बालुवाटारमा प्रधामन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता जारी

डिसी नेपाल
२१ असार २०७७ १२:३९

काठमाडौं। वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई लिएर राष्ट्रपति भवन शितल निवास पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि सिधै बालुवाटार पुगेका छन्। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न अध्यक्ष दाहाल बालुवाटार पुगेका हुन्।

यसअघि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच साढे ११ बजे भेट हुने तय भएको थियो। तर दाहाल नेताहरु खनाल र नेपाललाई लिएर शितलनिवास पुगेपछि प्रधानमन्त्रीसँगको छलफल एक घण्टा ढिला गरी सुरु भएको हो।

प्रधानमन्त्री ओलीले मदन भण्डारी जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा आफूलाई भारतले हटाउन खोजेको अभिव्यक्ति दिएपछि नेकपाभित्रको विवाद सहतमा देखिएको छ। जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद झन बढेको हो।

दाहाल–नेपाल समूहले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन दबाव दिइरहेका छन् भने ओलीले कुनै पनि हालतमा राजीनामा नदिने अडान राख्दै आएका छन्। सरकारले संसदको बजेट अधिवेशन नै अन्त्य गरेपछि विवाद झन बढेको छ।

पार्टीको विवाद समाधान गर्न भन्दै जारी स्थायी कमिटीको बैठक सोमबार विहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। सो अघि नै दुई अध्यक्षबीच सहमति जुटाउने प्रयास स्वरुप अहिले प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *