गण्डकी प्रदेशमा काेराेना सङ्क्रमित १९ पुगे

कास्की। गणडकी प्रदेशमा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या १९ पुगेको छ। शुक्रबार बिहान नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्ला देवचुली नगरपालिका घर भइ सोही नगरपालिकाको क्वारेन्टिनमा रहेका दुई जनाको कोभिड–१९ पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

सङ्क्रमित वर्ष १९ र २१ का दुई पुरुष रहेको दुवै जनालाई मध्यविन्दु अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए। बिहीबार साँझ म्याग्दीको मालिका गाउँपालिका घर भइ बेनी नगरपालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष ३० का एक पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ।

गण्डकीमा हालसम्म बाग्लुङमा आठ, स्याङ्जामा पाँच र नवलपरासी पाँच तथा म्याग्दीमा एक सङ्क्रमित छन्। बाग्लुङका दुई भने यसअघि नै उपचार गराएर निको भएपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

स्याङ्जाको वालिङमा बिहीबार सङ्क्रमण पुष्टि भएका तीनमध्ये ३९ वर्षीया महिलालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएर आइसोलेसन कक्षमा राखेर उपचार शुरु गरिएको हो।

स्याङ्जामा महिलाका लागि छुट्टै आइसोलेसनकक्ष नभएकाले उनलाई पोखरा ल्याइएको बताइन्छ । अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले सङ्क्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा राखेर उपचार शुरु गरिएको जानकारी दिए।

निर्देशक आचार्यले पहिलोपटक सङ्क्रमित बिरामीको उपचार शुरु भएसँगै अस्पतालका अन्य सेवा भने प्रभावित हुने बताए। अस्पतालमा भीडभाड कम गर्न र सम्भावित सङ्क्रमण रोक्न बहिरङ्ग विभाग (ओपिडी) को सेवा बन्द गरिने जानकारी दिए।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो