यूएईबाट ९४ गर्भवती महिलासहित १४८ नेपाली स्वदेश फर्किए

डिसी नेपाल
५ असार २०७७ १२:२७

काठमाडौँ । यूएईको दुबईबाट ९४ गर्भवती महिलासहित १४८ नेपाली स्वदेश फर्किएका छन् । उनीहरु नेपाल एयरलायन्सको आरए २२९२ नम्बरको न्यारोबोडी चार्टड जहाजमार्फत स्वदेश फर्किएका हुन् ।

एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पाका अनुसार १ सय १ जना महिला र ४७ जना पुरुष स्थानीय समयअनुसार शुक्रबार बिहान करिब ५.१० बजे काठमाडौँका लागि उडेका हुन् । बिमान पूर्वनिर्धारित समय अनुसार ४ घण्टा ढिला उडेको थियो ।

स्वदेश फर्कनेहरुमा ९४ गर्भवती महिला, २७ गर्भवती महिलाका श्रीमान, ९ दीर्घ रोगी बिरामी, ३ जेष्ठ नागरिक,१ जना प्यारालाइसिस भएका बिरामी, १० वर्किङ भिसा सकिएका र अन्य केहि जना यात्रु रहेको शेर्पाले बताए ।

त्यस्तै सोही उडानमा एक जनाको शव पनि पठाइएको छ । ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव पठाइएको शेर्पाले जानकारी दिए ।

उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा आबुधाबीस्थित नेपाली राजदूतावासले तयार गरेको हो ।

यूएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुबई र एयर अरबियाले काठमाडौँ उडानका लागि अनुमति पाएका छन् ।

यूएईको आबुधाबीबाट हिमालय एयरलाइन्सले २०, २३ र २४ जुनमा समस्यामा परेका नेपालीहरु बोकेर काठमाडौँका लागि उडान गर्नेछ । त्यस्तै नेपाल एयरलाइन्सको अर्को उडान भने २१ जुनमा हुनेछ ।

नेपाल सरकारले कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा अलपत्र परेका नपाली नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेसँगै विभिन्न मुलुकमा रहेका नेपाली कामदार स्वदेश फर्किने क्रम जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *