विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २ सय पुग्यो, २० देशका नेपाली संक्रमणमुक्त

डिसी नेपाल
४ साउन २०७७ ९:०८

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २ सय पुगेको छ । विदेशमा १ सय ६० र नेपालमा ४० जनाको मृत्यु भएको छ । विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएर विदेशमा कूल मृत्यु १६० पुगेको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना र यूएईमा ५ जनाको निधन भएको हो । कतारमा ज्यान गुमाउने ८ जनामध्ये २ जनाको निधन हुनु भन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी ६ जनाको निधन पछि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ ।

शनिवार साँझ सम्म विदेशमा मात्र १४ देशमा १ सय ६० जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको स्वास्थ्य समितिका संयोजक सापकोटाले डिसीनेपाललाई बताए । समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन् । संघका अनुसार विदेशमा जम्मा कोराना संक्रमित मध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपाली मध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

समितिका अनुसार मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन । विदेशमा ३० हजार ५ सय ७१ जना नेपाली संक्रमित भएकोमा २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा.सापकोटाका अनुसार भारत, साउदी, युएई र कुवेतमा मात्र ९ सय ५० जनामा नेपालीहरुमा यो साता कोरोना संक्रमणमा बृद्धि भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *