साउदीमा कोरोना संक्रमित नेपाली पत्रकार श्रेष्ठको निधन

डिसी नेपाल
१२ साउन २०७७ ९:१५

रियाद । साउदी अरबमा एक नेपालीको निधन भएको छ । वैदेशिक रोजगारीको लागि साउदी अरब आएका स्याङ्जाका रोशन श्रेष्ठको आइतबार उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

कोभिड–१९ को संक्रमण पुष्टि भएपछि श्रेष्ठ विगत केही दिनदेखि साउदी अरबको पूर्वी क्षेत्र दमामस्थित सेन्टर हस्पिटलमा उपचाररत थिए । साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले श्रेष्ठको मृत्यु भएको पुष्टि गरे । तर, उनको मृत्यु कोरोनाकै कारणले भएको भन्ने आधिकारिक रुपमा पुष्टि हुन बाँकी रहेको उनले बताए । राजदूत राजपुतले भने–‘मृत्युको कारण कोरोना नै भएको पुष्टि नभए पनि उहाँको मृत्यु भएको भन्ने खबर आएको छ ।’

दूतावासका दमाम क्षेत्रका कर्मचारी हरि घिमिरेले पनि उनको मृत्युको कारण रिपोर्ट आएपछि मात्रै जानकारी हुने बताए । ‘निधन भएको हो भन्ने खबर आएको हो,’ घिमिरेले भने, ‘तर,के कारणले निधन भयो भन्ने रिपोर्ट आएपछि मात्रै थाहा हुनेछ ।’

मृतक श्रेष्ठ साउदी अरबमा आफ्नो रोजगारीसँगै नेपाली पत्रकारितामा समेत क्रियाशील थिए । उनी साउदी अरबबाट संञ्चालित नेपाली अनलाइन मिडिया ‘अरब नेपाल न्युज’का प्रबन्ध निर्देशक समेत हुन् ।

अरबमा कार्यरत नेपाली श्रमिकहरुको अवाज उठाउँदै कुशल छवि बनाएका पत्रकार श्रेष्ठ सामाजिक कार्यमा पनि उत्तिकै क्रियाशील थिए । कोरोना महामारीका बेला पनि समस्यामा परेका नेपाली श्रमिकको व्यवस्थापन, राहत तथा उद्धारको लागि उनले अहम भूमिका निर्वाह गरेका थिए ।

उनको निधनले अहिले सिंगो साउदी अरबमा रहेको नेपाली समुदाय स्तब्ध भएको छ । राजदूत राजपुतले पनि उनको निधनप्रति भावुक हुँदै गहिरो दुःख व्यक्त गरेका छन् । त्यस्तै एनआएनएलगायत साउदी अरबमा क्रियाशील रहेका अन्य नेपाली संघसंस्थाले पनि उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेपालमा उनकी श्रीमती र आमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *