निको भएका कोरोना संक्रमितको रगत अवैध रुपमा बेचिँदै, मूल्य १९ लाखसम्म असुलिँदै

डिसी नेपाल
२० वैशाख २०७७ १२:१८

काठमाडौं। इन्टरनेटमा अवैध तरिकाले कोरोनाभाइरस संक्रमणपछि निको भएका बिरामीहरुको रगत बिक्री भइरहेको छ । कोरोना संक्रमणको उपचार र भ्याक्सिनको नाममा बिरामीको रगतलाई डार्कनेटमा बेचिँदैछ । अस्ट्रेलियन नेशनल युनिभर्सिटीको रिपोर्टमा यो खुलासा भएको हो । डार्कनेटमा रहेका बिक्रैताहरु फरक फरक देशबाट शिपिङ गरेर विदेशमा डेलिभरी गरिरहेका छन् ।

डेलीमेलको रिपोर्ट अनुसार जिन्दगीभरको लागि कोरोनाबाट इम्युन बनाउने (रोग प्रतिरोधी क्षमता विकास गर्ने) दावी गर्दै कोरोना संक्रमित बिरामीको रगतलाई लाखौं मूल्यमा बेचिँदैछ । यी बिक्रेताहरुले रगतको मूल्य प्रतिलिटर करिब १९ लाख रुपैयाँसम्म राखेका छन् । यस्तो रगतलाई न्यूनतम मूल्य ५७५ अस्ट्रेलियन डलर (४५ हजार रुपैयाँ)देखि बिक्री गर्न सुरु गरिएको छ । चीनबाट ल्याइएको दावी गरिएका केही रगतको मूल्य १५ हजार ३ सय अस्ट्रेलियन डलर (११ लाख ७० हजार नेपाली रुपैयाँ) राखिएको छ । सबैभन्दा महंगो २४ हजार ५९८ अस्ट्रेलियन डलर (१८ लाख ८४ हजार नेपाली रुपैयाँ)मा बिक्री भइरहेको छ ।

रगतको साथमा अवैध रुपमा पीपीइ, मास्क, टेस्ट किट सहित अन्य सामान पनि महंगो मूल्यमा बिक्री भइरहेको छ । अस्ट्रेलियाको नेशनल युनिभर्सिटीको रिपोर्टका अनुसार कम्तीमा १२ फरक फरक डार्कनेट मार्केटमा यी सामान बिक्री भइरहेका छन् । डार्कनेटमा यस्तो दावी गरिएको छ कि विश्वभर कोरोनाको उपचार गरिरहेका डाक्टरहरुको माध्यमबाट पीपीइ र अन्य सामान हासिल गरिएका हुन् । बेच्नेहरु यी सामान अलग अलग देशमा डेलिभरी गर्न पनि तयार छन् । धेरैजसो सामान अमेरिकाबाट अनि केही युरोप, बेलायत र अस्ट्रेलियाबाट शिपिङका लागि उपलब्ध छन् ।

कोरोनाबाट ठिक भइसकेका बिरामीको प्लाज्माबाट अन्य संक्रमितको उपचार गरिएको र उनीहरु ठिक भएको केही रिपोर्टहरु पनि आएका छन् तर प्लाज्मा थेरापीका खतरा पनि छन् र यसबाट मानिसको ज्यानै जान पनि सक्छ । अहिले डाक्टरहरु प्रयोगको रुपमा केही विशेष परिस्थितिमा मात्र यो थेरापी प्रयोग गरिरहेका छन् । मुख्य अनुसन्धानकर्ता रोड ब्रडहर्स्टले महामारीको बेला केही मानिसहरु आपराधिक तरिकाले कमाइको कोसिस गरिरहेको र भविष्यमा यो बढ्न सक्ने बताएका छन् ।

रोड ब्रडहर्स्टले भने ‘हामीले पायौं कि असुरक्षित भ्याक्सिन र एन्टिभाइरल औषधीहरु पनि डार्कनेटमा मानिसहरुलाई बेचिँदैछ । भारी मात्रामा पीपीइको पनि बिक्री भइरहेको छ किनकि बजारमा यसको अभावको स्थिति छ ।’ अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलोजीका डिप्टी डाइरेक्टर रिक ब्राउनले भने ‘यी चीजहरुको बिक्रीबाट मानिसहरुको स्वास्थ्यलाई गम्भीर खतरा छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *