अफवाह महामारी भन्दा भयानक

सन् २० १९ ले आफ्नो आरोह अवरोह पुरा गरी विदा लिने तरखर गरिरहेको बेला डिसेम्वरको अन्त्यतिर चीनको वुहान प्रान्तमा एउटा नयाँ रोगको उत्पत्ति भयो, जसले सन् २०२० लाई युगौं युगसम्म सम्झन लायक महामारीको वर्षमा परिणत गरिदिने भएको छ।

नोवल कोरोनाको नामबाट आज विश्वभर परिचित यो महामारी पृथ्वीको सबै मुलुकहरु, चाहे ती सम्पन्न विकसित राष्ट्रहरु यूरोप, अमेरिका हुन् या भर्खर विकासमा वामे सर्दै गरेका एशिया, अफ्रिकाका गरिव देशहरु हुन्, ती सबै मुलुक यतिबेला कोरोनाको चपेटामा छन्।

चीनको वुहानबाट कोरोना संक्रमण सुरु हुँदा आज यसरी संचारभर फैलिन्छ भने कसैले पनि कल्पना गरेको थिएन। हालसम्म विश्वका एक करोड भन्दा बढी मानिसलाई आक्रान्त बनाउँदै पाँच लाख भन्दा बढी मानिसको ज्यान लिइसकेको छ।

नेपालमा पनि ७७ जिल्लामा कोरोना संक्रमण फैलिएको छ। १२ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भइसकेको छ भने २८ जनाले ज्यान गुमाइसकेका छन्। यो निरन्तर बढ्दो क्रममा छ।

विश्वभरको अरवौं जनसंख्यालाई मध्यनजर गर्दै संख्यात्मक रुपमा हेर्ने हो भने अहिलेसम्म भएको संक्रमण र मृतकको संख्या त्यति भयंकर होइन। तर, निकै छोटो समयमा विश्वभर भएको यसको विस्तार र प्रभाव भने त्रासदीपूर्ण हो।

सञ्चार प्रविधिको उच्चतम विकासबाट सृजित सामाजिक संञ्जालकोे सर्वसुलभ पहुँचले फैलाएको भ्रम र अफवाह अझ त्यो भन्दा बढी भयानक देखिन्छन्।

संक्रमणको गति यसरी बढयो कि वुहानबाट विश्वभर फैलिन केवल ४–५ महिना नै काफी भयो। कुनै भूगोल र सिमानाले यसको विस्तार र प्रभावलाई रोक्न सकेन। शक्ति सम्पन्न र स्वास्थ्य सेवा राम्रो भएका भनिएका यूरोप, अमेरिका जस्ता शक्तिशाली राष्ट्रहरुले पनि यस महामारीसँग नराम्रोसँग घुँडा टेक्नु परेको छ।

आधुनिकताको उन्मादमा आफूले आफैलाई बिर्सिएर रफ्तारमा बगिरहेको आजको विश्व समुदायलाई यस महामारीले ठूलो झड्का दिएको छ। एक व्यक्तिबाट अर्को व्यक्तिमा र समुदायको चरणमा नफैलियोस भनेर वुहानबाट शुरु भएको सामाजिक दूरी, क्वारेन्टाइन एवं लकडाउनको उपाय विश्वभरका सबै मुलुकहरुले अनुशरण गर्नु शिवाय रोकथामको अर्को कुनै गतिलो विकल्प पाएनन्।

नेपाल सरकारले पनि गत चैत महिनाको ११ गतेबाट मुलुकलाई लकडाउन गरेको छ। गुडिरहेको गाडीमा झ्याप्प्प ब्रेक लागे जस्तो लकडाउनले आर्थिक र सामाजिक क्षेत्रमा धेरै संकट उत्पन्न गरेको छ। यस्तो संकटको वेलामा पनि सरकार र सरकारी निकायको निर्लज्जता एवं न्यूनतम मानवीय संवेदनाहीन विवेककताले थप चिन्ता थपेको छ।

उद्धारका नाममा भएका भ्रष्टाचार र अनियमितताको खवरहरुले सञ्चार माध्यम र सामाजिक सञ्जाल भरिएका छन्। अव्यवस्थित क्वारेन्टाइनका कारण एकातिर मानसिक समस्या, आत्महत्या र बलात्कार जस्ता जघन्य अपराधहरु बढेका छन् भने अर्कोतिर संक्रमण रोकिनुको साटो झन फैलिन गएको छ। सामाजिक सदभाव र सहयोग भत्किन गएको छ। एक अर्का प्रति अविश्वासको बातावरण उत्पन्न भएको छ।

उद्धारका नाममा भएका भ्रष्टाचार र अनियमितताको खवरहरुले सञ्चार माध्यम र सामाजिक सञ्जाल भरिएका छन्। अव्यवस्थित क्वारेन्टाइनका कारण एकातिर मानसिक समस्या, आत्महत्या र बलात्कार जस्ता जघन्य अपराधहरु बढेका छन् भने अर्कोतिर संक्रमण रोकिनुको साटो झन फैलिन गएको छ। सामाजिक सदभाव र सहयोग भत्किन गएको छ। एक अर्का प्रति अविश्वासको बातावरण उत्पन्न भएको छ।

संक्रमण नै नभएको व्यक्ति पनि अकारण अरु कुनै पीडाबाट छटपटाउँदै मर्नु परेको छ। वनको बाघले भन्दा पनि बढी मनको बाघले धेरैलाई खाएको देखिन्छ। रोकथामको लागि हालसम्म आधिकारिक औषधि पत्ता लागिसकेको छैन। कहिलेसम्म यस महामारीको त्रासबाट मुक्त हुने हो त्यसको कुनै स्पष्ट संकेत अझै पाइएको छैन।

लकडाउनका कारण आयात/निर्यात व्यापार, उद्योग धन्दा, कल कारखाना, यातायात, पर्यटन, शिक्षा जस्ता क्षेत्रहरु ठप्प प्राय छन्। जसका कारण महामारीको प्रकोप सँगसँगै भोकमारीले समेत सताउने हो कि भन्ने चिन्ता थपिएकोे छ। के मजदुर, के व्यापारी के कर्मचारी, के विद्यार्थी सवै वर्गलाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा लकडाउनले प्रभाव पारेको छ।

विशेष गरेर दैनिक ज्यालादारी र मजदुरी गरेर दैनिक जिविकोपार्जन गर्ने वर्गहरुलाई महामारीको प्रकोप भन्दा डरलाग्दो भोकमारीले सताउने देखिएको छ। विश्वभरका करोडौ जनशक्तिको रोजगारी गुमेको छ। शिक्षण संस्थाहरु बन्द भएकाले विद्यार्थीको पठनपाठन रोकिएको छ।

लाखौँ विद्यार्थीहरुको शैक्षिक सत्र के हुने हो, कहिलेबाट पठनपाठन शुरु हुने हो, अनुमान लगाउन मुश्किल देखिन्छ। हरेक क्षेत्रले भारी नोक्सानी व्यहोर्नु पर्ने स्थिति देखिएकोे छ।

यसैवीचमा केही स्कुल कलेजले अनलाइन कक्षाहरु संञ्चालन र सम्भव भए सम्मका सेवा क्षेत्रहरुमा वर्क फर्म होम (घरबाट नै कार्यालयको काम गर्ने) संस्कार पनि विकसित नगरेका होइनन्, तर यस्ता क्रियाकलापहरुले परिस्थितिको भरथेग गर्न सकेको देखिँदैन।

आर्थिक गतिविधि ठप्प भएपछि अर्थतन्त्र नै संकटमा पर्ने देखेर विश्वभरका लकडाउन गर्ने मुलुकले करिव २–३ महिनाको लकडाउन पश्चात जनजीवनलाई केही खुकुलो बनाउँदै आर्थिक क्रियाकलाप सञ्चालन गरेका छन्। नेपालमा पनि यही असार १ गतेबाट आंशिक रुपमा लकडाउनलाई खुकुलो बनाइएको छ। त्यसपछि जनजीवन केही सहज भई आंशिक रुपमा आर्थिक क्रियाकलाप सुचारु हुन थालेका छन्।

विश्व अर्थतन्त्र शताव्दीयौं पछि अत्यन्त खराव अवस्थामा पुग्ने अनुमान गएिको छ। विश्वका धेरै मुलुकहरुको आर्थिक वृद्धिदर या त नकारात्मक उन्मुख हुनेछ या नगन्य हुने प्रक्षेपणहरु विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले सार्वजनिक गरेका छन्। विश्व अर्थतन्त्रले विषम परिस्थितिको सामना गर्नुपर्ने आंकलन गरिएको छ।

शक्तिशाली राष्ट्रहरुको हालत खराव हुने अवस्थामा नेपालको अवस्था झनै नाजुक हुने निश्चित प्राय छ। नेपालको आर्थिक वृद्धिदर १.५२ प्रतिशतमा हुन सक्ने अनुमानहरु सार्वजनिक भएका छन्। विश्वमा छाउने आर्थिक मन्दीका कारण बैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स आय पनि नकारात्मक हुने आँकलन गरिएको छ।

बैंकिङ क्षेत्रमा खराव कर्जाहरु उल्लेखनीय रुपमा वृद्धि हुने अनुमान गरिएका छन्। शक्तिशाली राष्ट्रहरुबाट विगतमा भए गरेका सहयोग अनुदान पनि यसपटक सजिलै पाइने स्थिति देखिँदैन किनकी उनीहरु आँफै अप्ठ्यारो अवस्थामा पुग्ने देखिन्छन्।

कोरोनाको कहरबाट अर्थतन्त्रलाई कसरी जोगाउने भन्ने विषयमा सरकारी निकाय एवं अर्थविदहरुले पक्कै सोचेकै होलान्। हामी आम नागरिकहरु आजको यस विषम परिस्थितिमा डराएर होइन सुरक्षाका उचित उपयाहरु अपनाउँदै आत्मबल दह्रो बनाएर कोरोना सँगसँगै अगाडि बढ्ने हिम्मत जुटाउनु पर्ने भएको छ।

महामारीको प्रकोप यस ब्रह्माण्डको लागि सर्वदा नौलो विषय होइन किनभने विभिन्न कालखण्डमा प्लेग, सार्स, वर्डफ्ल्यु, स्वाइन फ्ल्यु, स्पेनिस फ्ल्यु, एड्स, डेंगी, रुवेला, दादुरा, इबोला जस्ता नामबाट उत्पति भई विश्व समुदायका लाखौ, करोडौं मानिसहरुको ज्यान पहिल्यै पनि लिइसकेको तथ्य देख्न र सुन्न पाइन्छ।

यस्ता महामारीको प्रकोप फैलिनुमा हामी मानव समुदायकै गैर जिम्मेवारीपन प्रमुख कारण देखिन्छ किनभने पृथ्वी सबै चराचर जीवजन्तुहरुको पनि साझा सम्पत्ति हो भन्ने प्रकृतिको सुन्दर नियमलाई मानव समुदायले पालना गर्न सकिरहेको देखिँदैन।

आँफू बाहेक अन्य चराचर जीव जन्तुहरुको अस्तित्वलाई अस्वीकार गर्दै उनीहरुको वासस्थानमा हमला गर्ने, आहार बनाउने र आँफू वरपरको पर्यावरण, बातावरणको विनास गर्ने काम हामी मानव समुदायबाटै तिव्ररुपमा हुँदै आएको छ। जसकारण विभिन्न कालखण्डमा चराचर जीवजन्तुहरुबाट उत्पन्न आक्रोशको रुप विभिन्न महामारीमा परिणत भई विनासको रुप धारण गरिरहेको छ।

विभिन्न कालखण्डमा उत्पत्तित संक्रामक सरुवा रोगहको मुख्य श्रोत चराचर जीवजन्तुहरु नै भएको तथ्य विभिन्न स्वास्थ विज्ञानका अध्ययनहरुले देखाएको छ, जस्तो कि प्लेग मुसाबाट, डेंगी लामखुट्टेबाट, एड्स बाँदरबाट, वर्ड फ्ल्यु चराबाट, स्वाइन फ्ल्यु सुंगुरबाट र यस पटक कोरोनाको श्रोत पनि चमेरो वा सर्प हुन सक्ने अनुमान गरिएको छ।

हालैका दिनमा विश्वमा भएको लकडाउनका कारण हाम्रो वायुमण्डल स्वच्छ भएको र ओजन तहमा भएको क्ष्ति समेत सुधार भएको र चराचर जीवजन्तुहरुको चहलपहल पनि बढिरहेको भन्ने समाचारहरु आएका छन्।

यसबाट के प्रमाणित हुन्छ भने आजको मानव समुदाय जति धेरै आधुनिकतामा अगाडि बढिरहेको छ त्यति नै पर्यावरण र चराचर जीवजन्तुहरु को उचित सम्मान गर्न सकिरहेको छैन जसका कारण यस्ता महामारी र दैविक विपत्तिहरुको बेलाबेलामा सामना गर्नु परिरहेको छ।

तसर्थ प्रकृतिको सुन्दर नियम पृथ्वी सबैको साझा वासस्थान हो आँफू वरपरको पर्यावरण, वातावरणको रक्षा मानव समुदायले गर्नुपर्छ र चराचर जीवजन्तुहरुको अस्तित्वमा नै मानव समुदायको पनि अस्तित्व छ भन्ने मर्मलाई आत्मसाथ गर्दै अगाडि बढ्नुको कुनै विकल्प देखिँदैन किनकि प्रकृतिमाथि मानव समुदायको विजय क्षणिक हुनसक्छ तर दीर्घकालीन परिणाम यस्तै महामारी एवं दैविक विपत्तिको सामना गरिरहनु पर्ने देखिन्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो