भारतबाट लुकिछिपी नेपाल आउने घटे

डिसी नेपाल
२२ जेठ २०७७ ६:५१

काठमाडौँ। भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्काउन नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश बिन्दु तोकिएपछि लुकिछिपी आउनेको सङ्ख्या घटेको छ।

कतिपय ठाउँमा तोकिएको प्रवेश बिन्दु पुग्नका लागि दुई दिन हिँड्नुपर्ने भएकाले त्यसलाई व्यावहारिक बनाउनुपर्ने सुझाव पनि प्रमुख जिल्ला अधिकारीहरूको छ। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, “अहिले भारतबाट स्थलमार्ग हुँदै स्वदेश आउने नेपालीका लागि नेपाल–भारत सीमामा २० वटा नाका खुलाइएको छ।

खुला सिमाना रहेका भारतसँग यसअघि एक सयभन्दा बढी औपचारिक प्रवेश बिन्दु रहेकोमा मुलुकमा बन्दाबन्दी सुरु भएसँगै अत्यावश्यकीय वस्तुको ढुवानी गर्नुबाहेक सीमा बन्द गरिएको थियो।”

प्रवेश बिन्दुको पूर्ण पालना
झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगरले सरकारद्वारा तोकिएको प्रवेश बिन्दुको पूर्ण पालना गरिएको बताउँदै खुला सिमानाका कारण लुकिछिपी नेपाल प्रवेश गरिरहेकालाई क्वारेन्टाइनमा राख्ने गरिएको र उनीहरूको पीसीआर परीक्षण गर्ने गरिएको जानकारी दिएका छन्।

उनका अनुसार अहिलेसम्म भारतबाट नेपाल प्रवेश गरेका एक हजार पाँच सय जनाको पीसीआर परीक्षण गरिएको छ । भारतसँग १४४ किलोमिटर सिमाना रहेको झापामा १५९ सुरक्षा पोस्ट राखिएको छ। प्रवेश बिन्दुबीचको दूरीका कारण स्वदेश फर्कनेहरूमा व्यावहारिक समस्या देखिएको बताउँदै उनले भने, “झापा र मोरङको बीचमा रहेका गौरीगञ्ज नाका भएर स्वदेश फर्कन चाहने व्यक्तिलाई काँकडभिट्टा पुग्न दुई दिन लाग्न सक्छ, प्रवेश बिन्दु तोकिँदा यस प्रकारका समस्या देखिएका छन्।”

धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले प्रवेश बिन्दु तय गरिएपछि लुकिछिपी स्वदेश फर्कनेहरूको सङ्ख्यामा कमी आएको बताएका छन्। धनुषामा प्रवेश बिन्दु नभएकाले लुकिछिपी स्वदेश फर्केकालाई क्वारेन्टाइनमा राखी पीसीआर परीक्षण गर्ने गरिएको उनले बताएका छन्। उनका अनुसार ४८.९ किलोमिटर भारतसँगको सीमा रहेको धनुषामा हरेक एक सय मिटरको दूरीमा ४५१ जना सुरक्षाकर्मी तैनाथ गरिएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बारामा सरकारद्वारा तोकिएको प्रवेश बिन्दु नरहेकाले सिमानामा पूर्ण रूपमा आवागमन निषेध गरिएको जानकारी दिएका छन्। उनका अनुसार ६२ किलोमिटर रहेको भारतसँगको सिमानामा १७ वटा सुरक्षा पोस्ट स्थापना गरी चार सय सुरक्षाकर्मी परिचालन गरिएको छ।

गोरखापत्र दैनिक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *