घेराबन्दीबाट भेरी नदीमा खसेपछि ढुंगा प्रहार गर्दा मृत्युः अनुसन्धान समिति

डिसी नेपाल
१ असार २०७७ १०:३३

काठमाडौं। रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८, सोतीगाउँमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा गाउँलेहरुको घेराबन्दीबाट भेरी नदीमा खसेकामाथि ढुंगा प्रहार हुँदा ६ जनाको ज्यान गएको निष्कर्ष निकालिएको छ।

ठूलो संख्याका गाउँलेहरुले घेरा हाल्दै ढुंगामूढा गरी लखेट्दा शरीर र टाउकोमा लागी भेरी नदीमा खस्दा रुकुमको चौरजहारीमा ६ जनाको ज्यान गएको गृहमन्त्रालयबाट गठित अनुसन्धान समितिले निष्कर्ष निकालेको हो।

गृहमन्त्रालयबाट अनुसन्धानका लागि गएको सहसचिव जितेन्द्र बस्नेत संयोजक रहेको समिति अनुसन्धान सकेर काठमाडौ आएपछि गृहमन्त्री रामबहादुर थापा समक्ष गाउँलेहरुले लखेट्दा उनीहरुलाई ढुंगाले चोट लागेको र चोटलागेका व्यक्तिहरु भेरी नदीमा पसेपछि गाउँलेहरुले उनीहरुलाई नै लक्षित गरी थप ढुंगा हान्दा लागेर मृत्यु भएको रिपोर्टिङ गरेका हुन्। आइतबार सो घट्नामा संलग्न ३४ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ।

समितिमा सहसचिव बस्नेत, एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धानका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिवद्वय बशिष्ट घिमिरे र माधव ढकाल छन्। शुरुमा २५ देखि ४५ मिटरसम्मको दुरीमा केटी पक्ष र केटाहरुको ग्याप रहेको, केटी पक्षकाले ढुंगा मुढा हानेको, यसरी ढुंगा हान्दा उनीहरुलाई लागेको र घाईते अवस्थामै भेरीमा हाम्फाल्दा गाउँलेहरुले उनीहरुमाथि थप ढुंगा बर्षाएका कारण उनीहरुको मृत्यु भएको समितिको निष्कर्ष रहेको सो समितिका एक सदस्यले जानकारी दिए।

उनीहरु अहिले काठमाडौ आइसकेको र अनुसन्धान प्रतिवेदन तयार पारिरहेका छन्। ‘तीन तिर छेकेको देखिन्छ । भाग्दै गर्दा उनीहरु एउटा भंगालोमा अडेको र त्यहाँ घाईते भएको तथा त्यहाँबाट उम्केर भेरी नदीमा हाम्फालेको देखिन्छ । त्यहाँ केटीको दाई र अन्य गाउँलेहरु मिलेर ढुंगा हान्दा उनीहरु घाईते भई पौडिन नसक्दा मृत्यु भएको हुनुपर्छ’, समिति स्रोतले भन्यो।

स्रोतका अनुसार पौडिन नजान्ने एक जना सन्जु विक बाहेक अन्य सबै पौडेर वारिपारि गर्ने युवाहरु थिए। नवराज विक लगायतका अन्य युवाहरु दुई तिर बाँडिएर भागेको पनि समितिले जनाएको छ। ‘नवराज विक लगायतको एउटा समूहलाई भने केटीको दाजु लगायतका गाउँलहरुले लखेटेको देखिन्छ’, समिति स्रोतले भन्यो।

उनीहरु नदीमा हाम्फालेपछि पनि गाउँलेहरुले ढुंगा हानिरहेका थिए। ‘गाउँलेहरुले प्रहार गरेको ढुंगा लागेर नवराज लगायतका युवाहरु पौडिन नसकेका देखिन्छ नत्र उनीहरुले सधै जसो भेरी नदी पौडेर नै तर्ने गरेको हामीलाई प्राप्त भएको जानकारीमा उल्लेख छ’, समिति स्रोतले भन्यो।

सो घट्नाको अनुसन्धानका लागि नेपाल प्रहरीले एसएसपी पोषराज पोखरेल संयोजक रहेको अनुसन्धान समिति बनाएको छ भने केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पनि अनुसन्धान गरिरहेको छ। त्यसैगरी सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा पनि संसदीय समिति गठन भएको छ।

केटी भगाउन भनेर १० जेठमा जाजरकोटबाट गएका नवराजसहितका १९ जनामाथि सोतीका स्थानीयले आक्रमण गरेका थिए। लकडाउनको बेला उनीहरु गाउँमा आएको भन्दै गाउँलेहरुले लखेटेको बताइएपनि नवराज विक लगायतका युवाहरु केटी भगाउन त्यहाँ पुगेका थिए। नवराजसहित टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार तथा सञ्जु विक, भेरी नगरपालिका–११ का गोविन्द शाहीको हत्या भएको थियो।

उनीहरुको पोष्टमार्टम रिपोर्टमा समेत शरीरभर निलडाम देखिएको थियो । जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीचको प्रेम सम्बन्धका विषयले रुकुममा ६ जनाको ज्यान गएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *