लकडाउन हटेपछि के भन्छन् स्वास्थ्यविद्?

खेमराज थापा
७ साउन २०७७ १९:०७

काठमाडौं। ४ महिना लामो लकडाउन हटेपछि बुधबार मानिसहरुमा उत्साह देखियो। बुधबार राती १२ बजेबाट सरकारले १२० दिन लामो लकडाउन हटेको घोषणा गरेपछि बुधबार बिहानैदेखि सडकमा मानिसहरुको भिडभाड बढेको छ। बुधबार राजधानी काठमाडौंका विभिन्न चोकहरुमा देखिएको ट्राफिक जामले मानिसहरु सडकमा निस्केको पुष्टि गर्छ।

कोरोना महामारी नियन्त्रण गर्न गएको चैतमा लकडाउन लागु हुँदा नेपालमा दोस्रो संक्रमित फेला परेका थिए भने सक्रिय संक्रमित एकजनामात्र थिए। मंगलबार राती लकडाउन हट्दा नेपालमा एक्टिभ संक्रमितको संख्या ५ हजारभन्दा धेरै छ। र दैनिक सयभन्दा धेरैको संख्यामा संक्रमितहरु थपिरहेका छन्। त्यसो हो भने के यो लकडाउन हटाउने बेला भएको हो?जोखिम घटेको हो? यस्ता प्रश्न उठ्नु स्वभाविकै हो। हामीले यी प्रश्नको उत्तर स्वास्थ्य विद्हरुसँग लिने प्रयास गरेका छौं।

वरिष्ठ चिकित्सक डा. भगवान कोइराला लकडाउन हटे पनि जोखिम नहटेको बताउँछन्। उनले डिसी नेपालसँग भने, ‘लकडाउन हटेको छ। तर जोखिम हटेको छैन। हामीले आफ्नो तर्फबाट सुरक्षाका सबै उपायहरु अबलम्बन गर्नैपर्छ। स्वास्थ्य प्रोटोकल मान्नैपर्छ।’ उनको जोड आम जनता आफै सचेत भएर रोग सर्न नदिन लाग्नुपर्नेमा छ। उनले भने, ‘लकडाउन नहटे पनि लकडाउनको उल्लंघन भइरहेकै थियो। अब सरकारले औपचारिक रुपमा लकडाउन हटेको भनेको मात्र हो। तर, सरकारले लकडाउन हटाए पनि केही शर्तहरु भने त राखेकै छ नि। त्यसैले हामीले हाम्रा व्यवहार सुरक्षित गर्नै पर्छ। र फेरि संक्रमणको दर बढ्यो भने सरकारले रणनीति परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ।’

डा. कोइरालको भनाइसँग राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा पनि सहमत छन्। उनले भनिन्, ‘रिक्स कम भएको छैन। लकडाउन हटे पनि हामीले सुरक्षाका सबै उपाय अपनाउनु पर्छ।’

नेपालमा पछिल्ला दिनहरुमा ४ हजारको हारहारीमा परीक्षण भइरहेको छ। र परीक्षणमध्ये २ देखि ४ प्रतिशतसम्म केसहरु पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार जानकारी दिएका छन्। सरकारले पछिल्ला दिनहरुमा आएको यहि नतिजाका आधारमा लकडाउन अन्त्यको घोषणा गरेको हो। तर, परीक्षणको दायरा बढाउनुपर्नेमा नबढाएर कम परीक्षण गरिएको स्वास्थ्यविद्हरु बताउँछन्।

एकजना स्वास्थ्यविद्ले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘मेरो जोड पहिलाबाट नै परीक्षणको दायारा बढाउनुपर्छ भन्ने हो। अहिले सरकारको जुन मापदण्डअनुसार परीक्षण भइरहेको छ। यसैका आधारमा संक्रमण दर घट्यो भन्न कठिन हुन्छ। संक्रमण दर घट्नु त राम्रै हो। तर, अहिलेसम्म क्वारेन्टिनमा रहेका र कोरोना पोजेटिभ भेटिएपछि उनको कन्ट्याक्टमा रहेकाहरुको मात्र परीक्षण हुँदै आएको छ। समूदाय स्तरमा पनि परीक्षण गर्नुपर्छ भन्ने मेरो जोड हो।’

त्यसो त छिमेकी देश भारतमा दैनिक २० हजारभन्दा धेरै कोरोना संक्रमित फेला पर्ने गरेको बेला नेपालमा लकडाउन अन्त्यको घोषणा गरिएको छ। भारत नै नेपालका लागि सबैभन्दा जोखिम बढाउने एक कारण हो। सरुवा रोग विज्ञ डा. शेरबहादुर पुन सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि बल जनताको कोर्टमा आएको बताउँछन्। उनले डिसी नेपालसँग भने, ‘अब जनता नै सचेत हुनुपर्ने भएको छ। मैले पहिलादेखि नै भन्दै आएको मुख्य तीन कुरा, मास्कको सही प्रयोग, सामाजिक दुरी र साबुन पानीले हात धुने। यी तीन कुरा हामीले लागू गर्नैपर्छ। भारतमा संक्रमण रहेसम्म नेपाल पनि जोखिममा रहिरहन्छ।’

सरकारले पनि लकडाउन हटे पनि सुरक्षाका उपाय अबलम्बन गर्न अपील गरेको छ। बुधबार पत्रकार सम्मेललमा प्रवक्ता गौतमले भनेका छन्, ‘लकडाउन हटे पनि जोखिम हटेको छैन। सुरक्षाका उपायहरु अबलम्बन गर्नुपर्छ।’

लकडाउन हटे पनि केही प्रतिबन्धहरु भने यथावत छन्। शैक्षिक संस्था, सिनेमा हल, जिम, नाई, ब्यूटीपार्लर जस्ता मानिसहरुको भिडभाड हुने व्यवसायमा भने प्रतिबन्ध यथावत छ। त्यसैले पनि सरकारले लकडाउन हट्यो भन्दैमा निश्चिन्त भएर सडकमा निस्किनुपर्ने अवस्था आइसकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *