कोरोनाबाट नेपालमा चिनियाँ नागरिकको मृत्यु, लकडाउन हटे पनि जोखिम यथावत

डिसी नेपाल
७ साउन २०७७ १७:४३

काठमाडौं। कोरोना संक्रमणका कारण एकजना चिनियाँ नागरिकको मृत्यु भएको छ। बुधबार त्रिवि शिक्षण अस्पतालमा एकजना चिनियाँ महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले भने, ‘पोखरामा कार्यरत एकजना चिनियाँ महिला विरामी परेपछि साउन २ गते काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारका लागि ल्याइएको थियो। पछि उनलाई शिक्षण अस्पतालमा उपचार भइरहेको थियो। उनको मृत्यु भएको छ।’

त्यस्तै नेपालका एकजना अर्का कोरोना पीडितको पनि मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको र उनी कोरोना संक्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिए। उनकाअनुसार कोरोनाका कारण हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ४२ पुगेको छ।

गौतमले सरकारले लकडाउन अन्त्य घोषणा गरे पनि कोरोना महामारीको जोखिम भने यथावत रहेको बताएका छन्। पत्रकार सम्मेलनमा उनले भने, ‘कोरोना महामारीको जोखिम कम भएको छैन। नियन्त्रणमात्र भएको हो। त्यसैले मास्क लगाउने र सामाजिक दुरी भने पालना गर्नुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *