नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश !

डिसी नेपाल
१० वैशाख २०७७ १२:०३

काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको संक्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’मा प्रवेश गरेको कान्तिपुर दैनिकले समाचार लेखेको छ ।

भुल्केको नुरी मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ र विराटनगर–१७ का एकजनामा गत शुक्रबार नै कोरोना संक्रमण रहेको पुष्टि भइसकेको थियो भने विराटनगरका थप एकजनामा शनिबार संक्रमण भेटिएको थियो। यस्तै, मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी कुल ६९ जनाको थ्रोट स्वाबको नमूना शनिबार संकलन गरिएकोमा ८ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

स्वास्थ्य मन्त्रालयले मंगलबार मात्रै थप ११ जनामा संक्रमण पुष्टि गर्दै संक्रमितको कुल संख्या ४२ पुगेको जनाएको छ। सुरुमा कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको र ८ जनामा कोरोना संक्रमण देखिएको थियो भने एकजनाको रिपोर्ट आउन बाँकी नै थियो। यस्तोमा पोजिटिभ देखिएका ८ जनालाई भुल्केबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर परीक्षण गर्दा पनि रिपोर्ट पोजिटिभ नै आएको हो। साथै, मंगलबार नै भुल्केकै तीनजनाको काठमाडौंमा परिक्षण गर्दा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

नेपाली सेनाको चिकित्सकीय टोलीले आइतबार २५१ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याएकोमा हालसम्म भएको परिक्षणमा तीनजनाको रिपोर्ट पोजिटिभ आएको हो। योसँगै उदयपुरमा मात्रै संक्रमितको संख्या २४ पुगेको छ। मस्जिदमा बसेकाहरु गाउँबस्तीका बासिन्दाको सम्पर्कमा आएको हुनसक्ने भन्दै गाउँलेको नमुना संकलन गरेर परीक्षण गर्दा ११ जनामा पोजिटिभ देखिएको हो। उदयपुरमा समुदायमै संक्रमण देखिएसँगै विज्ञले नेपालमा कोरोना संक्रमणको तेस्रो चरण देखिएको संकेत गरेका हुन्।

वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार विदेशबाट आएका व्यक्तिमा मात्र देखिनु पहिलो चरण हो भने उनीहरुको आफन्त तथा छिमेकीमा सर्नुलाई दोस्रो चरण भनिन्छ। त्यसैरी समुदायमा नै फैलिनु तेस्रो चरण हो। उनको अनुसार नेपालमा तेस्रो चरण आउनु भनेको खतराको घण्टी हो। संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले पनि उदयपुरमा देखिएका संक्रमितहरुको संख्याले नेपालमा भाइरसको संक्रमण समुदाय स्तरमै पुगिसकेको पुष्टि हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *