चीनले ७ वर्षदेखि वुहानको ल्याबमा राखेको थियो कोरोनाभाइरस स्ट्रेन, त्यही फैलिएको आशंका

डिसी नेपाल
२१ असार २०७७ १२:४२

काठमाडौं। चीनले ७ वर्ष पहिले नै कोरोनाभाइरसको एक स्ट्रेन फेला पारेको र त्यसको जानकारी लुकाएर भाइरस स्ट्रेननलाई वुहानस्थित प्रयोगशालामा राखेको एक रिपोर्टमा दावी गरिएको छ । ७ वर्ष पहिले भेटिएको कोरोनाभाइरसको त्यो स्ट्रेन अहिलेको कोभिड १९ जस्तै भएको रिपोर्टमा दावी गरिएको छ ।

बेलायती अखबार द सनका अनुसार २०१३ मा भेटिएको यो भाइरस स्ट्रेनको जानकारी लुकाएर राखिएको थियो । रिपोर्टका अनुसार चमेरा र मुसा रहेको एक खानीबाट चीनले यो स्ट्रेन फेला पारेको थियो । यो भाइरस स्ट्रेनलाई चीनले वर्षौंसम्म वुहानको विवादित प्रयोगशालामा राखेको थियो ।

केही दिन पहिले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको उत्पत्तिबारे अनुसन्धान गर्ने बताएको थियो । यही बेला ७ वर्ष पहिले कोरोनाको स्ट्रेन भेटिएको तथ्यको खुलासा हुनुलाई महत्वपूर्ण मानिएको छ ।

२०१३ मा खानीमा काम गरिरहेका ६ जना कामदार ज्वरो, खोकी र निमोनियाबाट पीडित भएका थिए । यीमध्ये ३ जनाको स्थिति गम्भीर थियो । रिपोर्टका अनुसार बिरामी भएका ४ जनाको शरीरमा कोरोनाभाइरस एन्टिबडी भेटिएको थियो । तर, अरु २ जनाको भने जाँचभन्दा पहिल्यै मृत्यु भएको थियो ।

चीनकी ब्याट वुमन भनिने डा. शी झेंगलीले फेब्रुअरीमा कोरोनाभाइरसका विषयमा एक एकेडेमिक पेपर तयार गरेकी थिइन् । नेचर जर्नलमा प्रकाशित पेपरका अनुसार वुहानस्थित ल्याबमा चीनले चमेरामा पाइएको आरएटीजी १३ भाइरस राखेको थियो जो कोरोनाभाइरससँग ९६.२ प्रतिशत मिल्छ ।

तर, शी झेंगलीका एक सहयोगीका अनुसार आरएटीजी १३ भाइरस त्यही नमूना हो जो २०१३ मा खानीमा पाइएको थियो र यससँग सम्बन्धित जानकारी सार्वजनिक गरिएको थिएन । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलमा आफूले प्रमाण देखेपछि कोरोनाभाइरस चीनको प्रयोगशालाबाटै आएको विश्वास भएको बताएका थिए । यद्यपि उनले कस्तो प्रमाण देखेका थिए भन्नेबारे केही भनेनन् । चीनले भने प्रयोगशालाबाट भाइरस लिक भएको दावी अस्वीकार गर्दै आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *