कुटपिट गरेर बाबुको हत्यापछि अपराध लुकाउन शव आर्यघाट पुर्‍याएपछि…

खेमराज थापा
१८ साउन २०७७ १९:०८

काठमाडौं। शनिबार पशुपति आर्यघाटमा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ९ को थम्पीका ५१ वर्षीय रामकृष्ण नेपालीको शव जलाउने अन्तिम तयारी चलिरहेको थियो। कोरोना महामारीका कारण मलामीहरु धेरै थिएनन्। मात्र नजिकका आफ्न्तहरु थिए।

शव चितामा चढाउने तयारी भइरहेकै बेला एक्कासी प्रहरी पुग्यो। ललितपुर प्रहरीले शव जलाउन नदिएर शव कब्जामा लियो। किरिया बस्न तयार परेका रामकृष्णका छोरा सन्तोष नेपालीको हातमा हतकडी लगाइयो।

ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले कुटपिट गरेर बाबुको हत्या गरेपछि शव जलाउन लागिएको भन्ने सूचनाका आधारमा शव कब्जामा लिइएको र सन्तोषलाई पक्राउ गरिएको जानकारी दिए। एसएसपी राईले डिसी नेपालसँग भने, ‘यो घटना १५ गतेको हो। ३१ वर्षीय छोरा सन्तोषले मादक पदार्थ सेवन गरेर ५१ वर्षीय बाबु रामकृष्णसँग झगडा गरेको बुझिएको छ।’ झगडाका क्रममा बाबुमाथि निकै गम्भीर कुटपिट भएको प्रहरीले जनाएको छ।

निकै चोट लागेपछि रामकृष्णलाई छोरा सन्तोषले उपचारका लागि पहिला पाटन अस्पताल पुर्याए। र नेपाली सेनामा रहेका आफ्ना दाईलाई बुबा रुखबाट लडेर गम्भीर घाइते भएको जानकारी दिए। बुबाको अवस्था गम्भीर रहेको थाहा पाएपछि उनले भाईलाई बुबाको उपचार छाउनीस्थित आर्मी अस्पतालमा गराउन भने। शनिबार बाबुलाई छाउनी अस्पतालले मृत घोषणा गरिदियो।

यसपछि सन्तोषले आफन्तहरुलाई खबर गरे र पशुपति आर्यघाटमा दाहासंस्कारका लागि शव लगे। पशुपति आर्यघाटमा दाहासंस्कार हुन लागेको गोदावरीका स्थानीयले थाहा पाएपछि प्रहरीलाई सूचना दिए। त्यसपछि प्रहरी एक्शनमा आयो। र शव कब्जामा लियो। छोरा सन्तोषलाई पक्राउ गर्यो।

जिल्ला अदालत ललितपुरबाट ६ दिनको म्यादसमेत लिइएको एसएसपी राईले जानकारी दिए। उनले शवको पोस्टमार्टमसमेत गरिएको जानकारी दिए। उनले प्रहरी घटनास्थलसम्म पुगेको र घटनास्थलको अवस्था हेर्दा कुटपिट भएको देखिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *