गण्डकीमा प्रविधियुक्त सङ्क्रामक तथा सरुवा रोग अस्पताल स्थापना गरिने

डिसी नेपाल
२४ जेठ २०७७ ९:४८

पोखरा । गण्डकी प्रदेश सरकारले सङ्क्रामक तथा सरुवा रोगको उपचारार्थ नेपाल सरकारसँगको सहकार्यमा प्रयोगशाला परीक्षणसहितको अत्याधुनिक प्रविधियुक्त सङ्क्रामक तथा सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ।

गण्डकी प्रदेशसभामा प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गर्नुभएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य सेवालाई प्राथमिकतामा राखिएको छ। जटिल अवस्थाका गर्भवतीको जीवन रक्षार्थ प्रदेशअन्तर्गतका अस्पतालमा मातृ प्रतिक्षा कक्ष स्थापना गर्दै लगिने सरकारको योजना छ।

आधारभूत र आकस्मिक मातृ तथा नवजात शिशु स्याहार सेवालाई सुदृढीकरण गर्दै अति दुर्गम र दुर्गम क्षेत्रका जटिलतामा रहेका गर्भवती, सुत्केरी र नवजात शिशुको जीवनरक्षाका लागि एयरलिफ्टिङ गरी सुविधामार्फत अस्पतालसम्म पुर्याउने कार्यलाई निरन्तरता दिइने सरकारले भनेको छ।

गर्भवती, शिशु, बालबालिका, किशोरी र अपाङ्गता भएका व्यक्तिको पोषण स्थितिमा सुधार ल्याउन नेपाल सरकार र स्थानीय तहसँगको साझेदारीमा बहुक्षेत्रीय पोषण सुधार कार्यक्रम सञ्चालन गरिने र प्रदेशलाई पूर्ण खोपयुक्त प्रदेश कायम राख्न खोप कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

मनाङ र मुस्ताङका अस्पतालमा दुई र बाँकी सबै जिल्लाका नौ अस्पतालमा पाँच श्ययाको सघन उपचारकक्षको स्थापना गरिने सरकारले भनेको छ । नेपाल सरकारसँगको सहकार्यमा जिल्ला अस्पताललाई २५ देखि ५० श्यया र धवलागिरी अस्पताललाई २०० श्ययाको साधारण अस्पतालमा स्तरोन्नति गर्ने तयारी गरिएको छ।

पचास श्ययाका अस्पतालमा आँखा उपचार सेवा र ज्येष्ठ नागरिक उपचार वार्ड सञ्चालन गर्दै लगिने र मिर्गौलापीडित बिरामीका लागि सञ्चालित डायलायसिस सेवालाई प्रभावकारी बनाइने सरकारको योजना छ।

नेपाल सरकारसँगको सहकार्यमा बागलुङको बुर्तिवाङ, लमजुङको सुन्दरबजार, तनहुँको बन्दीपुर, स्याङ्जाको गल्याङ र भिरकोट तथा गोरखाको आँपपिपल अस्पताललाई सुदृढीकरण गर्न र पोखराको शिशुवामा बाल अस्पताल स्थापना गर्न आवश्यक सहयोग गरिने प्रदेश प्रमुख शेरचनले बताए ।

नवलपुर जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सर्पदंश उपचारको व्यवस्था मिलाइने उल्लेख छ। नेपाल सरकारसँगको समन्वयमा सबै नागरिकलाई आगामी तीन वर्षभित्र स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिने र स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन र मूल्याङ्कन प्रणालीको विकास गरिने नीति तथा कार्यक्रममा भनिएको छ।

अर्बुद्धरोग, मुटु, मिर्गौला, सिकलसेल एनिमिया, स्पाइनल इन्जुरी, पार्किन्सन, अल्जाइमर र हेड इन्जुरीको उपचारका लागि अति गरीब बिरामीलाई आर्थिक सहयोग गर्ने नीतिलाई निरन्तरता दिइने भनिएको छ।

नेपाल सरकारसँगको सहकार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला र मुटुरोगको विशिष्टिकृत उपचार सेवा प्रारम्भ गरिने र प्रदेश क्षयरोग नियन्त्रण केन्द्रको सुदृढीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

नवलपुरको मध्यविन्दु अस्पताल, कास्कीको मातृशिशु मितेरी अस्पताल तथा पर्वत, मनाङ र मुस्ताङ जिल्ला अस्पतालका भवन निर्माणकार्यलाई निरन्तरता दिइनेछ। आयुर्वेद तथा प्राकृतिक चिकित्सालगायतका वैकल्पिक चिकित्सा सेवालाई समयसापेक्ष र प्रभावकारी बनाउँदै प्रदेशका आयुर्वेद औषधालय र आयुर्वेद स्वास्थ्य केन्द्रलाई १५ श्ययाको चिकित्सालयमा स्तरोन्नति गर्दै लगिने सरकारको योजना छ।

पोखरा महानगरपालिकाको वडा नं २६ मा आयुर्वेद चिकित्सालयको भवन निर्माणकार्य प्रारम्भ गर्ने सार्वजनिक/निजी साझेदारीमा जडीबुटी भण्डारण तथा प्रशोधन केन्द्रको स्थापना कार्य शुरु गरिने सरकारले जनाएको छ।

स्थानीय तहसँगको साझेदारीमा नसर्ने रोगको रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि एकीकृत जनस्वास्थ्य प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने नीति लिएको सरकारले आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि अत्यावश्यक औषधि, स्वास्थ्य उपकरण तथा सामग्री आपूर्तिको व्यवस्था मिलाइने उल्लेख गरेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *