जनसम्पर्क समिति अमेरिकाले बुझायो दूतावासलाई ज्ञापनपत्र

डिसी नेपाल
३ असार २०७७ १२:५६

न्यूयोर्क, अमेरिका । नेपाली जनसम्पर्क समिति, अमेरिकाले आज नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क मार्फत प्रधानमन्त्री केपी ओलीलाई एक ज्ञापन पत्र बुझाएको छ। नेपाली कांग्रेसको जेठ २६ गतेको बैठकले कोरोना महामारी विरुद्धको संघर्षमा सरकारको अर्कमण्यता, भ्रष्टाचार र गैह्र जिम्मेवार प्रवृत्तिका विरुद्ध सबै जनसम्पर्क समितिमार्फत यसरी ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो।

सोही निर्णय र निर्देशनका आधारमा आज समितिले पनि महावाणिज्यदूतावास मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। समितिका सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईलाई ज्ञापन पत्र बुझाएको थियो।

ज्ञापन पत्रमा, कोरोना महामारीविरुद्ध सरकारले प्रभावकारी काम नगरेको, कांग्रेसले सुरुवातका दिनदेखि नै कोरोना नियन्त्रणका लागि सरकारले तत्काल गर्नुपर्ने कार्यहरुका बारे कार्य योजना तय गर्न दिएको सुझाव कार्यान्वयन नगरेको, विज्ञहरुको सुझावलाई समेत बेवास्ता गरेको, सरकार यो महामारीका बारे संवेदनशील बन्न नसकेको जस्ता विषयहरु समेटिएका छन्।

विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्न सरकारले प्रभावकारी पहल नगरेको,संकटमा परेका आफ्ना नागरिकलाई राज्य छ,राज्यले अभिभावकत्व ग्रहण गर्छ र संकटबाट पार लगाउँछ भन्ने विश्वास दिलाउन नसकेको जस्ता विषयहरु ज्ञापनपत्रमा उल्लेख छ।

ज्ञापनपत्रमा भनिएकाे छ, “तपाईं र तपाईं नेतृत्वको सरकारको अभिव्यक्ति, कार्यशैली र कोरोना नियन्त्रणका लागि भैरहेको पहल हेर्दा लाग्छ, हामी जस्ता लाखौँ नेपालीहरु सरकारको भरोसा गर्न सक्ने स्थितिमा छैनन्। तपाईंहरु यो महामारीलाई गम्भीरतापूर्वक लिईरहनु भएको छैन जसले विश्वलाई तहसनहस बनाइसकेको अवस्था छ। यो स्थितिलाई एकपटक गम्भीरतापूर्वक सोच्न पनि हामी तपाईंको ध्यानाकर्षण गराउन चाहन्छौं।”

ज्ञापनपत्रमा, प्रधानमन्त्री ओलीमा अहंकार र दम्भ भरिएको भन्दै फ्रान्सका १६ औं शताब्दीका राजा लुई चौधौंसँग तुलना गरिएको छ ।

ज्ञापनपत्र बुझाउन सभापति विष्टसँगै मितिका महासचिव मुनिन्द्र नेम्वाङ्ग, सचिव भोजराज थोकर, केन्द्रीय सदस्यद्वय बेदप्रसाद खरेल र सुवास लामा, समितिका केन्द्रीय सल्लाहकार कृष्ण बिष्ट, समितिका लंग आइल्याण्ड च्याप्टरका सभापति विश्वराज बाँस्तोलासहित जनसम्पर्क समितिका सदस्यहरु अन्जन चौलागाईं र कला खरेल महावाणिज्यदूतावासको कार्यालय पुगेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *