मलेसियामा मृत्युदण्ड पाएका नेपाली युवा जोगिए, अब १० वर्ष जेल र १० कोर्रा सजाय हुने

डिसी नेपाल
२ साउन २०७७ १३:५५

काठमाडौं । मलेसियामा लागुऔषध तस्करी र बिक्रीवितरणको अभियोगमा पक्राउ परी मृत्युदण्डको सजाय सुनाइएका एक नेपाली युवा मृत्युदण्डबाट जोगिएका छन् । गाँजा तस्करीको अभियोगमा दुई वर्षअघि मृत्युदण्डको सजाय पाएका नेपाली युवा राजकुमार साह मृत्युदण्ड हुनबाट जोगिएका हुन् ।

२०१५ को मार्च १० मा गाँजासहित पक्राउ परेका उनलाई २ वर्षअघि त्यहाँको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । अदालतले मृत्युदण्डको सजाय सुनाएपछि त्यहाँस्थित नेपाली दूतावासको आर्थिक र अन्य सहयोगमा उनले माथिल्लो अदालतमा पुनरावेदन गरेका थिए । त्यहाँ उनको मुद्दा लड्नको लागि भारतीय मूलकी वकिल करणजीत कौरलाई नियुक्त गरिएको थियो ।

मलेसियाको जोहोरबारु शहरबाट २९०.७६ ग्राम गाँजा तस्करी गर्दै गर्दा उनीसहित अन्य २ जना मलेसियाली नागरिक पनि पक्राउ परेका थिए । पहिले लागूऔषध ओसारपसार र बिक्रीवितरणको अभियोगमा दोषी ठहर भएर मृत्युदण्डको सजाय पाएका उनले पुनरावेदन गर्दा उनीमाथि लगाइएको अभियोग नै घटाएर पुनरावेदन गरेका थिए ।

अभियोग घटाइ लागू औषध साथमा राखेको मात्र अभियोगको दावी गर्दै गरिएको पुनरावेदनलाई अदालतले सदर गरेपछि उनको सजाय पनि घटेको हो । अब उनलाई १० वर्ष जेल र १० कोर्राको सजाय सुनाइएको छ । मलेसियामा मृत्युदण्डको फैसला सजाय कारावासमा रुपान्तरण गर्दा बढीमा ३० बर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका जेल अधिकृत प्रतिक कार्कीका अनुसार उनी अब छिटोमा १ वा डेढ वर्षमा छुट्न सक्छन् ।उनलाई दिइएको १० वर्षको सजायमध्ये ५ वर्षको अवधि उनले जेलमा रहेर पूरा गरिसकेकाले अब ५ वर्ष मात्र जेलमा बस्न बाँकी छ । त्यसमा पनि जेलमा रहँदा उनको व्यवहार राम्रो भएमा उनको सजाय घटाइदिन मिल्ने त्यहाँको कानुनमा व्यवस्था छ । यसरी सजाय घटाइएमा उनी चाँडै छुट्न समेत सक्ने कार्कीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *