No ads found for this position
No ads found for this position

‘लकडाउन’ले वन्यजन्तुलाई राहत, सरुवा रोगसमेत नियन्त्रण

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२४ वैशाख २०७७ १७:१९
No ads found for this position

जाजरकोट । विगतका वर्षहरुमा सर्वसाधारणको चहलपहल हुने कर्णाली प्रदेशको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा अन्य सामुदायिक वनका पाटनहरु यो पटक सुनसान भएका छन् ।

चोरी, पैठारी नियन्त्रणका लागि चारैतिरका नाकामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिएपछि निकुञ्ज तथा अन्य वन क्षेत्र सुनसान भएका हुन् । त्यस्तै यहाँका सामुदायिक वन समूहमा पनि चलहपहल शून्य भएको छ । यार्सागुम्बा सङ्कलनका लागि विगतमा यहाँ पुग्ने सर्वसाधारण योपटक कोरोना भाइरसबाट जोगिन र जोगाउन भन्दै यार्सागुम्बा सङ्कलन बन्द गरिएपछि निकुञ्ज र समुदायिक वन सुनसान देखिएको छ ।

उपल्लो डोल्पाका चारवटा स्थानीय तहका १५ भन्दा बढी सामुदायिक वन र मुगुको एउटा स्थानीय तहको एक दर्जन पाटनमा यार्सागुम्बा पाइने गर्छ । त्यस्तै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको अधिकांश भागमा यार्सागुम्बा पाइने गरेको छ । सर्वसाधारणको चहलपहल हुने निकुञ्जमा लकडाउन गरिएपछि त्यहाँका जीवजन्तुले लामो समयपछि स्वतन्त्रतासमेत पाएको विज्ञहरुको भनाइ छ ।

मानिसबाट वन्यजन्तुमा र वन्यजन्तुबाट मानिसमा कुनै सङ्क्रमण नसरोस् भनेर १३ वैशाखमा निकुञ्जमा यार्सागुम्बा सङ्कलन कार्य बन्द गरिएको थियो । त्यस्तै जिल्ला विपद् व्यवस्थापन समितिले डोल्पाका सबै स्थानीय तहमा पाइने यार्सागुम्बा सङ्कलनमा समेत रोक लगाएको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । सबै ठाउँमा भीडभाडका साथै चोरी निकासी एवं वन्यजन्तुमा समेत असर पर्ने भएपछि बन्द गरिएको उनको भनाइ छ । जैविक विविधतामा समेत लकडाउनले फाइदा गरेको छ ।

त्यस्तै रारा राष्ट्रिय निकुञ्जमा हुने चोरी निकासीसमेत ठप्प भएको छ । मुगुको मुगुम कार्मारोम गाउँपालिकामा पर्ने एक दर्जन पाटनमा यार्सागुम्बा पाइने भए पनि योपटक प्रतिबन्ध लगाउँदा पाटनहरु सुनसान भएका छन् । यी पाटनमा सबैभन्दा बढी वन्यजन्तु पाइने गरेका छन् । यार्सागुम्बासँगै चोरी निकासी अत्यधिक हुने यी पाटनमा लकडाउनसँगै मानिस नजाँदा चोरी निकासी रोकिएको छ । निर्धक्कका साथ वन्यजन्तुले आफ्नो आहार विहार गर्न पाएको मुगुका पत्रकार अच्यूत भण्डारीले जानकारी दिए ।

रारा राष्ट्रिय निकुञ्जको अधिकतम भाग मुगु र केही भाग जुम्ला जिल्लामा पर्छ । निकुञ्जको मुख्य आकर्षण मनोरम हिमाली काखमा हरिया वनजङ्गलले घेरिएको कञ्चन पानी सल्बलाउने रारा ताल नै हो । यस तालको क्षेत्रफल १०.६५ वर्ग किमी छ । करिब पाँच किमी लम्बाइ, तीन किमी चौडाइ र १६७ मिटर गहिराइ रहेको यो ताल नेपालको सबैभन्दा ठूलो तालका रूपमा परिचत छ । रारा ताल सन् २००७ मा रामसार सूचीमा सूचीकृत हुनुले यसको अन्तर्राष्ट्रिय महत्वलाई समेत दर्शाउँछ । तालको दक्षिणतर्फ चुचेमारा टाकुरा (४०८७ मि), उत्तरतर्फ रुम काँध (६७३१ मि) र मालिका काँध (३४४४ मि) जस्ता चुचुरा पर्छन् । यिनीहरूले रारा राष्ट्रिय निकुञ्जको मनोरम प्राकृतिक दृश्य एवं सुन्दरतालाई अझ गाढा तुल्याएका छन् ।

हिमाली कालो भालु, थार, हाब्रे, घोरल, रतुवा, कस्तुरी मृग, बँदेल आदि गरी ५१ प्रजातिका स्तनधारी वन्यजन्तु तथा डाँफे, मुनाललगायत २७२ प्रजातिका चराचुरुङ्गी यस निकुञ्जमा पाइन्छन् । निकुञ्जअन्तर्गत रारा ताल र वरिपरिको कोणधारी वन क्षेत्र स्थानीय र बसाइँ सरी आउने विभिन्न चराचुरुङ्गीको उपयुक्त वासस्थान बन्न पुगेको छ । यहाँ नेपालका सातमध्ये तीन प्रजातिका रैथाने असला माछा पाइन्छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा समेत वन्यजन्तु पाइने र चोरी हुने गरेकामा लकडाउनका कारण चोरी निकासीमा कमी आएको बताइएको छ । सडक सञ्जालसँग नजोडिएका स्थानमा वन्यजन्तुलाई लकडाउनले राम्रो प्रभाव पारेको त्यहाँका डिभिजन वन कार्यालयले जनाएको छ । यार्सागुम्बा सङ्कलन गर्दा अत्यधिक मानव चापका कारण वन्यजन्तुमा प्राकृतिक गुण हराइरहेका बेला मानव निषेध हुँदा स्वतन्त्रतापूर्व बस्न पाएको छ । प्राकृतिक वासस्थानमा कोलाहलका कारण वन्यजन्तुले थातथलो समस्या भइरहेको समयमा वन्यजन्तुको वासस्थानमा मानव निषेध गर्दा वन्यजन्तुले राहत महसुस गर्ने प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री सत्य पहाडीले बताए ।

निकुञ्जमा मानवीय क्रियाकलाप रोकिँदा वन्यजन्तु र जैविक विविधतामा सकारात्मक असर पर्ने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका छत्र खड्काले जानकारी दिए । मानिसकै क्रियाकलापबाट वन्यजन्तुको वासस्थानमा समेत वर्षेनी असर पर्दै गएको छ । मानव र वन्यजन्तुको बीचमा मानवीय द्वन्द्वसमेत बेलाबेलामा हुने गरेको छ । वन्यजन्तुसम्बन्धी अध्ययन गरिरहेका गोविन्द सिंहका अनुसार प्राकृतिक वासस्थानमा कोलाहल नहुने हो भने मानव र वन्यजन्तुबीच द्वन्द्वसमेत रोकिन्छ । लकडाउनको समयमा पनि निकुञ्ज क्षेत्रभित्र सुरक्षा गस्ती जारी हुने भएकाले वन्यजन्तु तस्करीका घटना कम हुने गर्छ । मानवीय क्रियाकलाप नहुने हो भने मानवबाट वन्यजन्तुमा रोग तथा त्राससमेत कम हुने गर्छ ।

त्रास कम हुँदा आफ्नो क्षेत्रमा निर्धक्कका साथ वन्यजन्तु आहार विहार गरेर आफूलाई सुरक्षित महसुससमेत गर्ने अनुसन्धानकर्ता सिंहको भनाइ छ । उनले भने, “मानिसले जानेर वा नजानेर धेरै वन्यजन्तुको हानिनोक्सानी गरेको छ, यसमा सबैभन्दा पहिला स्थानीय सरकारले जनचेतना जगाउनु जरुरी छ ।” अहिलेको यार्सागुम्बा रोकले पनि डोल्पाका पाटनमा पाइने वन्यजन्तुको अत्यधिक हुने चोरी, निकासी तथा पैठारीमा कमी आएको सिंहको भनाइ छ ।

शे फोक्सुण्डोमा के के पाइन्छ ?

शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपारि क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ ।

यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत २०० प्रजातिका पक्षी, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँचितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त वासस्थान प्रमाणित भएको छ ।

काञ्जिरोवा दक्षिण (६,८६६ मि), सिकाल्पो खाङ (६,५५६ मि), वेज चुचुरो (७,१३९ मि) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् । निकुञ्जको लगभग मध्यभागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औँ शताब्दीमा निर्मित शे–गुम्बा पनि यही छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *