पतिको हत्याका लागि प्रेमीलाई रातको दश बजे मीनाले ढोका खोलिदिएपछि…

डिसी नेपाल
७ जेठ २०७७ ६:५६

बिराटनगर। ‘कोरोनासँग लड्ने हो डराउने हैन । श्रीमतीसँग डराउने हो, लड्ने हैन । किनभने अहिलेसम्म दुवैको औषधि पत्ता लागिसकेको छैन ।’

११ दिनअघि अपराह्न साढे ४ बजे फेसबुकवालमा स्टाटस लेखेका विराटनगरका ३३ वर्षीय औषधि व्यवसायी देवी दुलालले सोचेका पनि थिएनन् कि आफूले सबैभन्दा माया गर्ने श्रीमतीकै योजनामा आफू निर्ममतासाथ मारिन्छु भन्ने ।

तर, उनकी श्रीमती मीना श्रेष्ठ (दुलाल) ले ४ जेठ राति साढे १० बजे प्रेमीसँग मिलेर योजनाअनुसार उनको हत्या गराएरै छाडिन् । अन्तर्जातीय बिहे गरेका उनीहरूका ८ वर्षको छोरोसमेत छन् ।

औषधि व्यवसायी साथीहरूसँग कारोवारको कुरा गर्दै घरमै मदिरा भोज गरेर ओछयानमा सुतेका पतिलाई मार्न श्रीमती आफैंले सवा १० बजे घरको ढोका खोलिदिएकी थिइन् । त्यसपछि रक्सीको नशाको निद्रामा परेका उनका पतिलाई प्र्रेमी ब्रह्मदेव साहले योजनाअनुसार ओछयानमै घाँटी थिचे अनि उनका साथी सोनु साहले खुट्टा समाए । आकस्मात् घटना भएपछि दुलालले छटपटाउँदै प्रतिकार गरे ।

तर, उनलाई टाउको, जिउ र खुट्टामा रड प्रहार गरियो । प्रतिकारका क्रममा प्रेमी ब्रह्मदेवले घाँटी थिच्न प्रयोग गरेको डोरी चुँडियो तर निष्ठुरी श्रीमतीको मन पग्लिएन । पुनः अर्को डोरी प्रयोग गरेर ब्रह्मदेवले घाँटी थिचेर हत्या गरिछाडे । घाउ र रगत नदेखियोस् भनेर सबैले मिलेर दुलालको घाँटी र शरीरमा पाउडर छर्के ।

आफ्नै योजनामा आफ्नै कोठामा श्रीमानको हत्या गर्न सफल भएपछि श्रीमती मीनाले आइतबार बिहान ३ बजे घरधनी र औषधि व्यवसायी धनबहादुर काफ्लेलाई फोन गरेर दुलाल सिकिस्त भएको भन्दै फोन गरिन् । सबैले हतारहतार अस्पताल चौकमा रहेको गोल्डेन अस्पताल उपचारका लागि लगे । तर, दुलालको मृत्यु भइसकेको थियो । यसैले डाक्टरले पोस्टमार्टमका लागि कोसी अस्पताल लान सल्लाह दिए ।

घटनाको सूचना मोरङ प्रहरीमा पुग्यो । घटनाको प्रकृति हेर्दा र उनीसँगै शनिबार साँझ घरमै मदिरा पार्टी खाएका औषधि व्यवसायी साथीहरूसँग बुझ्दा दुलालको मृत्यु हैन हत्या भएको निष्कर्षमा प्रहरी पुग्यो । किनभने मृतक दुलालको घाँटीमा गहिरो नीलडाम थियो भने निधार, खुट्टा र शरीरमा गहिरो चोट थियो । शनिबार मदिरा पार्टी खाने औषधि व्यवसायी साथीहरू हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पनि साँझ ९ बजे नै बाहिरिएका थिए ।

हत्या गरिएका व्यवसायी देवी दुलाल

घरमा दुलाल र उनकी श्रीमतीबाहेक कोही थिएन । तर, श्रीमान् दुलाल आफंै सुतेको ओछयानमा रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए । मोरङका एसपी विश्व अधिकारीका अनुसार घटना विश्लेषणबाट हत्याको निष्कर्ष आएपछि प्रहरीले श्रीमती मीनालाई नियन्त्रणमा लिएर शनिबार रातभर केरकार ग¥यो ।

केही बेरमै उनले आफूले सिरहा लहान नगरपालिका–१० पडहरिया टोल घर भै विराटनगर–४ स्थित बुढाथोकी फार्मेसीमा बिक्रेताको काम गर्ने २१ वर्षीय प्रेमी ब्रह्मदेव साह र उनका साथी इटहरी उपमहानगर–१२ बस्ने २० वर्षीय सोनु साहसँग मिलेर आफ्नै श्रीमानको आफ्नै अगाडि हत्या गराएको रहस्य खोलिन् ।

प्रदेश १ प्रहरी कार्यालय र मोरङ प्रहरीको विशेष अनुसन्धान टोलीले रातभरिमा मोबाइल टे«स गरेर दुवै जनालाई पक्राउ ग¥यो । र, बयानका क्रममा दुवैले आफ्नो अपराध स्विकारे । उनीहरूका अनुसार मीनाको श्रीमानलाई हत्या गर्ने योजना उनीहरूले तीन महिनादेखि नै बनाएका थिए । तर, मौका जुरेको थिएन । शनिबार व्यवसायी साथीहरूसँग रक्सी धेरै खाएर सुतेपछि उनीहरूका लागि अवसर जुरेको थियो । नौ बजे रक्सी खाएर दुई जना साथी बाहिरिएपछि विराटनगर–१० मधुमारामा औषधिको थोक व्यापार गर्दै आएका व्यापारी दुलाल साढे ९ बजेतिर सुतेका थिए । श्रीमान् निदाएको थाहा पाएपछि श्रीमती मीनाले प्रेमी ब्रह्मदेवलाई फोन गरेर घरको ढोका खोलिदिएकी थिइन् । ब्रह्मदेव पनि योजनाअनुसार आफ्नो साथीलाई लिएर मीनाको घर पुगेका थिए ।

घरपरिवारसँग विद्रोह गरेर पाँचथर माइती भएकी श्रेष्ठसँग प्रेम विवाह गरेका सुनसरी इटहरी उपमहानगर–१२ खनार स्थायी घर भएका देवी दुलालले मधुमारामा सिंगै घर भाडामा लिएका थिए । त्यहीँ उनले औषधिको देवी पाथीभरा फार्मेसी नामक थोक पसल सञ्चालन गर्दै आए । आफन्तका अनुसार दुलाल आफ्नी पत्नीलाई औधी माया गर्थे । सबैका अगाडी गुण र स्वभावको बखान गर्थे ।

अन्ततः उनी आफ्नै श्रीमतीबाट मारिए । उनको समाजमा धनी र नामी बनेर श्रीमती र छोराछोरीलाई सुख दिने सपना खरानी भयो । अनि उनकी श्रीमती क्षणिक सन्तुष्टिको आवेगले गर्दा जीवनभरि कंलकित अपराधी बन्न पुगिन् ।

उता, केही महिनाअघि मात्र सामाजिक विवाह गरेका प्रेमी ब्रह्मदेवले आफ्नै निर्दोष पत्नीलाई पनि एकल बनाए । र, साथीको बिहेको पार्टी खान लोभिएका साथी साह पनि कर्तव्य ज्यान मुद्दाका कसुरदार भए । मोरङ प्रहरीले उनीहरू सबैलाई जघन्य अपराधअन्तर्गत कर्तव्य ज्यान अपराधमा जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ । अदालतले अपराध ठहर गरेमा तीनै जनाको जीवनभरि बाँचुन्जेलसम्म समाजसँग सम्पर्क विच्छेद हुनेछ। जनआस्थाबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *