बेलायतका नेपालीले भारतीय प्रधानमन्त्री मोदीलाई पठाए विरोधपत्र

डिसी नेपाल
११ जेठ २०७७ १:५९

लण्डन । बेलायतमा रहेर नेपाली राजनीतिलाई सहयोग गरिरहेका राजनीतिक दलनिकट संगठनहरु भारतद्वारा नेपाली भूभाग माथि गरिएको अतिक्रमणको विरोधमा एक ठाउँमा उभिएका छन् । उनीहरुले संयुक्तरुपमा हस्ताक्षर गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली भूमि अतिक्रमण नगर्न पत्र पठाएका हुन् ।
भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा, महाकाली नदी हुँदै तिव्वतको मानसरोवर जाने सडक निर्माण गरेपछि बेलायतस्थित नेकपा, नेपाली काग्रेस, जनता समाजवादी पार्टी र राप्रपा पार्टी निकटका संगठनहरु एक ठाउँमा उत्रिएर भारतीय अतिक्रमणको विरोध गरेका हुन् ा
ती संगठनहरुले संयुक्त अधिराज्य बेलायतस्थित भारतीय हाई कमिसनमार्फत प्रधानमन्त्री मोदीलाई हुलाकमार्फत संयुक्तरुपमा ज्ञापन पत्र पठाएका छन् । पत्राचार गरी भारतद्वारा नेपालको सीमा अतिक्रणको विरोध गर्नेमा नेकपानिकट प्रवासी नेपाली एकता मंच(ओएनयूएफ) युके, काग्रेसनिकट नेपाली जनसम्पर्क समिति (एनपिसिसी) युके, जनता समाजवादी पार्टीनिकट नेपाली समाज युके र राप्रपानिकट प्रवासी नेपाली एकता समाज युके छन् ।
ओएनयूएफ युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, एनपिसिसी युकेका अध्यक्ष युवराज गुरुङ, एनएसयुकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ र ओएनयूएस युकेका संस्थापक अध्यक्ष रोशन सापकोटाले संयुक्तरुपमा ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् । प्रवासी नेपाली एकता मंच युकेले आफूसहित अन्य राजनीतिक दलका निकट संगठनहरुले संयुक्त रुपमा कार्यक्रम गरेको ओएनयूएफका सचिव सुरेश गौतमले जानकारी दिए । एक साताअघि प्रवासस्थित एनपिसिसीहरुले संयुक्तरुपमा सीमा अतिक्रमणको विरोध गरिसकेका छन् । शुक्रबार रेनर्सलेनस्थित एक हुलाक कार्यालयमार्फत पठाइएको उक्त ज्ञापन पत्र भारतीय हाई कमिसन बेलायत (लन्डन) मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरी पठाइएको छ । पत्रमा कुटनीति संवादमार्फत भारतले मिचेको भूमि फिर्ता गर्न आग्रह गर्दै नेपाल र भारतको ऐतिहासिक सम्बन्ध कायम राख्न आग्रह गरिएको छ ।

भारत सरकारले लिम्पियाधुरा, लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी चीन हुँदै तिव्बतको मानसरोवर बाटो खोलेको थियो । सो अतिक्रमणको विरोधमा नेपाल सरकारले आफ्नो भूभाग भएको जनाउँदै नक्सासमेत जारी गरेको छ । नेपाल सरकारको नयाँ नक्सा जारी गर्ने निर्णयको चौतर्फी स्वागत गरिएको थियो भने सीमा अतिक्रमणको विरोधमा विदेशस्थित नेपाली संघसंस्थाहरुले आआफ्नो मुलुकमा रहेका भारतीय दुतावासमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई ज्ञापन पत्र बुझाइरहेका छन् ।
यसैबीच, दिउँसो २ बजेर १५ मिनेटमा ज्ञापन पत्र पठाउनु अघि रेनर्सलेनका हुलाक कार्यालय बाहिर नेपालको नयाँ नक्सासहित उपस्थित भएका नेताहरुले सक्षिप्त सम्बोधन गरेका थिए । बेलायत सरकारको गाइडलाइनअनुसार सोसियल डिस्ट्यासिङ कायम गरी आयोजित सो कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै राजेन्द्र पुडासैनीले राष्ट्रिय एकतासहित प्रधानमन्त्रीले सीमा अतिक्रमणको विरोधमा उभिएकोले उहांलाई साथ दिनु पर्ने बताए । नेपाल र भारतीय जनताको सद्भाव लिएर अघि बढ्ने उनले बताए । ‘प्रमाणका आधारमा अतिक्रमित भूमि फिर्ता गर्नु पर्छ’, ओएनयूएफ युकेका अध्यक्ष राजेन्द्र पुडासैनी भने, ‘यसका लागि हामी एकै ठाउँमा छौँ । त्यसैले हामीले संयुक्तरुपमै विरोध गरेका हौं ।’
एनपिसिसी अध्यक्ष युवराज गुरुङले सीमा अतिक्रमण कुटनीतिक माध्यमबाट चाँडोभन्दा चाँडो समाधान गर्नुपर्ने बताए । ‘मातृभूमि अतिक्रणविरुद्ध बेलायतमै भएपनि राष्ट्रियताका लागि एक ठाउँमा उभिएका छौं,’ उनले भने, ‘यसका लागि कुटनीतिक पहल पनि आवश्यक छ ।’ एनएसयूकेका अध्यक्ष चन्द्रबहादुर गुरुङले सुगौली सन्धिअनुसार तत्काल जमिन फिर्ता गर्न आग्रह गरे । ओएनयूएसका संस्थापक अध्यक्ष रोशन सापकोटाले सीमा अतिक्रमणको विरोध गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *