विदेशमा रहेका नेपाली स्वदेश फिर्ता ल्याउन परामर्श
काठमाडौँ। विदेशमा रहेका नेपाली नागरिक फिर्ता ल्याउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशस्थित आफ्ना समकक्षीसँग परामर्श थालिएको बताएका छन्।
भारतबाहेक तेस्रो मुलुकका नेपाली नागरिक फिर्ता ल्याउने विषयमा नेपाल सरकारले तीव्र तयारी गरिरहेका बेला मन्त्री ज्ञवाली आफैँले विदेशका नेपालीको सकुशल फिर्ताका लागि पहल थालिएको हो। सो क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार कुवेतका विदेशमन्त्री डा. अहमद एअल सबाहसँग सोमबार टेलिफोन वार्ता गरिएको छ।
टेलिफोन वार्तामा मन्त्री ज्ञवालीले कुवेतमा रहनुभएका नेपाली नागरिकका बारेमा चासो राख्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको असरका कारण कुवेतमा विभिन्न समस्यामा परेका नेपालीका बारेमा मन्त्री ज्ञवालीले जिज्ञासा राखेकाे जनाइएको छ। “कुवेतस्थित नेपाली नागरिकको सुरक्षा, कल्याण र चाहेको खण्डमा सुरक्षित रूपमा स्वदेश फिर्तीका बारेमा छलफल भयो,” मन्त्री ज्ञवालीले बताएका छन्।
कुवेतमा यति बेला करिब तीन हजारको सङ्ख्यामा नेपाली नागरिक अप्ठेरो अवस्थामा छन् । नेपाल फर्कन दूतावासमा नाम दर्ता गराएर सेल्टरमा बसेका उनीहरू फर्कने बाटो कुरिरहेको कुवेतका लागि नेपालका राजदूत दुर्गाप्रसाद भण्डारीले बताएका छन् । कुवेतमा ७० हजार नेपाली रोजगारका लागि रहेका छन्।
गोरखापत्र दैनिकबाट
No ads found for this position


डिसी नेपाल
Facebook Comment