बंगलादेशी प्रधानमन्त्रीको व्यवहारले भारतमा खैलाबैला, मिडिया रिपोर्टले ल्यायो नयाँ तरंग !

डिसी नेपाल
१२ साउन २०७७ ११:२४

काठमाडौं। बंगलादेशलाई आफ्नो नजिकको सहयोगी सम्झिने भारतको सम्बन्ध पछिल्लो समय बंगलादेशसँग पनि बिग्रिँदै गएको छ । अहिले भारतको सम्बनध छिमेकी देशहरु नेपाल, पाकिस्तान, चीन, बंगलादेश कसैसँग पनि राम्रो छैन । अघिल्लो वर्षसम्म भारतको सम्बन्ध नेपाल र बंगलादेशसँग सुमधुर थियो तर नेपालसँग सीमा अतिक्रमणको विषय र बंगलादेशसँग नागरिकता कानुनको विषयले सम्बन्ध बिग्रिएको छ ।

भारतले ल्याएको नयाँ नागरिकता कानुनका कारण रुष्ट भएको बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय कूटनीतिज्ञलाई ‘बहिष्कार’ गरेको रिपोर्ट सार्वजनिक भएको छ । बंगलादेशको प्रमुख अखबार ‘भोरेर कागोज’का सम्पादक श्यामल दत्ताले लेखेको रिपोर्टमा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले भारतीय राजदूतसँग भेट्न अस्वीकार गर्दै आइरहेको खुलासा गरेका छन् । रिपोर्टमा भारतीय राजदूतले निरन्तर भेट्न अनुरोध गरिरहेको तर प्रधानमन्त्री शेख हसिनाले विगत ४ महिनामा एक पटक पनि भेट्न नचाहेको खुलासा गरिएको छ ।

अर्कोतर्फ बंगलादेशले पाकिस्तान र चीनसँग सम्बन्ध बढाउँदै गएको रिपोर्टमा खुलासा गरिएको छ । चीनसँग भन्दा पनि पाकिस्तानसँग बंगलादेशको निकटताले भारतमा खैलाबैला भएको छ । किनकि पाकिस्तान र बंगलादेशको सम्बन्ध बिगार्ने र यी दुई देशलाई विभाजन गर्ने मुख्य कारक भारत नै हो । खासमा पहिले बंगलादेश र पाकिस्तान एउटै देश थिए । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले गुप्तचर एजेन्सी रअको प्रयोग गरेर यी दुई देश विभाजन गराइदिएकी थिइन् । त्यसयता पाकिस्तान र बंगलादेशको सम्बन्ध कटु रहँदै आएको छ ।

रिपोर्टका अनुसार प्रधानमन्त्री शेख हसिना २०१९ मा सत्तामा आएपछि भारतीय परियोजनाको गति सुस्त भएको छ र चिनियाँ पूर्वाधार परियोजनालाई बढी समर्थन प्राप्त भएको छ । रिपोर्टमा लेखिएको छ ‘भारतको चिन्ताका बावजुद बंगलादेशले एक चिनियाँ कम्पनीलाई सिलेटमा विकानस्थल टर्मिनल बनाउने ठेक्का दिएको छ । भारतकी उच्चायुक्त रिभा गांगुली विगत ४ महिनादेखि प्रधानमन्त्री शेख हसिनालाई भेट्न प्रयास गरिरहेकी छिन् तर उनलाई अझैसम्म समय दिइएको छैन । बंगलादेशले कोरोना महामारीका क्रममा भारतले दिएको सहयोगप्रति धन्यवाद दिनको लागि कुनै पत्र पनि पठाएको छैन ।’

भारतको आपत्तिलाई बेवास्ता गर्दै बंगलादेशले बेइजिङ अर्बन कन्स्ट्रक्सन ग्रुपलाई सिलेटको ओस्मानिया विमानस्थलको टर्मिनल बनाउने ठेक्का दिएको छ । सिलेट भारतको उत्तर पूर्वी सीमा नजिकै भएकोले यो क्षेत्र भारतको लागि संवेदनशील छ । उता चीनले पनि बंगलादेशी उत्पादनमा कर छुट दिएको छ । चीनले बंगलादेशलाई कोरोना महामारीसँग जुध्न मेडिकल सहयोग पनि गरिरहेको छ । चीन र बंगलादेशको यो निकटता भारतको लागि चिन्ताको विषय बनेको छ किनकि बंगलादेश चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड परियोजनामा पनि सहभागी छ ।

उता पाकिस्तानसँग पनि बंगलादेशको निकटता बढ्दै गएको छ । कुनै समयका कट्टर दुश्मन देशबीचको यो निकटताले भारतलाई चिन्तामा पारेको छ । हालै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बंगलादेश प्रधानमन्त्री शेख हसिनालाई फोन गरेका थिए । फोन वार्तामा के–के कुरा भयो भन्ने खुलासा नभए पनि यो वार्ता हुनु नै भारतमा तरंग ल्याउनको लागि पर्याप्त थियो ।

रिपोर्टका अनुसार शेख हसिनाको सरकारमा एक समूह चीनसँग सम्बन्ध बलियो बनाउन इच्छुक छ । विगत १० महिनामा पाकिस्तानसँग पनि सम्बन्ध सुमधुर बनाउने प्रयास भइरहेको छ किनकि पाकिस्तान चीनको सहयोगी हो । नोभेम्बर २०१९ मा प्याजको मूल्य उच्च भएर अभाव हुँदा भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि बंगलादेशले पाकिस्तानबाट प्याज मगाएको थियो । बंगलादेशले पाकिस्तानबाट कुनै कृषि उत्पादन आयात गरेको यो १५ वर्षमा पहिलो पटक थियो । अर्कोतर्फ पछिल्लो समय भारत सरकारले ल्याएको नागरिकता कानुनका कारण भारत र बंगलादेशको सम्बन्ध बिग्रिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *