लकडाउनको मोडालिटी परिमार्जन गर्न सीसीएमसीको सिफारिस

डिसी नेपाल
४ साउन २०७७ १९:२४

काठमाडौं। कोरोना महामारीका कारण गएको चैत ११ गतेबाट लागु गरिएको देशव्यापी लकडाउनको मोडालिटी गएको असार १ बाट परिवर्तन भएकोमा फेरि साउन महिनाको दोस्रो हप्ताबाट परिवर्तन गर्ने तयारी गरिएको छ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को बैठकले लकडाउनलाई परिमार्जन गर्न सिफारिस गर्ने निर्णय गरेको हो। समितिले गरेको निर्णयमा भनिएको छ, ‘कोभिड–१९ संकक्रमणको वर्तमान अवस्था सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भएको प्रक्षेपणका आधारमा नेपाल सरकारको पूर्व निर्णयमा परिमार्जन र हेरफेर गर्नुपर्ने विषयको प्रस्ताव नेपाल सरकार मन्त्रिपरिषद समक्ष पेश गर्ने।’

मोडालिटी परिवर्तन गर्ने भनिए पनि कस्तो कस्तो परिर्तन गर्ने भन्ने विषयमा भने केही खुलाइएको छैन।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सीसीएमसीको आइतबारको बैठकमा कोरोना संक्रमण घट्दै गएको र नियन्त्रणमा रहेको निश्कर्ष निकालिएको थियो। हालसम्म १७ हजार ५ सय ७ जना कोरोना संक्रमित भएकोमा ११ हजार ६ सय ३७ जना संक्रमण मुक्त भएको सीसीएमसीले जनाएको छ। पछिल्ला दिनहरुमा संक्रमितभन्दा संक्रमण मुक्त हुनेको संख्या बढेकाले कोरोना संक्रमण नियन्त्रित रहेको भन्दै सीसीएमसी लकडाउन मोडालिटी परिवर्तन गर्ने तयारीमा पुगेको हो।

सीसीएमसीका अनुसार २३ हजार २ सय ७५ जना अझै देशभरका विभिन्न क्वारेन्टिनमा रहेको र ५ हजार ८ सय २५ जना आइसोलेशनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *