अहिले लकडाउनमा हुनुहुन्छ। र सक्रियता देखाउनसक्ने अवस्थामा हुनुुहुन्न।

तै पनि मुलुकले व्यहोरेको यस्तो विषम परिस्थितिमा हाम्रो पनि संलग्नता हुनुपर्छ भनेर पाँच लाख रुपैयाँ हस्तान्तरण गरेका हौं। अब उहाँहरुले जहाँ जहाँ स्वास्थ्य सामग्रीको आवश्यता छ त्यहाँ वितरण गर्नुहुन्छ। विशेष गरी सुदूरपश्चिम, पश्चिम र जहाँ उहाँहरुले आवश्यकता देख्नुहुन्छ, त्यहाँ वितरण गर्नुहुन्छ।

सधैं समाजका लागि नै काम गर्दै आएको हेल्प नेपालले यस्ता कामहरु निरन्तर गर्दै जानेछ। नेपालका लागि नेपालीले नै केही गर्ने हो । र गर्न सक्छौँ पनि । चाहे विदेशमा भएका नेपाली हुन् वा नेपालभित्रै रहेका नेपाली हुन्, हामीले एउटा सांकेतिक रुपमा सारा नेपालीलाई प्रेरणा मिलोस् भन्नका खातिर यो अभियान सुरु गरेका छौं।

हामीले सन् २००० मा ६० हजार रुपैयाँबाट यो अभियान सुरु गरेका थियौं। त्यसरी सुरु गरिएको काम अहिले धेरै कामहरु सम्पन्न भइसकेका छन्। एउटा स्कुल पाँच करोडको लागतमा बनेको छ। स्वास्थ्य चौकी बनेका छन्, अझै धेरै काम गर्न बाँकी छ। जुन उद्देश्यले हामीले हेल्प नेपाल नेटवर्कको स्थापना गरेका हौं, हालसम्मको स्थिति हेर्दा त्यसमा हामी सफल भएका छौं।

यसलाई व्यापक र विस्तृत गरेर धेरै नेपालीलाई सहभागी गराएर अझै ठूला काम गर्ने हाम्रो लक्ष्य छ। यो अभियानले नेपालीहरुमा हामीले देशका लागि केही गर्नुपर्छ भन्ने भावना जागृत भएको हामीले पाएका छौं।

जुन संस्थाले राम्रो गर्छ त्यो संस्थालाई सबैले सहयोग गर्नुपर्छ। नेपालभित्र रहेका पैसा भएका नेपालीमा सामाजिक काममा सहयोग गर्नुपर्छ भन्ने संस्कार विकास पनि भएको छ। नेपालभित्रै पनि धेरै पैसा उठिरहेको छ। अहिले मुलुकमा विषय परिस्थिति छ।

यस्तो अवस्थामा आफ्नो ठाउँबाट सबैले सहयोग गर्यौं। सानो सहयोगले पनि यस्तो बेलामा ठूलो काम गर्छ। राज्यले गर्ने काम गरिरहेकै छ, हामी नागरिकले पनि आफ्नो कर्तव्य र दायित्व निर्वाह गर्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *