रुकुम (पश्चिम)का स्थानीय तहको प्राथमिकतामा रोजगारी

डिसी नेपाल
११ असार २०७७ १७:४३

रुकुमपश्चिम । रुकुम (पश्चिम)का स्थानीय तहले आगाामी आर्थिक वर्ष २०७७÷०७८ मा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका छन् । स्थानीय तहमै रोजगारी सिर्जना गर्ने भनी जिल्लाका स्थानीय तहले नीति, कार्यक्रम र बजेट तयार पारेका छन्।

मुसीकोट नगरपालिकाले “नगर प्रमुख रोजगार कार्यक्रम” सञ्चालन गर्ने भएको छ । नगरका युवालाई रोजगार सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न नगरपालिकाले सो कार्यक्रम सञ्चालन गर्ने भएको हो । नगरपालिकाले कृषि, पर्यटन, उद्योग, सहकारी तथा वित्तीय संस्थालगायत क्षेत्रमा युवालाई रोजगारी दिने गरी नीति तथा कार्यक्रम तयार पारेको नगर प्रमुख देवीलाल गौतमले बताए। नगरपालिकाले ७० करोड ३६ लाख ६८ हजार १६५ को बजेट ल्याएको छ ।

चौरजहारी नगरपालिकाले पनि “प्रधानमन्त्री रोजगार कार्यक्रम” र “मुख्यमन्त्री रोजगार कार्यक्रम” सँंग तादम्यता हुने गरी “नगर प्रमुख रोजगार कार्यक्रम” मार्फत नगरवासीको आयस्रोतमा वृद्धि र रोजगारी सिर्जना गर्ने जनाएको बुधबार नगरसभामा पेश गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरपालिकाका बेरोजगारलाई रोजगारी दिने गरी कार्यक्रम बनाउन लागिएको नगर प्रमुख विशाल शर्माले बताए।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड २० लाख ९२ हजार ४७० को बजेट ल्याएको छ ।

आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट ल्याएका जिल्लाका सानीभेरी र बाँफिकोट गाउँपालिकाले पनि कुनै न कुनै क्षेत्रबाट रोजगारी सिर्जना गर्ने र व्याप्त रोजगारीलाई कम गर्ने नीति अवलम्बन गर्ने भएका छन् । कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा बढीभन्दा बेरोजगारलाई जोड्ने गरी नीति, कार्यक्रम र बजेट केन्द्रित भएको दुई गाउँपालिकाको भनाइ छ ।

यही असार १० भित्र नीति, कार्यक्रम र बजेट पेश गर्ने प्रावधानअनुसार जिल्लाका ६ मध्ये चार स्थानीय तहले मात्र समयमै नीति, कार्यक्रम र बजेट ल्याएका छन् । कोरोना भाइरसका कारण तयारी नपुगेको जनाउँदै आठबीसकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाले नीति, कार्यक्रम र बजेट असार १५ भित्र ल्याउने जनाएका छन् । सानीभेरीले ८ गते, बाँफिकोटले ९ गते तथा मुसीकोट र चौरजहारी नगरपालिकाले असार १० गते नीति, कार्यक्रम र बजेट गाउँ तथा नगरसभामा पेश गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *