मुखमा यस प्रकारका चिन्ह पनि कोरोनाभाइरसको लक्षण !

डिसी नेपाल
९ साउन २०७७ ११:३२

काठमाडौं। मुखमा राता बिमिराजस्ता निशान पनि कोरोनाभाइरसका लक्षण हुन सक्छन् । स्पेनमा गरिएको एक अध्ययनमा यसका संकेत पाइएका छन् । मड्रिडका अनुसन्धानकर्ताहरुले यस्ता २१ बिरामीको जाँच गरेका थिए जसको शरीरमा बिमिराहरु आएका थिए । जामा डर्माटोलोजीमा प्रकाशित शोधपत्रका आधारमा मेट्रोले लेखेको समाचार अनुसार एक तिहाइ बिरामी एनाथेमबाट पीडित पाइए । आम रुपमा यो रोगले बिरामीको मुखमा यस्ता बिमिराहरु आउँछन् ।

कोरोना बिरामीको शरीरमा बिमिराहरु देखिएको यो पहिलो पटक भने होइन । यसअघि इटलीका बिरामीमा पनि यस्ता लक्षण देखिएका थिए । अनुसन्धानकर्ताहरुले यो पनि पत्ता लगाएका छन् कि जो बिरामीको हात खुट्टामा बिमिराहरु आएका थिए उनीहरुमध्ये एक तिहाइको मुखको माथिल्लो भागमा पनि बिमिराहरु आएका थिए । अध्ययनका अनुसार पहिलो पटक शरीरमा कोरोनाको कुनै लक्षण देखिएपछि करिब १२ देखि १४ दिनसम्म बिरामीको मुखमा यी बिमिराहरु रहन्छन् ।

मड्रिडको रेमन वाइ क्याजल युनिभर्सिटी हस्पिटलको टिमका अनुसार डाक्टरहरुले बिरामीको मुखको पनि जाँच गर्नुपर्छ ताकि उनीहरुको मुखमा यस्ता चिन्ह भए नभएको थाहा हुन सकोस् । शोधकर्ताहरुका अनुसार कैयौं पटक सुरक्षा कारणले पनि बिरामीको मुखको जाँच गरिँदैन किनकि यसो गर्दा बिरामीले अन्यलाई पनि संक्रमित गर्न सक्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका प्रमुख लक्षणहरु ज्वरो, सुख्खा खोकी, टाउको दुख्ने, कन्जंक्टिभाइटिस, घाँटी दुख्ने, पखाला, गन्ध र स्वादको पहिचान गर्ने क्षमतामा कमी , छालामा बिमिराहरु आउनु, औंलाको रंग बदलिनु मानिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *