कोरोनाको असरले ल्याउन सक्ने मानसिक समस्या र बच्ने उपाय

डिसी नेपाल
१२ वैशाख २०७७ ८:११

कोरोनाको संक्रमण नफैलियोस भनेर नेपालमा पनि लकडाउन अर्थात बन्दाबन्दी गरिएकोछ। रोगको महामारी हुँदा शारीरिक स्वास्थ्यमा असर पर्ने त हुनेनै भयो। साथै मानसिक स्बास्थ्य समस्याको जोखिम पनि बढेर जान्छ।

शरीर र मन एक अर्काका परिपूरक हुन्। शरिरमा समस्या आउँदा मनमा पनि असर पर्छ। साथै मनमा समस्या आउँदा शरीरिक लक्षण पनि देखिन सक्छन्।  लकडाउनको समयमा सेल्फ क्वारेन्टाइन वा सेल्फ आइसोलेसनमा बस्दा आफ्नो मानसिक स्वास्थ्यमा पनि बिशेष ध्यान पुर्याउनुपर्छ।

अन्यथा आफ्नो मनको स्याहार सुसारमा ख्याल नपुर्याउँदा मनोसामाजिक समस्या वा मनोरोगको जोखिम बढछ।  प्राकृतिक बिपत्ति वा प्रकोप पर्दा, कोरोना भाइरसले रोग ब्याधि फैलिँदा वा मानव सृर्जित ठूला ठूला घटनाले स्वभावैले मनोबैज्ञानिक वा मानसिक रोग समेत बढेर जान्छ।

को‍नोनाको प्रकोप जस्ता घटनाले स्वभावैले मानिसको मनमा चोट पुँर्‍याउछ। मनमा असर देखिन थाल्छन्। यसलाई असहज अबस्थामा देखिने स्वाभाविक प्रतिक्रियाको रुपमा लिइन्छ। धेरैको लागि यस्ता असरहरु अस्थायी हुन्छन्। समय बित्दै गएपछि ढिलो चाँड‍ो प्राय धेरै जसो मानिस आफैं पूर्व अवस्थामा फर्कन सक्छन्। केहीलाइ भने पूर्व अबस्थामा फर्कन गाह्राे हुन सक्छ। विज्ञकाे सहयोग पनि चाहिन सक्छ।

कोरोनाको असरले ल्याउन सक्ने मानसिक स्बास्थ्य समस्या :

१. एन्जाईटी – विभिन्न किसिमका डर – चिन्ता जन्य समस्याहरु ।

२. डिप्रेसन – दिक्दारिपन तथा आत्महत्याको सोचाई वा प्रयास ।

३. मानसिक आघात – पीडादायिक घटना पछि उत्पन्न हुने एक किसिमको मानसिक रोग।

४. प्यानिक अट्याक – एक्कासी बिना कारण उत्पन्न हुने अत्याधिक त्रास।

५. समायोजनको समस्या – परिस्थितिसँग जुझ्न नसकिरहेको अवस्था।

६. अब्सेसिभ कम्पल्सिभ डिसअडर्स – एउटै सोच वा विचार आइरहने तथा एउटै कार्यलगातार धेरै पटक दोहोर्‍याई रहने मानसिक रोग।

७. जाँड रक्सी, लागु पदार्थको लत।

८. कन्भर्सन डिसअडर्स – डर, त्रास , तनाबको कारणले देखिने मनोवैज्ञानिक समस्या।

९. एक्युट स्टेस डिसअडर्स – तत्कालै देखा पर्ने अन्य तनावजन्य समस्या।

संकटको बेला मनमा पर्ने असर भने ब्यक्ति पिच्छे फरक-फरक हुनसक्छ। कसलाई कति असर पर्छ भन्ने कुरा व्यक्तिको उमेर, लिङ, स्वंय व्यक्तिको शारीरिक, मानसिक अबस्था, व्यक्तित्व, परिस्थितिसँग जुझ्ने ज्ञान, सीप, मानसिक क्षमता, अनुभव, तनाव व्यबस्थापनको तौरतरिका, दैनिक जीवन शैली, ब्यक्तिले प्राप्त गरेको सहयोग जस्ता कुरामा भरपर्छ।

बिपतिको बेला कतिपय मानिसले संयमिता गुमाउन पनि सक्छन। उनीहरुले समस्यासँग जुझ्न गलत उपाय वा तरिका अपनाइ रहेका हुन पनि सक्छन्। नचाहँदा नचाहँदै नकारात्मक क्रियाकलाप गरिरहेका हुनसक्छन्।

बिपत्तिमा सबैले आफूलाई समाल्न सक्छन् भन्ने पनि हुँदैन। उनीहरुलाई सहयोगको जरुरत पर्दछ। प्रकोपको मानसिक असर लामो समयसम्म नरहोस तथा मनोसामाजिक समस्या वा मानसिक रोगको जोखिम नबढोस भन्नका लागि भावनात्मक सहयोगको जरुरत पर्दछ।

बिपत्तिको बेला व्यक्तिको मनमा देखा पर्ने त्रास, भय, छटपटी, मानसिक अशान्ति , नैराश्यता र यसको कारण आउन सक्ने व्यवहारजन्य गडबडीलाई ब्यबस्थापन गर्ने दिइने सबै प्रकारका व्यबहारिक र भावनात्मक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हो। प्राथमिक मनोबैज्ञानिक सहयोग पाउँदा व्यक्तिको मनमा शान्ति, स्थिरता आउँछ। तनाव व्यबस्थापन गर्न सहयोग मिल्छ। दैनिक जीवनमा पर्किन सजिलो हुन्छ।

प्राथमिक मन‍ोवैज्ञानिक सहयोग कसरी गर्ने ?

१ कोरोनाको संक्रमण र यसबाट बच्ने उपायबारे भरपर्दो, सत्य तथ्य सुचना तथा जानकारी गराउने।

२ कोरोनाको अनावश्यक डर त्रास नदेखाउने, सुरक्षाको पुर्ण प्रत्याभुति गराउने।

३. दैनिक आधारभूत आबस्यकता बस्तु परिपूर्ति गर्न सहय‍ोग गर्ने।

४ .अर्काको भवनाको कदर गर्ने, भावनात्मक रुपमा सधैं नजिक रहने।

५. संक्रमणको आशंका गरिएका, आइसोलेसनमा बसेका तथा सेल्फ क्वारेन्टाइनमा रहेकाहरुलाई माया , ममता, सदभाव देखाउने।

६. परिबारबाट टाढा भएकालाई सामाजिक दूरी कायम गर्दै पुनः मिलन गराउन मद्दत गर्ने।

७. ब्यक्तिको दैनिक जिबनलाई सहज र सूजनात्मक बनाउन सहयोग पुर्‍याउने।

८. विषम परिस्थितिमा ब्यक्तिले देखाउन सक्ने नकारात्मक ब्यबहारको ख्याल गर्दै उनीहरुलाई सकारात्मक व्यवहार गर्न हौसला प्रदान गर्ने।

९. पुरानो रोग बल्झिएमा , खाईरहेको अौषधिले काम गर्न छोडेमा चिकित्सकसँग सम्पर्क गराउने।

१०. प्रभावित ब्यक्तिको कुरा ध्यान दिएर सुन्ने, उसलाई आफ्न‍ो मनको कुरा भन्न प्रेरित गर्ने।

११. ब्यक्तिको रुचि अनुसारको कार्यमा सक्रिय गराउने। दैेनिक कार्य सुचारू राख्न सहयोग गर्ने।

१२. मनोवैज्ञानिक समस्या जटिल हुँदै गएमा मनोचिकित्सक, मनोविद वा मनोपरामर्शदातासँग सम्पर्क गराउने।

कोरोनाको संक्रमण बढेको बेला स्वंय व्यक्तिले आफ्न‍ो शारीरिक स्बास्थ्यको ख्याल गर्नुका साथै मनक‍ो स्याहारसुसारमा पनि बिशेष ध्यान दिनु जरुरी हुन्छ। जसलाई स्व हेरचाह भनिन्छ।

आफ्नो मनको स्याहारसुसार कसरी गर्ने ?

१. करोनाको संक्रमणबाट ज‍ोगिन लकडाउनको पूर्ण पालना गर्नुपर्छ। सरसफाइमा ध्यान दिनुपर्छ। सेल्फ क्वारेन्टाइनमा बस्दा र सुरक्षाका उपायहरु अपनाउँदा मन ढुक्क हुन्छ। यसले डर , त्रास, भय, चिन्ता धेरै कम भएर जान्छ। स्बस्थ छु भन्ने आत्मबल बढछ।

२. फुर्सदको बेला मानसिक तनाब नहोस भनेर समय ब्यबस्थापन गर्नु जरुरी हुन्छ। दैनिक कार्य तालिका बनाएर आफ्नो दिन चर्यालाई संतुलित बनाउन सकिन्छ। आफूलाई व्यस्त तथा सक्रिय राख्न सकिन्छ। यसो गर्नाले मनमा कोरोना सम्बन्धि कुरा खेल्न पाउँदैन। नत्र जति बेला पनि कोरोनातिर ध्यान गई त्रास बढन सक्छ।

३. कोरोनाको जोखिमबाट जोखिन सत्य तथ्य जानकारी त लिने तर अति सतर्क हुने, चाहिने भन्दा बढी जानकारी लिन खोज्ने, समचार पटक पटक हेरिरहने जस्ता व्यवहार गर्नु हुँदैन।

४. सामाजिक सञ्जाल, इन्टरनेट चलाएर बस्ने भन्दा आफ्नो रुचिको काम गरेर समय बिताउन सकिन्छ। परिवारसँग कुराकानी गर्ने, खेल खेल्न, किताब पढ्ने, लेख्ने,मनोरञ्जन गर्ने, रमाइला र ज्ञानवर्द्धक फिल्म हेर्ने गर्न सकिन्छ। घरयासी काममा समय दिन सकिन्छ।

५. तनाब कम गर्न शारीरिक ब्यायम, योग, मेडिटेसन, श्वास प्रस्वासको ब्यायम, ध्यान केन्द्रित गर्ने अभ्यास तथा अन्य आरमदायी अभ्यासले ठूलो मद्दत पुर्‍याउँछ। तनाबको बेला पर्याप्त निदाउनु पनि जरुरी हुन्छ।

६. तनाबको बेला सजिलैसँग पच्ने तथा पोषण युक्त आहार खानुपर्छ। जाँडरक्सी तथा लागुपदार्थको सेवनले त झनै समस्या तथा तनाब बढाउँछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *