दक्षिण कोरियामा समस्यामा परेका २ सय ३० नेपाली शनिबार स्वदेश फर्कँदै

डिसी नेपाल
४ असार २०७७ ११:१३

काठमाडौँ । दक्षिण कोरियामा समस्यामा परेका २ सय ३० जना नेपाली शनिबार स्वदेश फर्कने भएका छन् । उनीहरु कोरियन एयरको उडानमा काठमाडौँ आउन लागेको एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले डिसी नेपाललाई जानकारी दिए ।

सुवेदीका अनुसार हाल दक्षिण कोरियामा विभिन्न कारणले समस्यामा परेका करिब ९ सय जना नेपालीहरु छन् । उनीहरु तत्कालै स्वदेश फर्कन चाहान्छ । ‘अहिले कोरियामा भिसा सकिएका, कम्पनी बन्द भएका, अबैधानीकलगायत विभिन्न कारणले करिब ९ सय जना नेपाली समस्यामा पर्नु भएको छ । उहाँहरु स्वदेश फर्कनुपर्ने बाध्यता छ,’ अध्यक्ष सुवेदीले डिसी नेपालसँग भने, ‘उहाँहरुलाई स्वदेश फर्काउनको लागि हामीले दूतावाससँग समन्वय गरेका थियौँ । अनुमति पाएपछि कोरियन एयरसँग सम्झौता भएको छ ।’

यसअघि कोरियन एयर १६ जुनमा रित्तै काठमाडौँ आएर नेपाली कामदार लिएर फर्किसकेको छ। सम्झौता अनुसार अब २० जुनमा काठमाडौँ कामदार लिन आउने कोरियन एयरको जहाजले त्यहाँबाट समस्यामा परेका २ सय ३० जना नेपाली कामदार ल्याउनेछ । जहाजको सिट क्षमता २ सय ५२ जनाको भएता पनि २ सय ३० जना मात्रै लिएर आउन लागेको सुवेदीले बताए ।

सुवेदीका अनुसार यसरी स्वदेश फर्कने नेपालीलाई हवाइ टिकटको मुल्य ६ सय अमेरिकी डलरभन्दा कम लाग्नेछ । ‘हामीले कारणसहित प्रयत्न गरेका थियौँ  । सरकारले तोकेको भाडादर भन्दा सस्तो रेटमा सहमती गरेका छौँ,’ उनले भने ।

टिकटका लागि नेपालमा युनिभर्सल ट्राभल र कोरियाका लागि केएमई नामक एजेन्सीसँग सम्झौता भएको सुवेदीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *