एमयूमा रजिष्ट्रार–डीनका लागि दरखास्त आह्वान

डिसी नेपाल
२२ असार २०७७ १८:१६

सुर्खेत । सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले पहिलोपटक रजिस्ट्रार र डीन पदका लागि दरखास्त आह्वान गरेको छ । कानूनतः पदाधिकारी नियुक्ति एवं नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउन भन्दै खुला विज्ञापन गरिएको विश्वविद्यालयले जनाएको छ ।

रजिस्ट्रारका लागि सात दिन र डीनका लागि १० दिनको दरखास्त दर्ता गर्ने म्याद दिइएको छ । रजिस्ट्रारको हकमा शैक्षिक प्रशासनमा विशिष्टतासहित ‘भिजन पेपर’ पेस गर्नुपर्ने मापदण्ड तोकिएको छ । त्यस्तै, डीनका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सम्बन्धित सङ्कायका प्राध्यापक वा सम्बन्धित सङ्कायमा सेवा गरेका सहप्राध्यापक वा मान्यता प्राप्त विश्वविद्यालयका सम्बन्धित सङ्कायका प्राध्यापक वा सहप्राध्यापक हुनुपर्ने उल्लेख छ । डीनका लागि पनि आवेदनसँगै ‘भिजन पेपर’ पेस गर्नुपर्नेछ । हाल विज्ञान तथा प्रविधि, व्यवस्थापन र मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा डीनको पद रिक्त छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपतिबाट हुने प्रावधान छ । सोही ऐनको दफा २६ मा डीनहरुको नियुक्ति कार्यकारी परिषद्को निर्णयअनुसार उपकुलपतिबाट हुने भनिएको छ । कार्यकारी परिषद्को अध्यक्ष उपकुलपति हुने प्रावधान रहेको छ ।

उपकुलपति प्रा डा नन्दबहादुर सिंहले नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउन एवं योग्य पदाधिकारी नियुक्त गर्न सार्वजनिक प्रतिस्पर्धाको विधि अपनाइएको बताए। विश्वविद्यालयको इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति प्रक्रिया थालिएको उनको दाबी छ । एमयूमा रजिस्ट्रार डा महेन्द्रकुमार मल्ल निलम्बनमा परेपछि यामबहादुर कार्की निमित्त रजिस्ट्रारको रुपमा कार्यरत छन्। रजिष्ट्रारको कार्यकाल यही असार २८ गतेसम्म रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *