यूकेमा २००० वर्षअघि ‘हत्या गरिएका’ एक मानिसको कङ्काल फेला

डिसी नेपाल
२८ असार २०७७ २२:०५

बीबीसी । यूकेको बकिङ्हम्शरमा रेलमार्ग निर्माण भइरहेको स्थानमा फेला परेको एउटा अस्थिपञ्जर लौहयुगमा हत्या गरिएका एक व्यक्तिको हुनसक्ने पुरातत्त्वविद्हरूले बताएका छन्।

झन्डै २००० वर्ष पुरानो नरकङ्काल भुइँमा घोप्टिएको र दुवै हात ढाडतिर लगेर पछाडिपट्टि बाँधिएको अवस्थामा भेटिएको थियो। रेलमार्ग एचटुएस निर्माण आयोजनाकी पुरात्त्वविद् र्‍याशल वुडले ती वयस्क पुरुषको मृत्युलाई एउटा रहस्य को सङ्ज्ञा दिँदै थप विश्लेषणले कारण स्पष्ट हुनसक्ने बताइन्।

त्यहाँ प्राचीन स्टोनहेन्ज स्मारकको जस्तै काठको एउटा संरचना र रोमन शैलीको समाधि पनि फेला परेका छन्। उक्त स्थानमा रेलमार्गको निर्माणका क्रममा नवपाषाणयुगदेखि मध्ययुगसम्मका वस्तुहरू फेला परेका छन्। ‘मान्छेका ४,००० वर्ष पुराना गतिविधिहरू देखाउने स्थान फेला पर्दा हामी केही चकित छौँ,’ डा। वुडले भनिन्।

त्यहाँ भेटिएको नवपाषाणयुगमा निर्मित काठका थामहरूको गोलो घेराको व्यास ६५ मिटर छ । उक्त संरचना स्टोनहेन्जमा जस्तै हिउँदे अयनान्तसँग मिल्नेगरी बनेको छ। सो स्थानमा इसापूर्व ३००० देखि इस्वी संवत् ४३ सम्म मानिसहरूको बसोबास भएका विभिन्न प्रमाणहरू भेटिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *